१३ भदौ , काठमाण्डौ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ । शनिबार बिहान १० बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न मानव अङ्गसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ ।
शव भेटिएका स्थानहरूको विवरण हेर्दा सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा १ सय ५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ । नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ ।

बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको रहेको छ । आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ । सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन् ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन्। विदेशी नागरिक ५ सय १७ जना र बिदा मनाउन आएका विदेशमा बस्ने नेपाली १ सय २७ जनाको अवस्था पनि अज्ञात छ ।
भन्सार कार्यालयका १५, अध्यागमनका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन् । विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना खटिएका छन् ।
हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएको हो। आज मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ। विदेशी नागरिक १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान भरिएको छ। घाइतेमध्ये १ सय १ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ । बाढीले सञ्चार क्षेत्रमा पनि ठुलो क्षति पु¥याएको छ।
कुल १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा सञ्चालनमा ल्याइएको छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ । नेपाल सरकारबाट रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
१५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ। हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत ७ उडान गरी थप सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पु¥याइएको छ ।
उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको पनि व्यवस्थापन भइरहेको छ। नुवाकोटस्थित विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ। हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात छ भने थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले उल्लेख गरेको छ ।
यसैबीच रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव गाड्ने निर्णय गरिएको छ । पहिचान भएका ४ वटा शवबाहेक बाँकी शवहरू सडेगलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण एवम् महामारी फैलिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए । सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न यो बाध्यता उत्पन्न भएको प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकको निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाएका छन् ।
भविष्यमा पहिचानका लागि सहज होस् भनेर शवहरूको डिएनए नमूना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने पनि जनाइएको छ। शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने विज्ञप्ति मार्फत प्रजिअ अर्यालले जानकारी दिएका छन् ।
बाध्यताका कारण शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत मागेको छ । दर्शकबृन्द, यसैबीच विश्वको सबैभन्दा लोकप्रिय र ठूलो इन्टरनेट सर्च इन्जिन गुगलले नेपालको बाढीसम्बन्धी आपतकालीन जानकारी र अपडेट सुरू गरेको छ ।
गुगलले आफ्नो होमपेजमै नेपालको बाढी आपतकालीन जानकारी र अपडेटहरू नेपाल फ्लास फ्लोड इमर्जेन्सी इन्फो एण्ड अपडेट्स लिंक राखेको छ । जुन लिंकबाट बाढीग्रस्त क्षेत्रको नक्सा, क्षतिसम्बन्धी सूचनासँगै खोज, उद्धार तथा राहतलगायतका विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडिओलगायतका विषय एकैठाउँमा हेर्न सकिनेछ ।
गुगलले प्राकृतिक विपद्को समयमा नागरिकहरूलाई द्रुत, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउन यो प्रणाली सक्रिय गरेको हो ।




