आजको मौसम अपडेटः भोटेकोशीसंगै यी क्षेत्रमा पर्दैछ पानी

१३ भदौ ८३, शनिबार
Share this
736shares

१३ भदौ , काठमाण्डौ ।

Advertisement

भदौ १० को विनाशकारी बाढीपछि उद्यार तथा राहत र शव संकलन तथा व्यवस्थापनका कार्यहरु जारी रहँदा आजका लागि भने मौसम यसमा बाधक बन्न सक्ने देखिएको छ । किनभने आज भोटेकोशी क्षेत्रसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज पनि पानी पर्ने जोखिम छ । मौसममा आउने यी फेरबदलले उद्धार र राहत कार्यमा पनि प्रत्यक्ष असर पार्ने देखिएको छ ।

Advertisement

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका तराईका केही सीमित स्थानहरूमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।

पहाडी तथा तराईका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रका धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने र कतै–कतै ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यहाँ जारी खोज तथा उद्धार कार्यसमेत प्रभावित हुन सक्ने जोखिम छ।

Advertisement

त्यसैले सबै पक्षले उच्च सतर्कता अपनाउन अति आवश्यक देखिन्छ । त्यस्तै, आज दिउँसोपछि राजधानी काठमाडौँ उपत्यकामा पनि मध्यमसम्मको पानी पर्ने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्की लगायतका ३४ वटा भन्दा बढी जिल्लाहरू र ती आसपासका क्षेत्र भएर बग्ने साना तथा मझौला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको मौसम बुलेटिनमा स्पष्ट उल्लेख गरिएको छ ।

यसको अर्थ, यी जिल्लाहरूका भित्री खोला तथा साना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने हुनाले नदी किनारका बस्तीहरूले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । दर्शकवृन्द, मौसम र बाढीको यो अवस्थालाई गम्भीरतापूर्वक लिँदै हामी सबैले विशेष सावधानी अपनाउनु पर्ने समय छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनअनुसार आज पहाडी र हिमाली भेगका साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । आज पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको अछामसम्मका दर्जनौँ जिल्लामा बाढीको चेतावनी दिइएको छ ।

विशेषगरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरसहित सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन, कास्की, म्याग्दी, बागलुङलगायतका जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ ।

यसबाहेक तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, नवलपरासी (पूर्व र पश्चिम), गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, रोल्पा, रुकुम पश्चिम, जुम्ला, जाजरकोट र दैलेख भई बग्ने साना नदीमा पनि बहाव उल्लेख्य बढ्नेछ।

ठुला नदीहरूको हकमा भने तत्काल खतराको अवस्था देखिएको छैन। आज बिहान ८ बजेको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ।

यद्यपि, आगामी तीन दिनसम्म यी सबै प्रमुख नदी र सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्यस क्षेत्रमा अझै जोखिम कायमै छ।

हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले प्रस्ट पारेको छ । पूर्वानुमान तालिकाअनुसार बेत्रावतीस्थित त्रिशूली नदीमा आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने भन्दै पविशेष सतर्कता सङ्केत गरिएको छ ।

भोलि पनि बाढीको जोखिम टर्नेछैन । महाशाखाले भोलि सातै प्रदेश भई बग्ने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने चेतावनी दिएको छ। नदीको बहाव बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन सूचित गरिएको छ ।

त्यसैले अनावश्यक यात्राबाट बचौँ, नदी किनारका जोखिमयुक्त बस्तीमा हुनुहुन्छ भने अझ बढी चनाखो बनौँ र स्थानीय प्रशासन तथा मौसम विभागका सूचनाहरूलाई नियमित रूपमा पछ्याइरहनुहोला । यदि केही आपत्कालीन सहयोग वा जानकारी चाहिएमा बाढीका लागि टोल फ्री नम्बर ११५५ मा फोन गरी (२ थिचेर) र मौसमको ताजा जानकारीका लागि (१ थिचेर) बुझ्न सक्नुहुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top