१३ भदौ , काठमाण्डौ ।
नेपालमा आएको विपत्तिपछि दुई छिमेकी मुलुक चीन र भारत थप सजक भएका छन् । हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले बताएका छन् ।
युएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत–नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहावका कारण भएको थियो । घटनामा करिब तीन हजार मानिस बेपत्ता भएका छन् भने ६३३ जनाको मृत्यु पुष्टि भएको छ ।

हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन् । “नेपालसँग हाम्रो सीमा जोडिएको र भौगोलिक अवस्था पनि समान भएकाले हामीले सम्बन्धित विभागलाई यस क्षेत्रका सबै हिमनदी र ज्ञात हिमनदीजन्य तालको निगरानी गर्न निर्देशन दिएका छौँ”, भारतको हिमाली राज्य उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले भने ।
“हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौँ”, उनले एएफपीसँग भने । सरकारी तथ्याङ्कअनुसार उत्तराखण्डमा एक हजार २६६ हिमनदीजन्य ताल छन् । यसका कारण राज्यलाई भारतको संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ ।
वैज्ञानिकहरूका अनुसार हिमाली हिमनदीले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउँछन्। तर जलवायु परिवर्तनका कारण ती पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेका छन् । यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई अप्रत्याशित तथा विनाशकारी विपत्तिको जोखिम बढाएको छ ।
यसैबीच भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले नेपालमा बाढीका कारण फसेका भारतीय नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि तत्काल प्रयास तीव्र बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् ।
खड्गेले नेपालमा आवश्यक परेको स्थानमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गर्नुपर्ने माग गर्दै भारतीय गृहमन्त्री अमित शाहलाई समेत छुट्टै पत्र लेखेका छन् । मोदीलाई लेखेको पत्रमा खड्गेले नेपाल सरकारसँग समन्वय गरी बाढी प्रभावित नेपाली नागरिकलाई पर्याप्त मानवीय तथा राहत सहायता उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
उनले भारतको परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी उद्धृत गर्दै नेपालमा रहेका ३२० जना भारतीय नागरिकसँग सम्पर्क हुन नसकेको बताएका छन् । उनीहरूको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर यथाशीघ्र भारत फर्काउने व्यवस्था गर्न उनले आग्रह गरेका छन् ।
खड्गेका अनुसार हालसम्म ५०० भन्दा बढी मानिसको मृत्यु भएको र ठूलो संख्यामा मानिस बेपत्ता भएका छन्। हजारौं प्रभावित नागरिकलाई खाद्यान्न, औषधि, आश्रय तथा अन्य अत्यावश्यक सहयोगको आवश्यकता रहेको उनले बताएका छन् । गृहमन्त्री शाहलाई लेखेको पत्रमा उनले नेपाल सरकारसँग समन्वय गरी आवश्यक स्थानमा एनडीआरएफका टोली परिचालन गर्न आग्रह गरेका छन् ।
प्राकृतिक विपद् व्यवस्थापनमा एनडीआरएफसँग रहेको विशेषज्ञता र अनुभवले उद्धार तथा राहत अभियानमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । नेपालमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै खड्गेले भारत र नेपालका जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन्।
यस्तो संकटको समयमा भारतले छिमेकी नेपालको साथमा दृढतापूर्वक उभिएर सम्भव भएसम्म सबै सहयोग गर्नुपर्ने उनले बताएका छन् । यसैबीच, नेपालमा बाढीपछि स्थानीय अधिकारीलाई सहयोग गर्न भारतबाट ११ सदस्यीय टोली नेपाल आइपुगेको छ । भारतीय दूतावास स्रोतका अनुसार नेपाल सरकारको अनुरोधमा आएको टोलीमा स्वास्थ्यकर्मी तथा सुरुङ उद्धार विशेषज्ञसमेत छन् ।
यसैबीच नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न उता अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदायसमक्ष अपिल गरेको छ । सीएनएनको ‘इम्प्याक्ट योर वल्र्ड’ अन्तर्गत प्रकाशित सामग्रीमा चीन र नेपालमा बुधबार आएको विनाशकारी बाढीले कैयौँ समुदायलाई गम्भीर रूपमा प्रभावित बनाएको उल्लेख गर्दै बाढीपीडितलाई सहयोग गर्न आह्वान गरिएको हो ।
सीएनएनका अनुसार बाढीपछि १ हजार ९ सयभन्दा बढी मानिस बेपत्ता छन् । सञ्चार सम्पर्क, विद्युत् तथा आवश्यक स्रोतसाधनमा आएको अवरोधले खोज तथा उद्धार कार्यसमेत प्रभावित भइरहेको समाचारमा उल्लेख छ ।
बाढीका कारण हजारौँ मानिस विस्थापित भएको भन्दै सीएनएनले प्रभावित क्षेत्रमा विभिन्न सहायता समूहका राहत टोली परिचालन भइसकेको जनाएको छ । ती टोलीले स्वच्छता सामग्री, खाद्यान्न, सुरक्षित खानेपानी तथा स्वास्थ्यसम्बन्धी सहायता वितरण गरिरहेका छन् ।
सीएनएनले आफ्ना पाठक तथा विश्वभरका सहयोगीलाई बाढीपीडित नेपालीका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै प्लेज मार्फत दान गर्न सकिने व्यवस्था गरेको छ । सीएनएनले स्थलमै काम गरिरहेका र सहायता अभियान सञ्चालन गरिरहेका संस्थाहरूको अनुगमन गर्दै थप विश्वसनीय संस्थाहरूलाई आफ्नो सूचीमा समावेश गर्दै जाने जनाएको छ ।
यसैबीच नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
उनले शुक्रबार एक्समा लेखेकी छन्, “विनाशकारी आकस्मिक बाढीबाट प्रभावित सबैप्रति मेरो गहिरो सहानुभूति छ। सबैभन्दा बढी प्रभावित परिवार र समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउन युरोपले नेपालका लागि २ मिलियन युरो तत्काल मानवीय सहायता प्रदान गर्दैछ। युरोप तपाईंहरूसँगै छ।”
यता चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि विपत्तिप्रति समवेदना सन्देश पठाएका छन् । उनले शुक्रबार आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाएका यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । यस्तै नेपालको आग्रहमा चीनले उद्धार टोली पठाउने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार टनेल (सुरुङ) मा फसेका नेपालीलाई उद्धार गर्न चिनियाँ एक्सपर्ट टिम नेपाल आउन लागेको हो । सम्भवतः उनीहरू आजै नेपाल आइपुग्ने र भोलिदेखि काममा लाग्ने बताइएको छ । बाहिर जोखिममा रहेकाहरूलाई उद्धार गर्ने काम भइरहेको छ । तर विभिन्न टनेलहरूमा फसेकाहरूलाई नेपालको जनशक्तिले मात्र नभ्याउने भएपछि नेपालले भारत तथा चीनबाट दक्ष जनशक्ति माग गरेको थियो ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेै यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर उनले सरकारले गर्नुपर्ने कामहरू के कस्ता हुन भनेर बुँदागत रुपमा समेत दिएका छन् ।
जसमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिनुपर्ने विषय छ । ‘अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्’ उनले भनेका छन्, ‘सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस् ।’
यसअघि आङदेम्बे नुवाकोट लगायतका क्षेत्रमा आफैँ निरिक्षणमा गएका थिए । निरिक्षणका क्रममा आङदेम्बेले गृहमन्त्री सुधन गुरुङलाई समेत भेटेका थिए । काठमाडौं फर्किएपछि आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेका हुन् ।
भेटमा आङदेम्बेले हवाई उद्धारलाई थप प्रभावकारी बनाउन भनेका छन् । उनले प्रधानमन्त्री शाहलाई भनेका छन्, ‘नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस् ।’




