१६ भदौ , काठमाण्डौ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको सातौं दिन पुगेको छ । यो विपद्मा भइरहेको राहत, उद्धार तथा बेपत्ताको खोजी अभियानको पछिललो अपडेटका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं । आजपनि विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको हो । भदौ १५ गते साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढीमा परेर निधन भएका हालसम्म ९ सय ३९ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी चितवनमा २ सय ७९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।
फेला परेका शवहरूमध्ये केही मानव अंगहरू मात्र रहेको प्राधिकरणले जनाएको छ । विपदमा परी हालसम्म ३ हजार ९ सय २५ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ८३ जना सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ६३९ कामदार, ५९२ विदेशी नागरिक र अन्य सर्वसाधारण रहेका छन् ।
बाढीमा परी घाइते भएका २ सय ७९ जनामध्ये १ सय ६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घाइतेहरूको विस्तृत विवरण प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा उपलब्ध गराइएको छ । नेपाली सेनाले मात्रै हालसम्म २ हजार ७ सय जनाको स्वास्थ्य उपचार गरेको जानकारी दिएको छ ।
खोज तथा उद्धार कार्यका लागि सरकारले २१ हजार ८ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ८ हजार ८ सय ९६, नेपाल प्रहरीका ७ हजार ९ सय ९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म २ सय ५३ विदेशी र ३ हजार ४०४ नेपाली नागरिकको उद्धार गरिएको छ । सेनाले आज मात्रै ८८ पटक उडान भरेको छ भने निजी क्षेत्रबाट पनि २९ वटा उडान भएका छन् । पहिचान खुल्न नसकेका शवहरू विभिन्न २१ वटा अस्पतालमा राखिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। उक्त घरबाट सुरक्षाकर्मीको र टोलीले सोमबार ६ वटा शव निकालेको छ । अन्य १६ वटा शव आज निकालिने भएको छ। बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारलाई तहसनहस बनाएको थियो।
बाढी आएको छैटौँ दिनपछि बल्ल सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको उक्त घरभित्र एकै ठाउँमा २२ जनाको शव भेटिएको हो । बाढीका बेला ती मानिस त्यस घरमा भेला भएको हुन सक्ने अनुमान गरिएको छ। अहिले भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बेत्रावतीमा पुरिएको एक घरभित्र ठूलो संख्यामा शव भेटिएको बताएका छन् । सोमबार केही शव निकालिएको बताएका छन् । बाँकी शव संकलनको काम आज गरिने उनले बताए।
यसअघि बेत्रावतीस्थित पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए। प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धारका लागि आग्रह गरिँदा सुनुवाइ नभएको उनले बताएका छन् । उता नेपालको रसुवामा ठुलो संख्यामा मानिस बेपत्ता पार्ने गरी भीषण बाढी आएयता भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ।
उत्तर प्रदेश नेपालको सिमानासँग जोडिएको छ। कुशीनगर प्रशासनका अनुसार उक्त नदीमा अहिलेसम्म १३ शव फेला परेका छन्। जसमा ६ पुरुष र ७ महिला छन्। बीबीसी हिन्दीका अनुसार यीमध्ये ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ। सीमित ठाउँका कारण सात शवलाई गोरखपुर एम्स पठाइएको छ।
स्थानीय प्रशासनका अनुसार थप शव फेला पर्ने सम्भावनालाई ध्यानमा राख्दै एसडीआरएफ र एनडीआरएफ टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेका छन्। कुशीनगरका प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले स्थानीय पत्रकार गुड्डु निषादसँग भनिन्, ‘शवहरूका सम्बन्धमा तोकिएको नियमअनुसार सबै आवश्यक कारबाही भइरहेको छ।
जिल्ला प्रशासन नेपाली अधिकारीहरूसँग सम्पर्कमा छ र विदेश मन्त्रालयमार्फत बरामद गरिएका शवहरूको बारेमा नेपाललाई पनि जानकारी गराइरहेको छ।’ प्रशासनका अनुसार पोस्टमार्टम र अन्य आवश्यक प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ। प्रशासनले नेपालबाट आउने मानिसहरूलाई सहयोग गर्न नियन्त्रण कक्ष पनि स्थापना गरेको छ।
बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ। बाढी गएको पाँच दिनमा प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्। प्रधानमन्त्री शाहका अनुसार उद्धार गरिएकामध्ये २७९ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा १६८ जना डिस्चार्ज भइसकेका छन्।
अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको र उनीहरूको खोजी जारी रहेको उनले बताएका छन्। सरकारले रसुवा र नुवाकोटका प्रभावित नागरिकका लागि राहत वितरणलाई पनि तीव्र बनाएको छ। रसुवा, नुवाकोट र धादिङका चार वटा संकलन केन्द्रमार्फत संकलित राहत २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ जना प्रभावितसम्म पु¥याइएको प्रधानमन्त्री शाहले जनाएका छन्।
भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत राहत तथा सहयोग प्राप्त भइरहेको सरकारको भनाइ छ। बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढेको छ।
नुवाकोटको त्रिशूलीपारिको क्षेत्रमा गल्छी–त्रिशूली राजमार्गअन्तर्गतको सडक सञ्चालनमा ल्याइएको छ। क्षतिग्रस्त पुलका कारण प्रभावित आवागमन सहज बनाउन सरकारले बेलिब्रिज जडानलाई प्राथमिकता दिएको छ। भारतबाट २३० फिटको मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सात वटा बेलिब्रिज आउने तयारी रहेको जनाइएको छ।
चीनबाट समेत ३० वटा बेलिब्रिज प्राप्त हुने सरकारको दाबी छ। विद्युत् र सञ्चार सेवा पुनःस्थापनाको कामसमेत अघि बढेको छ। नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको र बाँकी क्षेत्रमा आगामी पाँच दिनभित्र सेवा पु¥याउने लक्ष्यसहित काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको र दुई दिनभित्र सबै क्षेत्रमा सेवा पु¥याउने लक्ष्य राखिएको छ। रसुवामा भने करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगेको तथा बाँकी प्रभावित क्षेत्रमा पोर्टेबल सोलारमार्फत सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्। यसबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क क्रमशः सहज बन्दै गएको सरकारले जनाएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धारलाई पनि प्राथमिकता दिइएको छ।
नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार गरिसकेको छ। रसुवागढी, माथिल्लो त्रिशूली–१, मैलुङ खोला, माथिल्लो त्रिशूली–३ ए, ३ बी, त्रिशूली, सौर्य तथा देवीघाटलगायत आयोजनामा खोज तथा उद्धारको काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
केही आयोजनामा नेपाली सेनासँगै चिनियाँ, भारतीय र कोरियन उद्धार टोलीले समेत सहयोग गरिरहेका छन्। बाढीमा ज्यान गुमाएकाको शव पहिचान तथा व्यवस्थापनको काम पनि भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरेर व्यवस्थापन गर्ने काम भइरहेको सरकारको भनाइ छ।
सरकारले तत्कालीन उद्धारसँगै अब पुनःस्थापनाको तयारी पनि अघि बढाएको जनाएको छ। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको छ। घर, परिवार तथा जायजेथा गुमाएका नागरिकलाई पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउने गरी आवश्यक स्रोत जुटाउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमको संकेत भएको बताएका छन्। उनले यस विपद्बारे अन्तर्राष्ट्रिय समुदायसँग जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र क्षतिका विषयमा थप बलियो रूपमा कुरा उठाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आमनागरिकको भूमिका प्रशंसनीय रहेको बताएका हुन् ।
उनले विपद्का बेला सबैबाट प्राप्त धैर्य, साथ, सहयोग र समन्वयप्रति आभार व्यक्त गरेका छन् । विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश तथा स्थानीय सरकारले दिएको सहयोग महत्वपूर्ण रहेको उनले बताएका छन् ।
मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायत सबै सरोकारवालाले देखाएको सद्भाव र सहयोग अनुकरणीय रहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको बाढी सामान्य प्रकृतिको नभएको बताएका छन् ।
हिमालय क्षेत्रमा हिउँ तथा चट्टानको हिमपहिरोबाट सिर्जित यो क्षेत्रकै ठूलो विपद्मध्ये एक भएको उनले उल्लेख गरेका छन् । “यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ ।
त्यसैले यो क्षेत्र सतर्क हुनैपर्छ। सँगसँगै हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयलाई बलियो रूपमा उठान गर्नुपर्ने समय आएको छ,” उनले भने ।




