१६ भदौ , काठमाण्डौ ।
नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव पहिचानका लागि भारतबाट आएको १९ सदस्यीय टोलीले काठमाडौंमा काम सुरु गरेको छ । भारतीय विज्ञहरूको यो टोलीले गत वर्ष अहमदाबाद विमानस्थल नजिकै भएको एयर इन्डियाको उडान १७१ दुर्घटनाका पीडितहरूको पहिचानमा समेत काम गरेका थिए ।
सोही १९ सदस्यीय डीएनए विज्ञ टोली काठमाडौँमा आएको हो । जैविक नमुना सङ्कलन, संरक्षण र विश्लेषण गरी शवहरूलाई आफन्तको जिम्मा लगाउने कार्यमा सहयोग पु¥याउन यो टोली खटिएको हो । ६ वटा समूहमा विभाजित भारतीय टोलीमा गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी (एनएफएसयू) का १० जना र दिल्लीस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरी (सीएफएसएल) का ९ जना विज्ञ समावेश छन् ।

एनएफएसयूका डिएनए फरेन्सिक सेन्टर अफ एक्सिलेन्सका प्रमुख भार्गव पटेलको नेतृत्वमा आएको टोलीले सोमबारदेखि नेपाल प्रहरीको सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका विज्ञहरूसँग सहकार्य थालेको छ ।
टोलीले अधिकांश क्षतविक्षत अवस्थामा रहेका शव र आफ्ना आफन्त खोजिरहेका मानिसहरूबाट जैविक नमुना सङ्कलन गरिरहेको छ । आपत्कालीन विपद् पीडित पहिचान (डीभीआई) प्रक्रियाअन्तर्गत शव र तिनका टुक्राहरूको कागजी अभिलेख राख्ने, पहिचान नम्बर दिने, उपयुक्त जैविक नमुना सङ्कलन गर्ने र आफन्तलाई शव बुझाउन सघाउने काममा यो टोली खटिएको छ।
एनएफएसयूका क्याम्पस निर्देशक डा. एसओ जुनारेका अनुसार नेपालका अधिकारीहरूलाई शव पहिचानमा सघाउनु र मृतकले सम्मानजनक अन्तिम बिदाइ पाऊन् भन्ने सुनिश्चित गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ । नेपाल प्रहरीका वरिष्ठ अधिकारी योगबहादुर पालका अनुसार गत २६ अगस्टको त्रासदी पछि ६ सयभन्दा बढी शवको पहिचान हुन बाँकी रहेको छ ।
‘हामीले दाँत, तिघ्राको हाड, औँलाको छाप र शरीरका अन्य विशिष्ट भागबाट डीएनए नमुना सङ्कलन गरेका छौँ,’ पालले भने, ‘एफबीआईद्वारा सञ्चालित कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (कोडिस) नामको सफ्टवेयर प्रयोग गरिरहेका छौँ।’ स्वास्थ्य मन्त्रालय र प्रहरी मिलेर पीडितहरूबाट सङ्कलित डीएनए प्रमाणको ठूलो डेटाबेस तयार गरिसकिएको जानकारी उनले दिए ।
गृह मन्त्रालयका अधिकारी अर्जुन सुवेदीले शव पहिचान प्रक्रियामा सहयोगका लागि विभिन्न दूतावासहरूसँग समन्वय भइरहेको बताए। सुवेदीका अनुसार बाढीमा परी ज्यान गुमाउनेहरू विश्वका विभिन्न देशका नागरिक रहेका छन्।
उनले भने, ‘हामीले सबै दूतावासहरूलाई इमेलमार्फत मेडिकल रेकर्ड पठाउन पत्राचार गरेका छौँ। तत्कालै नेपाल आउन गाह्रो हुने आफन्तहरूले स्वदेशकै अस्पतालमा रगतको नमुना दिएर दूतावासमार्फत रेकर्ड इमेलमा पठाउन सक्नेछन् र हामी त्यसलाई यहाँको रेकर्डसँग भिडाएर हेर्नेछौँ।’
यसैबीच खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ । दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विपत् प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रहबमोजिम यो टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ। यो टोलीले नेपालमा रहेर करिब १० दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ ।
गत साता आएको विनाशकारी बाढीमा परी एक जलविद्युत् आयोजनामा बेपत्ता भएका नौ जना कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो । सुरुवाती चरणमा नेपाली सेनाले लागू गरेको उडान प्रतिबन्धका कारण उक्त द्रुत टोली प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो।
कोरियाली सञ्चारमाध्यमका अनुसार आवश्यक स्वीकृति पाएपछि उक्त टोलीले शनिबारदेखि शंकास्पद स्थलहरूमा हवाई खोज अभियान सुरु गरिसकेको छ । यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले तिब्बतसँगको सीमामा बुधवार आएको विनाशकारी बाढीलाई “सामान्य घटना नभएको” भन्दै यो जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।
सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय स्तरमा तत्काल कदम चाल्न माग गरेका छन् । उनले यो घटना “हिमाली क्षेत्रमा हिउँ र बरफको हिमपहिरोका कारण उत्पन्न भएको यो क्षेत्रकै प्रमुख प्राकृतिक विपत्तिमध्ये एक” भएको बताएका छन ।
बाढी आएको छैटौं दिनमा सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै बालेनले यसलाई हिमालय क्षेत्रमा हिउँको पहिरोका कारण सिर्जित ‘ठूलो विपत्ति’ को संज्ञा दिएका हुन् । प्रधानमन्त्री शाहले यो विपद् सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँको चट्टान खसेर आएको पहिरो भएको बताएका छन् ।
‘हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको यो विपद्को विषय बलियो गरी उठाउनुपर्ने समय आएको छ,’ उनले उल्लेख गरेका छन् । सरकारले अबको प्राथमिकता पुनःस्थापनालाई बनाएको छ ।
घर र जायजेथा गुमाएकाहरूलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै सामान्य जीवनमा फर्काउन स्थानीय सरकारसँगको समन्वयमा विवरण संकलन सुरु गरिएको प्रधानमन्त्रीले बालेनले जानकारी दिएका छन् । सरकाले शव व्यवस्थापनका लागि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम डिएनए सुरक्षित राखेर वैज्ञानिक प्रक्रिया अपनाइरहेको छ ।
यस्तै सरकारले रसुवा, नुवाकोट र धादिङका ४ वटा संकलन केन्द्र र २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ प्रभावित नागरिकलाई राहत पु¥याएको छ । यस कार्यमा भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियाले सहयोग गरेका छन् ।
प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ र ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भइसकेको छ । बाढीले अवरुद्ध पारेको नुवाकोटको त्रिशूलीपारिको क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको छ । गल्छी–त्रिशूली राजमार्गको वैकल्पिक मार्गबाट त्रिशूली बजारसम्मको पहुँच स्थापित भएको छ ।
नेपाल सरकारसँग भएका ७ वटा बेलिब्रिजबाहेक भारतले थप ७ वटा र चीनले ३० वटा बेलिब्रिज दिने प्रतिबद्धता जनाएका छन् । देवीघाट, त्रिशूली र बेत्रावतीमा तत्काल अस्थायी पुल निर्माण गरिनेछ । बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पु¥याएको छ। विभिन्न आयोजनाका सुरुङ र कार्यस्थलबाट नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।
जसअनुसार माथिल्लो त्रिशूली–१बाट २५४ जनाको उद्धार गरिएको छ । त्यहाँ नेपाली, कोरियन र चिनियाँ टोली परिचालन भएको थियो । मैलुङ खोलाबाट ९ जनाको उद्धार हुँदा त्रिशूली ३ए र ३बीको सुरुङमा खोजी जारी छ । ३बी बाट २ जनाको उद्धार गरिएको बालेनले बताएका छन् । त्रिशूली आयोजनाबाट ३, सौर्यबाट ४ र देवीघाटबाट ४ जनाको उद्धार गरिएको छ ।
बालेनका अनुसार नुवाकोटका ८५ प्रतिशत क्षेत्रमा विद्युत सुचारु, बाँकी १५ प्रतिशतमा ५ दिनभित्र पुग्ने उनको भनाइ छ । यसैगरी रसुवाको सदरमुकाम धुन्चेसहित ३० प्रतिशत घरधुरीमा विद्युत पुगेको छ भने ५०० थान पोर्टेबल सोलार वितरण गरिएको छ । धादिङमा पनि ९८ प्रतिशत क्षेत्रमा विद्युत पुनःस्थापना भएको छ ।
सञ्चारतर्फ नेपाल टेलिकमका ११० र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको प्रयास जारी छ। त्यहाँ सयौँ कामदार फसेको हुन सक्ने आशङ्का गरिएको छ ।
यसैबीच अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ। स्थलगत रूपमा खोजी तथा उद्धारका लागि पुगेका पत्रकार जसिन्द्र श्रीपालीले सामाजिक सञ्जालमार्फत उद्धार टोली हेलिकप्टरबाट घटनास्थल पुगेको जानकारी दिएका छन्।
श्रीपालीका अनुसार सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलमा प्रवेश गरेको हो। उनी पनि सञ्चारकर्मीका रूपमा आफ्नो जिल्लाका सुरुङमा फसेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन पाँच दिनदेखि धुन्चेमा रहँदै आएका छन् ।
घटनास्थलमा उद्धार टोली पुगेपछि आजदेखि खोज तथा उद्धारको काम सुरु हुने भएको छ। सम्पर्कविहीन परिवारका सदस्य तथा आफन्तहरू उद्धारको पर्खाइमा रहेका बेला नेपाली सेनाको टोली घटनास्थल पुगेपछि उद्धारको आशा बढेको छ ।
यसैबीच भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले नुवाकोट र रसुवा जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ ।




