१८ भदौ , काठमाण्डौ ।
भदौ १० गते आएको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुधबार साँझ ६ बजेसम्मको विवरण अनुसार मानव अंगसहित १२०४ शव फेला परेको हो ।
रसुवामा टिमुरेबाट ल्याइएसँगै ११५ वटा शव फेला परेका छन्। नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका हुन्। फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन् ।

हालसम्म ८८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको छ । ५६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ । जम्मा एक हजार ६५५ डीएनए संकलन गरिएको छ ।
बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६०१ छ । बाढीमा परी ३०१ जना घाइते भएका छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढीका कारण घरबारविहीन भएका तीन हजार ४५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका ‘होल्डिङ सेन्टर’मा रहेको प्राधिकरणले जनाएको छ । उता रसुवाको भोटेकोसी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो । भारतीय प्रहरीले मंगलबार साँझ पाँच र हिजो अपराह्न चार शव नेपाल ल्याएको हो ।
नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष छन् । बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शव फेला परेका हुन् ।
उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको उनले बताए । बुधबार ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका युवक छन् ।
पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवलाई सुरक्षित राखी पञ्चनामा तथा गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो । शवबाट डीएनएसहितका प्रमाण सुरक्षित राखिएको उनले जानकारी दिए ।
रसुवाको भोटेकोशी बाढीका क्रममा हराएकामध्ये बुधबार ३४ जनाको नेपाली सेनाले उद्धार गरेको छ । योसहित सेनाले हालसम्म हवाई हेलिकप्टरबाट २७३ विदेशीसहित ३ हजार ९२५ जनाको उद्धार गरेको छ । नेपाली सेना द्वारा प्रेषित अपडेटअनुसार रसुवागढी हाइड्रोमा नेपाली सेना तथा आयोजनाको प्रतिनिधि (इन्जिनियर) सहित २७५ मीटरसम्म पुगेर खोजी कार्य भइरहेको छ ।
त्यसक्रममा एकसाभेटर ड्रप गरी उद्धार कार्यलाई थप तीव्र गराउने तयारी रहेको छ । लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।
चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुगेर टनेल बन्द भएको अवस्थामा फेला परेको र साउण्ड डिटेक्टरबाट मोनिटर गर्ने काम भएको छ । अपर त्रिशूली–१ मा टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकोले भित्र छिर्ने प्रयास भइरहेको अपडेटमा उल्लेख छ।
साथै, हाकुबेसीमा २६० मीटर भित्रसम्म पुगेर खोजी कार्य गर्दा हालसम्म केही फेला परेको छैन । त्यहाँको मेन टनेलमा २५ मिटर, एसेस टनेल–१ बाट करिब १५० मिटर र एसेस टनेल–२ बाट करिब २० मिटर गएपछि सेनाको टोली २६ मीटर पानी भएको डीसेन्डर बेसिनसम्म पुगेको छ । त्यहाँ अगाडी बन्द अवस्थामा भेटिएको छ ।
त्रिशूली– थ्री एमा नेपाली सेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ वटा स्काभेटर र एक बबक्याटबाट माटो पन्छाई कम्प्रेसर मेसिन ब्रेकर तथा ब्लाष्टिङ्ग कार्य भएको छ । त्यसपछि टनेलको आउटलेटमा लेदो भरिएका कारण बोकाडद्वारा माटो फाल्ने काम भएको र अगाडि रहेको चट्टान ब्लाष्टिङ्गको कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।
त्रिशूलीको टनेल खोज उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुशार मध्यरात १ बजेसम्म ४ वटा चट्टान विस्फोट गरी हटाउने काम सम्पन्न भएको छ। एनले काम निरन्तर रूपमा अघि बढिरहेको भन्दै हाल ४ वटा एक्स्काभेटर मार्फत कार्य भइरहेको र आजैदेखि सुरुङभित्रको काम पनि सुरु गरिने तयारी गरिएको बताएका छन् ।
त्याहा आजदेखि कोरियाबाट आएको ४४ जनाको उद्धार टोली पनि खटिनेछ । त्रिशूली थ्री बीमा नेपाली सेनाको ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बोकाटसहित अफिस र क्याम्प एरिया पहिचान तथा खोजी कार्य भइरहेको छ ।
भोटेकोसी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट प्रभावित आयोजनामध्ये आठवटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले तयार गरेको विवरणअनुसार बाढीबाट क्षतिग्रस्त तथा प्रभावित ११ आयोजनाबाट ९४७ जना सम्पर्कविहीन छन्।
आयोजनाहरूको क्षति र त्यहाँ कार्यरत जनशक्तिको अवस्थासम्बन्धी विवरणमा केही आयोजनामा उद्धार तथा सकुशल रहेका व्यक्तिको संख्या स्पष्ट उल्लेख गरिएको छ भने केही आयोजनामा खोजी तथा उद्धार कार्य जारी रहेको छ । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा धेरै जनशक्ति सम्पर्कविहीन छन्।
आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए । ती मध्ये ८७६ जनाको उद्धार भएको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको आयोजनाका प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ। सम्पर्कविहीनमध्ये ११५ जना मुख्य सुरुङ र हेडवक्र्स (बाँध) क्षेत्रमा फसेको आशंका गरिएको छ।
सम्पर्कविहीन ५५७ जनामा प्रवद्र्धक कम्पनीका १५, परामर्शदाता जेड कन्सल्टका सात, मुख्य ठेकेदार दुसानका ५६, पावर चाइनाका ३८५ र इलेक्ट्रोमेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना रहेका छन्। रसुवागढीमा ९३ जना सम्पर्कविहीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
उनीहरूमध्ये भूमिगत विद्युत्गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। यस आयोजनामा ३ जना सुरक्षित स्थानमा पुगेका र ४ जना बाढीको दुई दिनपछि भूमिगत डिस्चार्जबाट आफैँ बाहिर निस्किएपछि उद्धार भएका छन्।
रसुवा–भोटेकोसीका पाँच जनाको उद्धार १२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीनको संख्या ४ जना रहेको छ। आयोजनास्थलमा सुरक्षित स्थानमा पुगेका ३ जना चिनियाँ र २ जना नेपाली गरी ५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको विवरणमा उल्लेख छ।
लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४१ जना अझै सम्पर्कमा आएका छैनन्। सुरुङभित्र १५० मिटरसम्म पुगेर खोजी गरिएको र खोजी कार्यलाई थप तीव्र बनाइएको आयोजनाले जनाएको छ।
आयोजनाको प्रारम्भिक विवरणमा १९ जनाको उद्धार भएको उल्लेख छ। चिलिमे २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट ६ जना भूमिगत विद्युत्गृहमा फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको विज्ञ टोली परिचालन भए पनि बुधबारसम्म उनीहरूसम्म पुग्न सकिएको छैन।
चिलिमेको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा विद्युत्गृहमा काम गरिरहेका ६ जना फसेका छन् भने साइट कार्यालयमा रहेका अन्यले सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका छन्। मैलुङ खोलाका सातजनासँग सम्पर्क छैन पाँच मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत सात जना एक सातासम्म पनि सम्पर्कमा आउन नसकेको विवरणमा उल्लेख छ।
उनीहरूको अवस्था अज्ञात रहेको छ। त्रिशुली जलविद्युत् केन्द्रका तीनजना सम्पर्कविहीन छन् । २४ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्रमा कार्यरत ७३ जनामध्ये ७० जना सकुशल रहेको र तीन जना सम्पर्कविहीन रहेको पछिल्लो विवरण छ। सम्पर्कविहीन हुनेमा दुईजना सुरक्षागार्ड र एकजना कर्मचारी छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना फसेको अनुमान ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’को भूमिगत विद्युत् गृहमा मर्मतका लागि गएका ४२ जना फसेको अनुमान गरिएको छ। सुरुङभित्र बाढीले ल्याएको ढुंगा, बालुवा र माटो थुप्रिएका कारण उद्धार टोलीलाई विद्युत्गृह पुग्न कठिनाइ भइरहेको छ। सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउन तथा पानी पम्पिङ गरेर बाहिर निकाल्ने काम जारी रहेको छ।
देवीघाटमा एक सुरक्षागार्ड बेपत्ता १४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रबाट एक जना सुरक्षागार्ड सम्पर्कविहीन छन्। केन्द्रमा कार्यरत अन्य कर्मचारीहरू सुरक्षित स्थानमा पुगेका छन्। माथिल्लो त्रिशूली–३ ‘बी’मा १९१ जना सम्पर्कविहीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट १९१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
सुरुङमा काम गरिरहेका २३ जना भने बाहिर निस्कन सफल भएका छन्। उनीहरूको खोजीका लागि एक्स्काभेटर परिचालन गर्ने तयारी गरिएको छ। मध्य त्रिशुली गंगाका दुई जना बेपत्ता १५.६ मेगावाटको मध्य त्रिशुली गंगा जलविद्युत् आयोजनाबाट २ जना सम्पर्कविहीन छन्। एक जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।
नुवाकोट सौर्य आयोजना पनि प्रभावित २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनाको १९.६ मेगावाट उत्पादन गर्ने सौर्य प्लान्ट पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सात स्थानमा राखिएका सौर्य प्लान्टमध्ये चार स्थानका प्लान्ट बाढीले बगाएको विवरणमा उल्लेख छ।
आयोजनामा कार्यरत सबै सुरक्षित रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। कार्यालय तथा नियन्त्रण भवनसमेत बगेका छन्। यसैबीच माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काठमाडौँस्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ ।
कार्यालयमा तोडफोड तथा आक्रमण भएपछि बाढीका कारण यस आयोजनामा फसेकाहरूको उद्धार तथा राहत व्यवस्थापन कार्य पूर्ण रूपमा प्रभावित भएको छ ।
माथिल्लो त्रिशूली– १ को काठमाडौँ स्थित प्रवर्धक कम्पनी सिनो हाइड्रो (पावर चाइना) को सम्पर्क कार्यालयमा लफडा भएको कम्पनीका मार्केटिङ तथा बिजनेस डेभलपमेन्ट शाखा प्रमुख शिशिर तामाङले बताएका छन् ।




