१८ भदौ , काठमाण्डौ ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । यसैक्रममा नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका ढुंगाहरू पन्छाउने तयारी भइरहेको जानकारी दिएको छ । स–साना ढुंगाहरू मात्र झरेको हुनाले त्यसलाई हटाएर सडक पूर्ण रूपमा सुचारु गर्न धेरै समय नलाग्ने पनि कार्यालयले स्पष्ट पारेको छ ।

ढुंगा खसेर पुरानो सडक प्रभावित भए पनि हाल सोही स्थानमा निर्माण भएको नयाँ पुलबाट सवारी आवागमन नियमित रूपमा भइरहेको छ । त्यसैले यात्रुहरू बिचमै रोकिनुपर्ने अवस्था भने छैन । यद्यपि, सडक माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहन सक्ने भएकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन सडक डिभिजन भरतपुरले अपिल गरेको छ ।
कार्यालयले भनेको छ, ‘यात्रा गर्दा सडकको अवस्था हेरेर, आवश्यक परे रोकेर र बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’ यता बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । अहिले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।
त्यसैगरी टोखा–छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बेत्रावती नगरपालिका–१० सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध छ भने गजुरी–२ परेवा भीरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् । ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाई एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा गएराति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । त्रिशुली नदीले सतहबाटै जमिन कटान गरेपछि धादिङको कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड तीन दिनदेखि अवरुद्ध छ ।
कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चि नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ ।
साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्था मूल्याङ्कन गरी अन्य सवारी सञ्चालन गर्न अनुमति दिइएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यता त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा गाडी आवागमन प्रभावित भएपछि काठमाण्डौ–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट सार्वजनिक भएको छ । वर्षाको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाण्डौबाट हेटौँडाका लागि छुट्ने साना गाडीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ । त्यस्तै हेटौँडाबाट काठमाण्डौ छुट्ने साना गाडीका लागि भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट कायम गरिएको छ ।
यसैगरी ठूला तथा मालवाहक गाडी काठमाण्डौबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन् । यो रुट प्रयोग गर्ने गाडीले बेलुकी ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक गाडीका लागि भैँसे–पालुङ–टिस्टुङ–नौबीसे हुँदै काठमाण्डौ आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक गाडीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । प्रहरीले भारी मालवाहक गाडीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार पनि देशका विभिन्न खोला तथा नदीमा बाढी आउने र त्यसले आसपासका क्षेत्रमा असर पु¥याउन सक्ने जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएको छ । बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित ४८ जिल्ला र आसपासका खोला÷नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ ।
साथै हालै मात्र बाढीले ठुलो क्षति गरेका रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।
बुलेटिनमा भनिएको छ, आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ ।




