१९ भदौ , काठमाण्डौ ।
भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको रास्वपा सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।
उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएको हो। हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटिरहेको छ। कार्यस्थलमै रहेर उद्धार कार्यमा संलग्न रहेका सांसद न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, “सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।“

सांसद न्यौपानेले उद्धारमा खटिएका सुरक्षा निकाय र प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्दै सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरे । उनले भनेका छन्, ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ।अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु।उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ।’
हिजोसम्म उद्धारको नेतृत्व लिएर फिल्डमा काम गरिरहेका सुरूङ विज्ञ न्यौपानेका अनुसार सुरूङको माथिल्लो भागतर्फ करिब १० मिटरभित्र नेपाली सेना र सशस्त्र प्रहरीको टोली प्रवेश गरिसकेको थियो । एक्स्काभेटरले ब्लास्ट गरिएको ढुंगा तथा अवरोधहरू पन्छाउँदै छ।
सुरूङको भुइँ तहसम्म पुग्न करिब नजिक छ, हिजो उनले भनेका थिए । यो आयोजना हिजोसम्म के–के प्रयास भयो ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले ६ बुँदे उद्धार प्रयास सार्वजनिक गरेको छ ।
१.केवल टनेलको मुखबाट १५ फिट भित्रसम्म रहेको डेब्रिस निकाली त्यहाँसम्म नेपाली सेना प्रवेश गर्न सफल भएको र थप अगाडिसम्म जाने प्रयास निरन्तर जारी रहेको।
२.दिनरात निरन्तर काम गरी जमेको पानीलाई निकास दिन सम्भव भएको।
३. खोज तथा उद्धार कार्यलाई प्रभावकारी सञ्चालन गर्न कुनै पनि सामान तथा खाद्यान्नसमेतको अभाव हुन नदिन आवश्यक बजेट, सामानको प्राप्ति, खर्च र सो अभिलेख व्यवस्थापन गर्ने समेत निर्णय भएको।
४.खोज तथा उद्धार कमिटिसँग समन्वय गरी प्राधिकरणका सम्पर्कमा आएका÷नआएका सम्पूर्ण कर्मचारी तथा कामदारहरुको विवरण अद्यावधिक गर्ने, सम्पर्क हुन नसकेको कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का र गुनासो सुन्ने लगायतका काममा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा एक कमिटी गठन गर्ने निर्णय भएको।
५.हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त भएको प्राधिकरणको माथिल्लो त्रिशुली ३ ए जलविद्युत उत्पादन केन्द्रको पावर हाउस साइटसम्म जाने प्रबन्ध गरिएको।
६. प्राधिकरणले खोज तथा उद्धार एवम् विद्युत आपूर्ति सञ्चालन गर्नेतर्फ गरिएका मुख्य मुख्य काम कारबाहीहरू संप्रेषण गर्ने व्यवस्था गरिएको। ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङभित्र ४२ जना फसेको नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार ११ वटा जलविद्युत् आयोजनाका कुल ८९८ जना कर्मचारी र श्रमिकहरू अझै पनि सम्पर्कविहीन छन्, जसमध्ये ठुलो संख्या सुरुङ र पावरहाउसभित्रै फसेको अनुमान गरिएको छ ।
इप्पानले सार्वजनिक गरेको विवरण अनुसार रसुवा र नुवाकोटका गरी ११ वटा आयोजना बाढीबाट नराम्ररी प्रभावित भएका छन् । जसमा माथिल्लो त्रिशूली–१मा ५७६ जना सम्पर्कविहीन भएकोमा २५४ जनाको उद्धार भएको, ३०० जना सुरुङमा फसेका छन् ।
रसुवागढी आयोजनामा ९३ जना सम्पर्कविहीन, रसुवा–भोटेकोशी ४ जना सम्पर्कविहीन ,लाङटाङ खोला ४२ जना सम्पर्कविहीन ९१८ जनाको उद्धार, २५ जना सुरुङभित्रै फसेका छन् । चिलिमे आयोजनामा ८ जना सम्पर्कविहीन, मैलुङ खोला ७ जना सम्पर्कविहीन रहेका छन् ।
त्यस्तै, नुवाकोट जिल्लाका प्रभावित आयोजनाहरूमा माथिल्लो त्रिशूली–३ बी १२२ जना सम्पर्कविहीन भएकोमा ११ जनाको मात्र जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–३ ए मा ४२ जना सम्पर्कविहीन भएकाहरू सुरुङभित्रै फसेको अनुमान छ ।
त्यस्तै, मिडल त्रिशूली गंगामा २ जना सम्पर्कविहीन, त्रिशूली जलविद्युतमा १ जना सम्पर्कविहीन र देवीघाट जलविद्युतमा १ जना सम्पर्कविहीन छन् । विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २९० जनाको शव फेला परेको छ ।
रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम (भारतमा भेटिएकासहित) एक हजार २९० शव फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणका अनुसार बाढीमा परी पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
उनका अनुसार तीन हजारभन्दा बढी होल्डिङ सेन्टर बसिरहेका छन् । प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार २१ हजार ४०२ जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेका छन् । बाढीमा परी घाइते भएका ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली सेनाले तीन हजार २०६ जना र सशस्त्र प्रहरीले एक हजार ८७४ जनालाई स्वास्थ्य उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ । बाढीका कारण झन्डै चार खर्बको क्षति भएको अनुमान गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो जनाएको हो ।
प्राधिकारणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बिहीबार साँझ प्रेस ब्रिफिङमा बाढीबाट ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको बताए । “बाढीमा कति लागत बराबरको क्षति भयो भन्ने कुरा पनि हामीले बाहिर ल्याएका छौँ,“ उनले भने, “सबै क्षेत्रमा अहिले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको डेटा आएको छ ।“
उप्रेतीले आगामी चार महिनाभित्र प्रारम्भिक पुनस्र्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको पनि जानकारी दिए । “हामीले अर्ली रिकभरीमा अबको चार महिनामा के के गर्ने ? र यसको लागि अध्ययन गरेका थियौँ,“ उप्रेतीले भने, “र, त्यो स्टिमेसन चाहिँ ७ अर्ब ९५ करोड बराबरको अर्ली रिकभरी गर्न लाग्ने अनुमान गरेका छौँ ।“
उनले बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणसँगसँगै क्षतिको विवरण संकलनको कार्य समेत निरन्तर भइरहेको जानकारी दिए । उनका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत् र दूरसञ्चार क्षेत्रको तत्काल पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको छ ।
बिहीबार मात्र बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरी काठमाडौं ल्याउने कार्य भइरहेको बताए । बिहीबार नै अन्य २० जनाको समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको उनले बताएका छन् । आजपनि विहानैदेखि उद्धार, खोजी र राहत वितरणको काम जारी छ ।




