१९ भदौ , काठमाण्डौ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश भू–भागमा मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदरभन्दा केही उत्तर तथा पूर्वी भू–भागमा सरदर स्थानकै आसपास रहेकाले देशभर वर्षाको गतिविधि जारी रहने देखिएको हो।
विभागले आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। दर्शकवृन्द नमस्कार । तपाईं हेर्दै हुनुहुन्छ नेपाल टाइम्स अनलाइन टेलिभिजन, साथमा छु म संचिता श्रेष्ठ। यतिवेला हामी यहाँहरु माझमौसम अपडेटका साथ हामी यहाँहरू माझ उपस्थित भएका छौं।

हिमाली भू–भागका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ। वर्षाको प्रभाव तराई क्षेत्रमा समेत देखिनेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानका साथै मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने सम्भावना रहेका पहाडी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो परिमाणमा पानी पर्न सक्ने भएकाले नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ।
काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्हरूका अनुसार केही समय पानी रोकिएजस्तो भए पनि पुनः वर्षा हुन सक्ने अवस्था रहेको छ। त्यसैले उपत्यकाका सडकमा यात्रा गर्नेहरूलाई वर्षाको समयमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
विभागका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मनसुनी प्रणाली सक्रिय रहँदा वर्षाको गतिविधि स्थानअनुसार फरक हुने भएकाले कुनै क्षेत्रमा लामो समयसम्म पानी नपरे पनि अर्को क्षेत्रमा एक्कासि भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताउँदै आएका छन्। जल तथा मौसम विज्ञान विभागले प्रतिकूल मौसमका कारण कृषि, पर्यटन, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनीलाई प्राथमिकता दिन आग्रह गरेको छ।
आज विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने देखिएको छ। भारी वर्षा भइरहेको समयमा पहाडी सडकमा सवारी चलाउँदा पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न विज्ञहरूको सुझाव छ।
केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नागरिकले मौसम विभागका आधिकारिक सूचना पछ्याउँदै अनावश्यक जोखिम नलिनु नै सुरक्षित हुने देखिन्छ।
उता कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय खोला किनारका स्थानीय सुरक्षित ठाउँमा सरेका छन् । बिहीबार साँझ करिब ७ बजेबाट आएको वर्षाका कारण खोलाको मुहानमा पहिरो खसेको थियो ।
उक्त पहिरोले थुनेको ताल एक्कासी फुटेपछि खोलामा बाढी आएको हो । सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीका अनुसार, मुम्राको बालीपाटादेखि गैराखाडा लामाबगर हुँदै शान्तिघाटसम्मको खोला किनारमा बाढी बढेको हो । उनका अनुसार, अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन ।
बाढी बढेपछि आफूले तत्कालै स्थानीयलाई खबर गरेको र करिब डेढ सय परिवार सुरक्षित स्थानमा सरेको उनले बताएका छन् । सान्नी त्रिवेणी गाउँपालिकाका ४, ५, ६, ८ र ९ नम्बर वडा भएर सो खोला बग्ने गरेको छ । शान्तिघाट खोला मुम्राबाट करिब २ सय मिटर तल पुगेर कर्णाली नदीमा मिसिने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रवक्ता जनक शर्माले पनि शान्तिघाट खोलामा पानीको बहाब बढेपछि खोला किनारका नागरिकलाई सचेत गराइएको बताए । यता केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ।
बर्दिबास, सिन्धुली बनेपा काठमाडौँको यो राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।
जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनको तौल–सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको हो। बीपी राजमार्गमा १० टन तौलभन्दा बढीका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमा क्रस नहुनेगरी समय व्यवस्थापन गरिएको जानकारी दिए।
डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा अवरोध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका कार्य तत्काल अगाडि बढाइने जनाएको छ। ग्यास बुलेटलगायतका ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गअन्तर्गतको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिनेछ।




