बाढी प्रभावित क्षेत्रमा महामारीको भय

१९ भदौ ८३, शुक्रबार
Share this
760shares

१९ भदौ , काठमाण्डौ ।

Advertisement

हालै भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय र विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका नदी तटीय क्षेत्रहरूमा जुन ताण्डव मच्चायो, त्यसको पूर्ण क्षतिको विवरण अझै सङ्कलन भइसकेको छैन।

तर, बाढीले बगाएर लगेका दर्जनौँ मानिसका अमूल्य ज्यान, भत्किएका सयौँ घरटहरा र हजारौँको सङ्ख्यामा मारिएका पशुचौपायाको कहालीलाग्दो दृश्यले विपद्को भयावह रूपलाई छर्लङ्ग पारेको छ। अहिले बाढीको पानी बिस्तारै घटेको छ। उर्लिएको नदी आफ्नै पुरानो लयमा फर्किने प्रयासमा छ।

Advertisement

राज्यका संयन्त्रहरू, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष पन्छाउन र बेपत्ताहरूको खोजीमा जुटेका छन्। हेलिकोप्टरबाट चाउचाउ र बिस्कुट खसाल्नेदेखि लिएर विस्थापितहरूलाई अस्थायी पालमुनि राख्नेसम्मका प्राथमिक उद्धारका कामहरू भइरहेका छन्।

तर, बाढीको पानी घट्दै गर्दा अब यी प्रभावित क्षेत्रहरूमा अर्को, अझै भयानक र शान्त विपद् आउला कि भन्ने सन्त्रास छ। यदि समयमै यहाँ पुरिएका मानव शव हुन् या पशुपक्षी मात्र होइन, अन्नपातको समयमै सही व्यवस्थापन गर्न सकिएन भने त्यसले महामारीको रूप लिन सक्छ। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ।

Advertisement

भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको यस पटकको बाढी सामान्य थिएन। हिमपहिरोपछि आएको यो आकस्मिक बाढीले मानिसलाई सुरक्षित स्थानमा सर्ने मौका नै दिएन। कतिपयले ज्यान त जोगाए, तर उनीहरूको आँखाअगाडि नै उनीहरूको सर्वस्व बगेर गयो।

यस विपद्मा मानिसको क्षतिको तथ्याङ्क जति दर्दनाक छ, त्योभन्दा कम दर्दनाक मूक पशुचौपायाको क्षति छैन। ग्रामीण अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेकै कृषि र पशुपालन हो। यस बाढीमा गोठमा बाँधिएका हजारौँ गाई, भैँसी, बाख्रा, सुँगुर र कुकुर–बिरालोलगायतका घरपालुवा जनावरहरू निसास्सिएर र डुबेर मरेका छन्।

मानिसले आफ्नो ज्यान बचाउन भाग्दा डोरीले बाँधिएका ती निरीह प्राणीहरूले भाग्ने अवसरसमेत पाएनन्। आज त्रिशूली र भोटेकोशीको किनारैकिनार, हिलो र बालुवाको थुप्रोभित्र सयौँ जनावरका शवहरू दबिएका छन्। कतिपय शवहरू झाडी र रूखका हाँगाहरूमा अल्झिएर कुहिन थालेका छन्।

अझै कति बेपत्ता मानिसका शवहरू नदी किनारका ढुङ्गा र हिलोमुनि पुरिएका हुन सक्छन्। यी कुहिएका शवहरू र भग्नावशेषबाट निस्किने दूषित तत्त्वहरूले अब सिङ्गो बस्तीलाई सङ्क्रामक रोगको चपेटामा पार्न सक्छ । बाढीपछिको सबैभन्दा ठूलो सङ्कट भनेको शुद्ध पिउने पानीको अभाव हो।

बाढीले गाउँका खानेपानीका पाइपलाइन, मुहान, इनार र धाराहरू पूर्ण रूपमा ध्वस्त पारेको छ। नदी र खोलाको पानी बाढीले ल्याएको हिलो, ढल, शौचालयको फोहोर र मृत जनावरका कुहिएका शरीरका कारण अत्यधिक प्रदूषित भएको छ।

जब मृत शरीरहरू पानीमा वा हिलोमा कुहिन थाल्छन्, त्यहाँबाट निस्किने ब्याक्टेरिया र जीवाणुहरू सीधै जमिनमुनिको पानी वा पिउने पानीको मुहानमा मिसिन पुग्छन्। यस्तो अवस्थामा मानिसहरू बाध्य भएर त्यही दूषित पानी पिउन, खाना पकाउन र सरसफाइ गर्न प्रयोग गरिरहेका हुन्छन्।

यसबाट रोगको जोखिम उच्च हुन्छ। दूषित पानीको प्रयोगले सबैभन्दा छिटो फैलने रोग झाडापखाला र हैजा हो। भिब्रियो कोलेरी नामक ब्याक्टेरियाबाट लाग्ने हैजाले छोटो समयमै महामारीको रूप लिन सक्छ। समयमै उपचार र जीवनजल नपाएमा यसले केही घण्टाभित्रै बिरामीको ज्यान लिन सक्छ।

अहिले अस्थायी शिविरहरूमा कोचिएर बसिरहेका बालबालिका र वृद्धवृद्धाहरू यसको सबैभन्दा ठूलो जोखिममा छन्। ढल र दिसापिसाब मिसिएको पानी उपभोग गर्दा साल्मोनेला ब्याक्टेरियाको सङ्क्रमण भई टाइफाइड ज्वरो फैलिने उच्च सम्भावना रहन्छ। त्यस्तै, आउँ (रगतमासी) ले पनि बाढी प्रभावित क्षेत्रमा नराम्रोसँग गाजेको इतिहास हामीसँग छ।

हिलो र फोहोर पानीको निरन्तर सम्पर्कमा रहँदा मानिसहरूमा दाद, लुतो, घाउखटिरा जस्ता छालाका रोगहरू र कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) तीव्र रूपमा फैलिन सक्छ। बाढीको पानी घटेपछि जताततै खाल्डाखुल्डीमा पानी जमेर बस्छ। यो जमेको पानी लामखुट्टे हुर्कने सबैभन्दा उपयुक्त स्थान हो।

यस्तो अवस्थामा डेंगु, औलो र इन्सेफ्लाइटिस जस्ता रोगहरू फैलाउने लामखुट्टेको वृद्धि अकल्पनीय रूपमा हुन्छ। मरेका जनावरका कारण झिँगाको प्रकोप बढ्छ, जसले फोहोरबाट कीटाणु उडाएर मानिसको खानासम्म पु¥याउने काम गर्छ।

बाढीपछि विस्थापित भएका सयौँ परिवारहरू यतिबेला विद्यालय भवन, सामुदायिक भवन वा त्रिपालमुनि आश्रय लिइरहेका छन्। यस्ता शिविरहरूमा न त पर्याप्त शौचालयको व्यवस्था हुन्छ, न शुद्ध खानेपानीको। एउटै सानो ठाउँमा धेरै मानिस कोचाकोच गरेर बस्दा श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिने डर पनि उत्तिकै हुन्छ।

यसको सबैभन्दा ठूलो मारमा गर्भवती महिला, सुत्केरी, नवजात शिशु, बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाहरू पर्न सक्छन् । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले महामारीले सबैभन्दा पहिले उनीहरूलाई नै सिकार बनाउँछ। पौष्टिक आहारको अभाव, चिसो भुइँको बसाइ र मानसिक आघातले उनीहरूको स्वास्थ्य अवस्था झनै नाजुक बनाइदिएको छ।

बाढीले पु¥याएको क्षतिलाई हामी फर्काउन सक्दैनौँ, तर बाढीपछि आउन सक्ने महामारीलाई भने प्रभावकारी कदम चालेर पक्कै रोक्न सक्छौँ। यसका लागि तीन तहका सरकार (स्थानीय, प्रादेशिक र सङ्घीय) मात्र होइन गैरसरकारी संस्था र नागरिक समाजले युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता छ।

सबैभन्दा पहिलो र महत्त्वपूर्ण काम भनेको भग्नावशेष र नदी किनारमा कुहिन थालेका मृत जनावरहरूको सुरक्षित विसर्जन हो। यस्ता शवहरूलाई सिधै पानीको मुहान नजिक वा खुला रूपमा छाड्नु हुँदैन। गहिरो खाडल खनेर, त्यसमा ब्लिचिङ पाउडर वा चुन छर्केर शवहरूलाई सुरक्षित रूपमा गाड्ने व्यवस्था स्थानीय सरकारले तत्काल मिलाउनुपर्छ।

यसका लागि नेपाली सेना वा सशस्त्र प्रहरी बलको जनशक्ति परिचालन गर्न सकिन्छ। महामारीबाट बच्ने सबैभन्दा ठूलो हतियार शुद्ध पानी हो। प्रभावित क्षेत्रमा तत्काल ट्याङ्करमार्फत वा जारको शुद्ध पानी वितरण गरिनुपर्छ। साथै, स्थानीय बासिन्दालाई पानी शुद्धीकरण गर्ने पियुस, क्लोरिन झोल, वाटर प्युरिफिकेसन ट्याब्लेट पर्याप्त मात्रामा वितरण गरिनुपर्छ।

पानी उमालेर मात्र पिउने जनचेतना जगाउन माइकिङ गर्ने र स्वयंसेवक परिचालन गर्ने काम तत्काल सुरु हुनुपर्छ। शिविर र प्रभावित गाउँहरूमा २४ घण्टा सेवा दिने गरी अस्थायी स्वास्थ्य शिविर खडा गर्नुपर्छ। ती शिविरहरूमा जीवनजल, झाडापखाला, टाइफाइड, एन्टिबायोटिक, सिटामोल, मलमपट्टि र सर्पदंशको औषधि पर्याप्त मात्रामा राखिनुपर्छ।

महामारी फैलिनुअघि नै रोगको निगरानीका लागि सक्रिय बन्नु आवश्यक छ। खुला दिसामुक्त घोषणा गरिएका गाउँहरू बाढीसँगै शौचालयविहीन बनेका छन्। मानिसहरू पुनः खुला शौच गर्न बाध्य छन्, जसले महामारीलाई रातो कार्पेट बिछ्याउने काम गर्छ। त्यसैले, शिविर र बस्तीहरू नजिक तत्काल अस्थायी र खाल्डे शौचालय निर्माण गरिनुपर्छ। साबुनपानीले हात धुने व्यवस्था अनिवार्य गरिनुपर्छ।

बाढीको पानी जमेका खाल्डाहरू पुर्ने वा त्यहाँ कीटनाशक औषधि छर्किने काम तत्काल गर्नुपर्छ। विस्थापितहरूलाई सुत्नका लागि झुलको व्यवस्था गरिनुपर्छ। विपद् आफैँमा एउटा क्रूर यथार्थ हो। भोटेकोशी र त्रिशूलीको बाढीले हामीलाई दिएको घाउ गहिरो छ।

प्रकृतिले एक झट्कामा जीवन र सम्पत्ति खोसेर लग्यो, त्यसमा सायद हाम्रो नियन्त्रण थिएन। तर, अब दूषित पानी, कुहिएका शव र फोहोरका कारण फैलिने हैजा, टाइफाइड र डेंगु जस्ता महामारीबाट मानिसको ज्यान गयो भने, त्यो प्रकृतिको दोष हुनेछैन; त्यो सिधै राज्यको चरम लापरबाही र हाम्रो व्यवस्थापकीय अक्षमताको परिणाम हुनेछ।

राहत, उद्धार र खोजीसँगै अबको सबैभन्दा ठूलो आवश्यकता भनेको जनस्वास्थ्यलाई केन्द्रमा राखेर युद्धस्तरमा सरसफाइ, सुरक्षित पानी र औषधोपचारको प्रबन्ध मिलाउनु पनि हो। बाढीको भेलले बगाएका आँसु नसुक्दै महामारीले अर्को चिता बाल्ने अवस्था सिर्जना हुन नदिन सरकार, नागरिक समाज र स्वास्थ्यकर्मीहरू आजै, अहिल्यैदेखि सचेत र सक्रिय हुनुपर्छ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै विपद् व्यवस्थापनको सबैभन्दा ठूलो सफलता हो। त्रिशूली र भोटेकोशीका बगरहरूमा अब थप लासहरू उठ्न नदिन, महामारीको कालो बादललाई बेलैमा हटाउनै पर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top