२१ भदौ , काठमाण्डौ ।
होर्मुज जलमार्ग र ओमानको खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड थप तीव्र बनेको छ । यसबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले ‘अनधिकृत’ जलमार्ग प्रयोग गरेको आरोपमा तीन तेल ट्यांकरसहित तीन अमेरिकी सैन्य तथा व्यापारिक पोतमाथि आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले पनि अमेरिकी युद्धपोतमाथि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाहीस्वरूप उसका तीन कच्चा तेल ट्यांकरमाथि आक्रमण गरिएको जनाएको छ । तीमध्ये एउटा ट्यांकर ओमानको खाडीमा पूर्ण रूपमा डुबेको दाबी गरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै ‘एम÷टी काइलो’ नामक इरानी कच्चा तेल ट्यांकर ओमानको खाडीमा आगोको लप्कासहित डुबेको जनाएको छ । सेन्ट्रल कमान्डका कमान्डर एड्मिरल ब्राड कुपरले भनेका छन्, “यदि, आईआरजीसीले हाम्रा दुई पोतमाथि प्रहार गर्छ भने हामी उनीहरूका तीन ट्यांकर ध्वस्त पारेर उच्च आर्थिक मूल्य चुकाउन बाध्य पार्नेछौँ ।”
एम÷टी काइलो बाहेक ‘एम÷टी डाउनी’ र ‘एम÷टी स्टार्क १’ नामका अरू दुई इरानी तेल ट्यांकरमाथि पनि अमेरिकी ड्रोन तथा लडाकु विमानले आक्रमण गरेको जनाइएको छ । ती दुवै ट्यांकरलाई निष्क्रिय पारिएको छ । आईआरजीसीले होर्मुज जलमार्गको आफ्नो ‘सुरक्षित क्षेत्र’मा प्रवेश गर्न खोजेको अमेरिकी रिमोट–अपरेटेड ड्रोन बोटमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ ।
आईरजीसीले रणनीतिक जलमार्ग पूर्णरूपमा इरानको नियन्त्रणमा रहेको भन्दै अमेरिकालाई यो क्षेत्रबाट बाहिरिन चेतावनी दिएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानलाई कडा चेतावनी दिएका छन् । अमेरिकी नौसेनाका जहाजमाथि आक्रमण जारी राखे इरानका बाँकी तेल ट्यांकरलाई समेत निसाना बनाइने उनले बताएका छन् ।
इरानको परराष्ट्र मन्त्रालयले आफ्ना तेल ट्यांकरमाथि गरिएको अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई ‘युद्ध अपराध’को संज्ञा दिएको छ । मन्त्रालयले उक्त कारबाही आर्थिक युद्धलाई तीव्र बनाउने उद्देश्यले गरिएको आरोप लगाएको छ । खार्ग टापु नजिकै इरानी तेल बोकेको ट्यांकरमा अमेरिकाले चार क्षेप्यास्त्र प्रहार गरेपछि ठूलो विस्फोटको आवाज सुनिएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत तथा अत्यधिक सुरक्षित ‘पिकएक्स माउन्टेन’ आणविक अखडामा चाँडै भीषण हमला गर्न सक्ने चेतावनी दिएका छन् । शुक्रबार उनले अमेरिकी गुप्तचर निकायले उक्त क्षेत्रका गतिविधिमाथि निगरानी गरिरहेको र शंकास्पद गतिविधि देखिए तत्काल आक्रमण गरिने बताएका थिए ।
पिकएक्स माउन्टेन इरानको नतान्ज युरेनियम प्रशोधन केन्द्रनजिकै रहेको र जमिनमुनि अत्यधिक सुरक्षित संरचनामा बनाइएको बताइन्छ । त्यहाँ दुई ठूला सुरुङ प्रणाली रहेको जनाइएको छ । ‘द वाल स्ट्रिट जर्नल’का अनुसार इजरायली गुप्तचर अधिकारीहरूले इरानले हजारौँ सेन्ट्रीफ्युज यस गहिरो भूमिगत संरचनामा सारेको विश्वास गर्छन् ।
अत्यधिक गहिराइमा रहेको संरचनामाथि सामान्य हवाई आक्रमण प्रभावकारी नहुने भएकाले यहाँ अमेरिकी हमला भए इरानको आणविक पूर्वाधारविरुद्धको सैन्य कारबाही थप गम्भीर बन्न सक्ने बताइएको छ । यता खार्ग टापु होर्मुज जलमार्ग नजिकै रहेको इरानको प्रमुख तेल निर्यात केन्द्र हो ।
इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत खार्ग टापुबाट हुने बताइन्छ । त्यसैले यहाँको आपूर्ति अवरुद्ध हुँदा इरानी अर्थतन्त्रमा प्रत्यक्ष ठूलो असर पर्न सक्ने बताइएको छ । यसैबीच ट्रम्पले अमेरिकी सेनाले इरानको अत्याधुनिक राडार प्रणाली दुईपटक पूर्ण रूपमा नष्ट गरेको दाबी गरेका छन्।
उनका अनुसार केही दिनसम्म गोलाबारी रोकिएपछि इरानले नयाँ राडार जडान गरेको थियो, जसलाई अमेरिकाले पुनः ध्वस्त पारेको हो । लगातारका आक्रमणपछि इरानले नयाँ राडार राख्नसमेत हिचकिचाइरहेको उनको दाबी छ ।
इरानले भने अमेरिकी आक्रमणको कडा निन्दा गर्दै अमेरिकाले आफ्नो सार्वभौमसत्ता उल्लङ्घन गरी विभिन्न प्रान्तका गैरसैनिक पूर्वाधार तथा नागरिक क्षेत्रमा प्रहार गरेको आरोप लगाएको छ ।
इरानी परराष्ट्र मन्त्रालयले आफ्ना सशस्त्र बलले अमेरिकी आक्रामकताविरुद्ध रक्षात्मक जवाफी कारबाही गरिरहेको जनाएको छ ।यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन् । उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नेतान्याहूले कतारले इजरायलको नीतिको दिशा निर्धारण गर्न नसक्ने बताए ।“मैले कतारमाथि आक्रमण गरेँ, युद्धका क्रममा उनीहरूमाथि बमबारी पनि गरेँ र उनीहरूले ममाथि पनि प्रहार गरे,” नेतान्याहुले अन्तर्वार्तामा भनेका छन् ।
यो अभिव्यक्ति सन् २०२५ सेप्टेम्बर ९ मा दोहामा इजरायलले गरेको हवाई आक्रमणको पहिलो वार्षिकीको पूर्वसन्ध्यामा आएको हो । अमेरिकाको मध्यस्थतामा अघि बढिरहेको गाजा युद्धविराम प्रस्तावबारे छलफल गर्न दोहामा भेला भएका हमासका पाँच प्रतिनिधि र एक कतारी सुरक्षा अधिकारी उक्त आक्रमणमा मारिएका थिए ।
इजरायलभित्रै कतारमार्फत गाजामा पठाइएको आर्थिक सहायतालाई हमासले अक्टोबर ७ को आक्रमणको तयारीमा प्रयोग गरेको आरोप लाग्दै आएको छ । तर, नेतान्याहूले उक्त आरोप अस्वीकार गर्दै कतारबाट गाजामा पठाइएको रकम मानवीय सहायता र प्रशासनिक कार्यका लागि मात्र प्रयोग भएको दाबी दोहो¥याएका छन् ।
सन् २०१२ देखि अमेरिकी आग्रहमा हमासको राजनीतिक कार्यालयलाई स्थान दिँदै आएको कतारले सन् २०२५ को दोहा आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ताको घोर उल्लंघन’ भन्दै कडा निन्दा गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि उक्त आक्रमणको भत्र्सना गरेका थिए ।
सन् २०२५ सेप्टेम्बरको अन्त्यमा ह्वाइट हाउसमा आयोजित बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहूले कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई फोन गरेका थिए । उनीहरूले कतारी सार्वभौमसत्ताको उल्लंघन भएको तथा कतारी सुरक्षाकर्मीको मृत्यु भएकोप्रति औपचारिक दुःख व्यक्त गर्दै भविष्यमा त्यस्ता आक्रमण नदोहो¥याउने प्रतिबद्धता जनाएको बताइएको छ ।
नेतान्याहूको पछिल्लो आक्रामक अभिव्यक्तिले कतारसँगको इजरायलको विवाद र मध्यपूर्वको संवेदनशील कूटनीतिक सन्तुलनलाई पुनः चर्चामा ल्याएको छ ।




