२१ भदौ , काठमाण्डौ ।
भदौ १० मा रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या १ हजार ३ सय ४१ पुगेको छ । नेपाल प्रहरीले आज भदौ २१ गते बिहान ७ः४० बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ३ सय ४१ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो । अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन् ।
यता चितवनस्थित त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम जारी छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो। यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो ।
भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।
यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन्। भदौ २० गते छ जनाको नमूना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।
यसबीच बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब एक हजार ९६७ जना, नुवाकोटबाट करिब दुई हजार ३४० जना, ५८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १०० जना रहेका छन् ।
बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार १६२, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ ।
यस्तै, हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म पाँच हजार ९२९ जनाको उपचार गरिएको प्रवक्ता महतले बताए । विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट तीन हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् ।
बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा तीन हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाइएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । यसैबीच गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङ खोलामा बाढी आउँदा ४ घर र एउटा पैदल पुलमा क्षति पुगेको छ ।
आज बिहान ३ः३० बजे आएको बाढीले स्थानीय नगु छिरिङ, वर्गीन लामा, लाक्पाभुटी लामा र दोर्जे घ्याल्जेनका कच्ची घर भत्काएको छ । बाढीले पैदल र घोडा हिँड्ने नार्बु हुँदै ल्हो जाने फलामको पुल बगाएको छ । लार्के प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगिसकेको र कुनै मानवीय क्षति नभएको गोरखा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
सडक सञ्जाल नपुगेको यहाँ सदरमुकामबाट २ दिनको पैदल यात्रापछि मात्र पुग्न सकिन्छ । उता अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको छ । घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विक लगायतका घरमा क्षति पुगेको हो।
पहिरोले केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । पहिरोमा परेर मोती उखेडाका दुईवटा गोरु मरेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पु¥याए पनि मानवीय क्षति भने भएको छैन।
पहिरो घरभित्रै पसेपछि भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू थप जोखिममा परेका छन् । अविरल वर्षाका कारण बाजुराका अन्य विभिन्न स्थानमा समेत बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका अन्य क्षेत्रमा कहाँ–कति क्षति भयो भन्नेबारे यकिन विवरण भने आउन बाँकी छ । वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ । यसबीच आज आइतबार पनि भोटेकोसी–त्रिशूलीसहित देशका विभिन्न नदीमा बाढी आउने र त्यसले जोखिम निम्त्याउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौँसहित ३६ जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा पनि बाढी उर्लिने सम्भावना छ । बुलेटिनमा भनिएको छ, ‘आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ।’
यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । अर्थात् थोरै नेपालतिर नजिक छ । यो रेखा जति नजिक भयो, उति वर्षाको सम्भावना बढ्छ ।
मौसम महाशाखाले आज आइतबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ ।
देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ।
देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका विभिन्न स्थानसँगै आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो वर्षा हुने सम्भावना छ । ‘त्यस्तै दिउँसो १२÷१ बजेपछि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भनेका छन् ।




