कुन सुरुङमा के भइरहेको छ ? सागर र श्रीराम चिलिमेमा पुगे,सुरुङमा खोजी जारी

२१ भदौ ८३, आइतबार
Share this
747shares

२१ भदौ , काठमाण्डौ ।

Advertisement

रसुवाको भोटेकोशी बाढीको १२औं दिन आज पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोजी तथा उद्धार कार्य जारी छ । नेपाली सेनाको नेतृत्वमा विदेशी विज्ञहरु समेत संलग्न उद्धार टोलीले रसुवागढी, त्रिशूली थ्री ए, त्रिशूली ३ बी, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउसमा खोजी गरिरहेको छ ।

नेपाली सेनाका अनुसार, उद्धार टोली रसुवागढी आयोजनाको पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ । त्यस्तै, त्रिशूली ३ ए को पावरहाउस तथा सुरुङमा नेपाली सेनाको उद्धार टोलीले खोजी गरिरहेको छ भने त्रिशूली ३ बी को सुरुङमा एक्स्काभेटर जान सक्ने गरी बाटो सफा गरिएको छ ।

Advertisement

चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोली परिचालित छ । उद्धार टोलीले मिनी एक्स्काभेटर र मड पम्पबाट लेदो फाल्दै पावर हाउसको करिव ५० मिटर नजिक पुगेको छ । माथिल्लो त्रिशूली १ मा थर्मल क्यामेराबाट सुरुङभित्र खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।

भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको हो। त्रिशूली ३ ’ए’ मा फसिरहेका दुई जनालाई उद्धार गर्न सफल भएपछि फर्किएका न्यौपाने चिलिमे जाँदै छन्।

Advertisement

उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु’, न्यौपानेले फेसबुकमा लेखेका छन्।

यद्यपि अहिले न्यौपाने चिलिमे पुगिसकेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि चिलिमेबाट ६ जना नै सम्पर्कविहीन छन्। साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको इप्पानले जनाएको छ।

यस्तै त्रिशूली ३ ए कै उद्धारमा खटिएका प्रतिनिधिसभा सदस्य इन्जिनियर सागर ढकाल पनि चिलिमे पुगेका छन् । उनले त्रिशूली ३ ए को सामान ल्याएर चिलिमेमा बाटो बनाउन ब्लास्ट गर्न सुझाएका छन् । उनले सामाजिक संजालमा भनेका छन्, श्रीराम सर र म भर्खर चिलिमे पुग्यौँ, तत्काल ३ ए मा बाँकी रहेको सामान प्रयोग गरेर ब्लास्ट गरी बाटो खोल्न अल्झिन नपर्ने कुरा आर्मीलाई भनिसकेका छौँ। यति मात्र खोल्यो भने रेस्क्यु काम धेरै नै सजिलो हुन्छ। ५–६ जना अझै जोगाउन सक्ने संभावना ठुलो छ। अरु सहजका कार्य सोच्दै छौँ।

यसअघि सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेलाई उनीहरूको उपस्थितिका कारण उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाले निर्देशन दिएको थियो । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो निर्देशन दिएका थिए ।

उनका अनुसार सांसद न्यौपाने सुरुङसम्बन्धी इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको पार्टीको बुझाइ छ। तर उनीहरूकै उपस्थितिका कारण उद्धार कार्य असहज भएको भए तत्काल फर्काउने निर्णय यसअघि नै सभापति रवि लामिछानेसहितको बैठकले गरेको पराजुलीले बताएका थिए ।

यो निर्णयपछि उनीहरु फर्किएपनि नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए । उनीहरुले आफूहरुका बारेमा सामाजिक संजालमा भ्रम फैलाइएको भन्दै गुनासो गरेका छन् । यसैबीच यही बाढीपछि नेपालमा जारी उद्धार तथा राहत कार्यमा सघाउन सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली पनि खटिएको छ।

सिंगापुरबाट आएको टोलीले हवाई निगरानी तथा विपद्‍मा मृत्यु भएकाहरूको पहिचानमा सघाइरहेको छ। डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) मा सिंगापुर प्रहरीको टोलीले नेपाली टोलीलाई सहयोग गरिरहेको छ। भदौ १७ गते नेपाल आएको टोलीमा औँठाछाप (फिंगरप्रिन्ट) संकलन तथा फोटोग्राफीमा प्रशिक्षित प्रहरी अधिकारीसहित होम टिम साइन्स एन्ड टेक्नोलोजी एजेन्सीअन्तर्गतको इन्टिग्रेटेड फोरेन्सिक सर्भिसका औँठाछाप परीक्षण विशेषज्ञ सामेल छन्।

सिंगापुर प्रहरी टोलीका कमान्डर असिस्टेन्ट कमिस्नर अफ पुलिस प्याट्रिक टानले हाल टोलीले घटनास्थलको अवस्था बुझ्ने काम गरिरहेको बताएका छन्। ‘अहिले हाम्रो मुख्य ध्यान विपद्मा मृत्यु भएकाहरूको पहिचान गर्नु हो। साथै खोज तथा उद्धारमा सहयोग पुग्ने गरी नेपाल प्रहरीलाई ड्रोन सञ्चालनसम्बन्धी तालिम पनि दिइरहेका छौं,’ उनले भनेका छन्।

नेपालमा सिंगापुर प्रहरीको डीभीआई टोलीको नेतृत्व गरिरहेका असिस्टेन्ट कमिस्नर अफ पुलिस यूजिन वाङले टोलीको उद्देश्य सिंगापुरका नागरिकको मात्रै पहिचान गर्नु नभई सबै पीडितको पहिचानमा सहयोग गर्नु रहेको बताएका छन्। ‘हामीले सिंगापुरका नागरिकलाई मात्रै लक्षित गरेर काम गर्नै सक्दैनौँ। पीडितहरू विभिन्न देशका छन्। त्यसैले यो धेरै देशको सहकार्यमा हुने प्रयास हो। पीडितको पहिचानमा सामूहिक रूपमा सहयोग गरेर परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे जानकारी र राहत दिन हामी नेपाल आएका हौँ,’ उनले भनेका छन् ।

बाढीमा परी नौ जना सिंगापुरियन नागरिक सम्पर्कविहीन छन्। बाढीबाट हालसम्म कम्तीमा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको र ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्। सिंगापुर प्रहरीको टोलीमा हेल्थ साइन्सेस अथोरिटीका फोरेन्सिक प्याथोलोजिस्ट र फोरेन्सिक प्राविधिक अधिकारीसमेत छन्।

उनीहरूले शवको पोस्टमार्टम, विवरण अभिलेखीकरण तथा फोरेन्सिक पहिचानका लागि नमुना संकलनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरूले कुहिएका, टुक्राटुक्रा भएका वा बाढीले निकै पर पु¥याएका शव हेरेर मात्रै पहिचान गर्न कठिन हुने भएकाले फोरेन्सिक क्षमता महत्वपूर्ण हुने भन्दै सिंगापुर टोलीले नेपाललाई सघाइरहेको छ।

काठमाडौंका विभिन्न अस्पतालमा राखिएका शवबाट सिंगापुरको डीभीआई टोलीले नेपाली प्रहरी, फोरेन्सिक तथा स्वास्थ्य अधिकारीसँगको समन्वयमा औँठाछाप संकलन गरिरहेको छ। त्यस्तै, सिंगापुरमा रहेको प्रहरी टोलीले सम्पर्कविहीन व्यक्तिका परिवारबाट उनीहरू जीवित हुँदा गरिएका एक्स–रे, मेडिकल रेकर्डलगायतका विवरण तथा डीएनए नमुना संकलन गरिरहेको छ।

सिंगापुर प्रहरीले संकलन गरेको विवरण नेपाललाई उपलब्ध गराउनेछ। यसका साथै पहिचानका लागि नेपाली पक्षले त्यसलाई भिडाउनेछ। इन्टरपोलको डीभीआई प्रोटोकलअनुसार विपद् भएको देशले नै डीएनए मिलानको प्रक्रिया अघि बढाउने व्यवस्था छ।

सिंगापुरसँगै भारत, चीन, जापान, दक्षिण कोरिया र अस्ट्रेलियालगायतका देशले पनि नेपालमा सहयोग पठाएका छन्। उनीहरूले फोरेन्सिक पहिचान टोलीदेखि सुरुङ उद्धारका विज्ञ, द्रुत उद्धार टोली र लजिस्टिक व्यवस्थापनका जनशक्तिसम्म पठाएका छन्।

सिंगापुर सरकारले नेपालका लागि ५ लाख ६० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ। यसमा अत्यावश्यक औषधि, राहत सामग्री तथा बाढीपीडितका लागि आपत्कालीन सामग्री छन्। उक्त सहायता केही दिन भित्रै नेपाल आइपुग्ने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top