२१ भदौ , काठमाण्डौ ।
भदौ १० गतेको रसुवास्थित भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका ३० भन्दा बढी पुल बगेका छन् । त्यसक्रममा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल पनि बग्यो । सडक सम्पर्क टुटेसँगै नेपाली सेनाले यातायात पुनस्र्थापित गर्न तीव्र गतिमा ‘एक्रो ब्रिज’ निर्माणको काम अघि बढाएपछि अहिले ‘एक्रो ब्रिज’ को चर्चा एकाएक चुलिएको छ ।
सामाजिक सञ्जालमा ‘एक्रो ब्रिज’ सम्बन्धी चासो बढेसँगै धेरैलाई यो नयाँ वा नौलो प्रविधि हो कि भन्ने जिज्ञासा जागेको छ । तर, इन्जिनियरिङका दृष्टिकोणले यो कुनै जटिल वा बिल्कुलै नयाँ प्रविधि भने होइन । ‘एक्रो ब्रिज’ भनेको पनि मूलतः एक प्रकारको बेलिब्रिज नै हो । ‘एक्रो’ भन्ने अमेरिकी कम्पनीले निर्माण तथा उत्पादन गरेको मोड्युलर स्टिल ब्रिज भएकाले यसलाई ब्रान्डको नामबाट ‘एक्रो ब्रिज’ भनिएको हो ।

यो बेली ब्रिजकै आधुनिक र परिष्कृत रूप हो । यो बढी बलियो हुन्छ, यसले धेरै भार धान्न सक्छ र यसको आयु पनि लामो हुन्छ । नेपालमा एक्रो ब्रिजको प्रयोग पहिलो पटक भएको भने होइन । नेपाली सेना र सडक विभागले विगत लामो समयदेखि विपद्को समयमा द्रुत गतिमा अस्थायी वा अर्ध–स्थायी पुल निर्माण गर्न यसको प्रयोग गर्दै आएका छन् ।
बाढीपहिरोले पक्की पुल बगाएका स्थानमा द्रुत गतिमा यातायात सञ्चालन गर्न यो प्रविधि अत्यन्तै प्रभावकारी मानिन्छ । अब गल्छी–विदुर सडक खण्डमा पर्ने देवीघाटको यो तादी खोलामाथि जारी बेलिब्रिज जडानकार्य आउँदो करिब दुई दिनमा सकिने अपेक्षा गरिएको सडक विभागले जनाएको छ । त्यहाँ यसअघि रहेको ५५ मिटर लामो पुल बगाएपछि हाल नेपाली सेनाले आफूसँग रहेको बेलिब्रिज प्रयोग गर्दै सडक सञ्चालन गर्न लागेको हो ।
यसबीच तादीमा पुल बन्दै गरे पनि रास्वपा नेता हिमेश पन्तले निर्माण सम्पन्न भइसकेको भन्दै सामाजिक संजालमा एआई निर्मित फोटो राखेपछि भ्रम छरेको भन्दै आलोचना भइरहेको छ । रसुवा बाढीपछि तादी खोलाको पुल बगाएपछि अहिले एक्रोब्रिज निर्माणको काम भइरहेको छ । तर, कमेडियनसमेत रहेका पन्तले पुल निर्माण भइसकेको भन्दै एआईबाट निर्मित फोटो सामाजिक सञ्जालमा हालेका हुन् ।
‘रातभर नसुती, दिनरात नभनी विपत्पछि सडक सम्पर्क पुनःस्थापनामा खटिनुभएका नेपाली सेना, सडक विभाग, प्राविधिक तथा श्रमिक टोलीप्रति उच्च सम्मान १ देवीघाटमा बेली ब्रिज निर्माणको तीव्र प्रयास प्रशंसनीय छ,’ पन्तले लेखेका छन्, ‘यस्तै तत्परता, तीव्रता र परिणाममुखी काममै हामीले खोजेको फास्ट डेभलपमेन्टको झल्को देखिन्छ ।
देश विकासमा पनि यस्तै गति, इच्छाशक्ति र कार्यसम्पादन निरन्तर रहोस् ।’ तर, नुवाकोटको सदरमुकामलाई काठमाडौंसँग जोड्ने तादी खोलाको पुल निर्माणधीन छ । नेपाली सेनासहितको प्राविधिक टिम पुल निर्माणमा संलग्न भइरहेको हो । पन्तले मात्रै नभई रास्वपाका अन्य नेतादेखि कार्यकर्ताले पनि पुल निर्माण भइसकेको भन्दै एआईबाट सिर्जना गरिएको त्यही तस्वीर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।
गृहमन्त्री सुधन गुरूङले पनि सोही फोटो सेयर गरेका थिए । यद्यपि उनले त्यो फोटो हटाइसकेका छन् । उनले पुल अन्तिम चरणमा पुगेको बताएका छन् । पुल निर्माणका लागि नेपाली सेनाले भने धमाधम काम गरिरहेको छ । यता सडक विभागसँग ५० मिटर लम्बाइका पुल मात्र रहेकाले उसको डिजाइन प्रयोग गर्दै सेनाले जडानको काम गरिरहेको बताइएको छ।
सेनासँग ७६ मिटरका बेलिब्रिज छन् । अधिकारीहरूले अबको आफ्नो मुख्य प्राथमिकता भनेको सक्दो छिटो रसुवालाई राष्ट्रिय राजमार्गबाट जोड्ने एवं बाटो भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने रहेको बताएका छन् । सरकारले रसुवा बाढीबाट ४१ वटा मोटर चल्ने पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर लम्बाइको सडक क्षतिग्रस्त भएको जनाएको छ ।
१० भदौमा आएको रसुवा बाढीपछि रसुवा मुख्य सडक सञ्जालबाट टुटेको छ । “हाम्रो प्राथमिकता सक्दो छिटो ब्रेत्रावतीसम्म बाटो खुलाउँदै रसुवाको धुन्चेलाई राष्ट्रिय राजमार्गसँग जोड्ने छ,“ विभागका प्रवक्ता इञ्जिनियर शुभराज न्यौपानेले भने ।
उनले अगाडि भने, “बेत्रावतीमा यसअघि सडक भएको करिब ५०० भागमा खोला नै बगेकाले पहिलो काम त्यसलाई फर्काउनुपर्ने देखिएको छ । बेत्रावती बजारमै समेत ३–४ मिटरसम्म थुप्रिएको ढुङ्गा–माटो हटाउनुपर्ने चुनौती छ।“ बेत्रावतीमा बेलिब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकेको भए पनि पुलअघि सडकको पुर्ननिर्माण चुनौतीको रूपमा देखिएको हो । सामान्यतः दुईदेखि तीन साताभित्र बेलिब्रिज जडान सम्भव हुने अधिकारीहरू बताउँछन् । “तर त्यसअघि ट्र्याक खोल्न सकियो भने कहिलेकाहीँ खोलामा पाइपहरू राखेर गाडी गुडाइहाल्न सकिने विकल्प पनि हुन सक्छन्,“ न्यौपाने भन्छन् ।
यता धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि सडक विभागले दीर्घकालीन योजना अघि सारेको छ । विभागका महानिर्देशक डा। विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिए ।
महानिर्देशक डा। जैसीका अनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको उनले बताए । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरार ९क्र्याक० हरू देखिएको छ । ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको उनले जानकारी दिए ।
विश्व बैंकको ठेक्का अन्तर्गतका निर्माण व्यवसायी र उपकरणहरू परिचालन गरिएको छ उनले जानकारी दिए । ‘रात्रिकालीन समयमा पनि फ्लड लाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै काम भइरहेको छ,’ उनले भने, ‘प्राविधिक जटिलताका कारण ठ्याक्कै मिति तोक्न कठिन भए पनि उच्च प्राथमिकताका साथ सडक सञ्चालन गर्ने हाम्रो प्रयास जारी छ ।’
कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनका अनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग ९टनेल० निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुई वटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ ।
‘यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौँ,’ उनले भने । त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति भएका करिब २९ वटा पुलहरूको मर्मत सम्भार र पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको छ ।
धादिङको फुर्केखोला पुलको विषयमा जानकारी दिँदै उनले भने, ‘त्यहाँको ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलीब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ । चीनबाट आएको १०० मिटरको पुल त्यहाँ जडान गर्न सकिएमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ ।’
सडक विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उल्लेख गर्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काइने प्रतिबद्धता व्यक्त गरे । देशभरका करिब १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्न चुनौती भए पनि स्रोत र साधनले भ्याएसम्म विभाग २४ सै घण्टा खटिएको डा। जैसीले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले पनि कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ । सडक विभागले जनसाधारणलाई धैर्य गर्न अनुरोध गर्दै सुरक्षित सडक सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
यता धादिङबेसी जोडिने फुर्केखोलामा सहायतामा चीनबाट आउन लागेको बेलिब्रिजको प्रतीक्षा भइरहेको छ । उक्त स्थानमा नेपालमा हाल उपलब्ध कुनै पनि बेलिब्रिजहरू उपयोगी हुने नदेखिएपछि सडक विभागका अधिकारीहरूले कम्तीमा ८० मिटर लम्बाइको बेलिब्रिज “कतैबाट खोज्ने“ वा स्टीलको पुलको समेत विकल्प सोचिराखिएको बताएका थिए ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले गत शुक्रवार चीनले नेपालतर्फ पठाएका सहायता सामग्रीमा दुई बेलिब्रिजहरू १०० मिटर लम्बाइको रहेको पुष्टि गरेका छन् । चीनबाट आउने बेलिब्रिजहरू कोरला नाका हुँदै आउने बताइएको छ।
“ती नेपालसँग हाल छोटा बेलिब्रिजहरू मात्र रहेको अवस्था र तत्कालको आवश्यकता हेरेर १०० मिटर लम्बाइका डबल लेन बेलिब्रिजहरू सहायता स्वरूप दिइएका हुन्,“ निरौलाले भने । “हामीले विभिन्न लम्बाइका ३० वटा बेलिब्रिज सहायता स्वरूपमा मागेकामा वहाँहरूले यस क्रमलाई निरन्तरता दिइने बताउनु भएको छ“ उनले भने ।
अधिकारीहरूले आंशिक रूपमा असर पुगेका पुलहरू समेत केही रहेको बताउँदै त्यसमा बेलिब्रिज जोडेर सञ्चालन गर्नका लागि समेत अध्ययन गर्ने लागिएको बताएका छन् ।




