५ कार्तिक , काठमाण्डौ ।
दसैँको टीकाको दोस्रो दिन आज पनि टाढा–टाढा रहेका आफन्त तथा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी।
देवीको प्रसाद भएकाले विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका लगाउने शास्त्रीय र सामाजिक परम्परा ।

बडादसैँअन्तर्गत विजयादशमीको मुख्य दिन हिजो मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका नेपालीले आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका थापिरहेका छन्।
धार्मिक तथा सामाजिक परम्पराअनुसार विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने गरिन्छ।

दसैँघर वा पूजाकोठामा नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि टीका लगाउने परम्परा सुरु हुन्छ।
घटस्थापनामा स्थापना गरिएको घडाको जलबाट वैदिक विधिअनुसार अभिषेक गरी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने धार्मिक चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन आफन्तकहाँ पुगेर टीका लगाउन छुटेका व्यक्तिले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्ने ।
दसैँमा परिवारका सदस्य, आफन्त र इष्टमित्र भेला भएर टीका, जमरा तथा आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ।
त्यसैले विजयादशमी सकिए पनि नेपाली समाजमा दसैँको उल्लास र टीका ग्रहण गर्ने क्रम अझै केही दिन पूर्णिमासम्म जारी रहने गर्दछ ।



