करुणा र भाइचारा बढोस्, देश समृद्धि र सुशासनतर्फ लम्कियोस्

४ कात्तिक २०८३, बुधबार
Share this
764shares

४ कात्तिक, काठमाडौं । बडा दशैं २०८३ को उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ।
माता भवानीको कृपाले सबैको मनमा खुसी, तनमा स्फूर्ति, सकारात्मक सोच र सृजनशीलता बनिरहोस् कामना गर्दछौं । नेपाली जन र नेपाली भूमिमा करुणा र भाइचारा विस्तार होस्, देश समृद्धि र सुशासनतर्फ लम्कियोस् । राष्ट्रका सेवक, शासकले जनहितलाई केन्द्रमा राखुन् । अमन चयन कायम रहोस्, देवी दुर्गासँग प्रार्थना गर्दछौं । यो दशैं कसैका लागि उत्सव कसैका लागि दशा नबनोस् । आफ्नो गच्छेअनुसार पर्व मनाउन पाइयोस् ।

Advertisement

हुन त यसपटकको दशैँ भारी पीडाका बीच आएको छ । देश अहिले पनि भदौ १० को रसुवा बाढी र त्यसपछि आएका नुवाकोट र गोरखाका बाढीले पुर्याएको क्षतिको सामना गर्दै त्यसबाट तंग्रिने प्रयास गर्दैछ । अझै पनि बाढी प्रभावित हाम्रा सयौं दाजुभाइ, दिदीबहिनीहरू अस्थायी आश्रयस्थलमा हुनुहुन्छ । जसको हिजोसम्म भरिपूर्ण परिवार, घरखेत, व्यवसाय, सम्पत्ति सबै थियो । जुन बाढीले बगाएर अहिले रित्तो बनाइदिएको छ । एकातिर पहिचान हुन नसकेका सयौं शवहरु जमिनमुनि व्यवस्थापन गर्नुपरेको छ । भने अर्कातिर बेपत्ताहरूको सङ्ख्या ठूलो छ । यो क्षति न हामी कल्पना गर्न सक्छौं न त परिपूर्ण हुन सक्छ । एउटा ठूलो संख्याले दशैँ मनाउनु भएको छैन । बरु शोकमा हुनुहुन्छ । पीडामा हुनुहुन्छ । उहाँहरूलाई त्यो पीडा सहन गर्ने शक्ति नवदुर्गाले दिउन, प्रार्थना छ ।

साथै राज्यले, हामी सबैले अझै केही समय जुटेर पीडामा रहेकाहरुलाई मलम लगाउनु पर्नेछ । अर्कातिर भूमिहीन सुकुम्बासीहरू पनि जो अझैसम्म घरबारविहिन वा आश्रयस्थल, होल्डिंग सेन्टरमा हुनुहुन्छ । हामीले दशैं मनाइरहँदा उहाँहरूको अवस्था, अभाव पीडालाई पनि बिर्सिनु हुँदैन । आखिर महलमा बसे पनि आश्रयस्थलमा बसे पनि हामी सबै नेपाली हौँ । दशैँ सबैको साझा महान चाड हो । अर्कातर्फ गत वर्षको जेएनजी आन्दोलनका सहिद परिवार, घाइतेहरू, आग्जनीमा जनधनको क्षति भोगेकाहरूलाई पनि यो दशैँले विगतको जस्तो उल्लास नल्याउला । समयले मलम त लगाउँदै होला तर भएको क्षतिपूर्ति गर्दैन । त्यसैले हामीले दशैं मनाउँदै गर्दा, टीका–जमरा लगाउँदै गर्दा, उहाँहरूको लागि पनि प्रार्थना गर्नुपर्नेछ ।

Advertisement

यतिबेला हामी जो घरपरिवारको साथमा छौं, टिकाको शुभसाईत पर्खिरहेका छौं । तर ती राष्ट्र सेवकहरु, जो प्रहरी–सेनामा छन् । जो अस्पताल–स्वास्थ्य संस्थाहरुमा बिरामीको हेरचाहमा खटिएका छन् । जो अत्यावश्यक सवारी हाँकिरहेका छन् । जो सडकमा ट्राफिक मिलाइरहेका छन् । जो समाचार सूचना सम्प्रेषण गरिरहेका छन् । उनीहरूका लागि साईत त जुरेन नै । यसपटक टिका नै जुर्ने हो कि होइन थाहा छैन । जसले अर्को वर्षलाई थाती राखेर राष्ट्र सेवामा छन्, हामीले आजको दिन उहाँहरू सबैलाई सम्झन र सम्मान गर्नैपर्छ । अनि परिवारबाट कतै टाढा परदेशी भूमिमा हुनुहुन्छ, जो यसपटक बुवाआमाबाट आशीर्वाद थाप्न, छोराछोरीलाई टीका लगाइदिन, जीवन साथीसँग दशैं मनाउन, इष्टमित्रसँग रमाइलो गर्न पाउनुभएन । कामका सिलसिलामा, अध्ययनका लागि वा अन्य प्रयोजनका लागि विदेशमा रहनुभएका सम्पूर्णमा दशैंको शुभकामना छ । धेरै धेरै सम्झना छ । आगामी वर्षहरुमा नेपालमै रहेर चाडपर्व मनाउने वातावरण सिर्जना होस्, कामना पनि छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गर्दै सत्यको शक्तिलाई पुज्ने गरिन्छ । आसुरी प्रवृत्तिमाथि वा आफैमा भएको नकारात्मकतामाथि विजय प्राप्त गर्ने, मन शुद्ध पार्ने अवसर पनि हो दशैं । यो दशैँ एउटा पर्व मात्र होइन, यो हाम्रो संस्कृति हो । पहिचान हो । यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो ।

Advertisement

त्यसैले जहाँ छौँ, जस्तो अवस्थामा छौँ, आफ्नो गच्छेअनुसार सकिन्छ भौतिकरुपमा मनाउ नत्र अहिले त सूचना प्रविधि सामाजिक सञ्जालको जमाना छ । भर्चुअली भएपनि भ्याएसम्म आफन्त, इष्टमित्रसँग जोडियौँ । आपसमा शुभकामना साटासाट गरौं । फेरि देश अझै शोककै घडीमा छ । यस्तोमा चाडपर्व मनाउँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाऔं । जो पीडामा हुनुहुन्छ, मर्कामा हुनुहुन्छ, असुविधामा हुनुहुन्छ, उहाँहरुलाई मा भवानीले यो अप्ठ्यारो समयसँग जुध्न, तंग्रिन र उज्यालो भविष्यतिर डोर्याउनु हुनेछ भन्ने पूनः एकपटक कामना र प्रार्थना गर्दछौं । तपाईंको दिन शुभ रहोस् । विजया दशमीको शुभकामना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top