३ कार्तिक , काठमाण्डौ ।
काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध तलेजु भवानीको मन्दिर बडादशैँको महानवमीका अवसरमा आज सर्वसाधारणका लागि खुला गरिएसँगै बिहानैदेखि हजारौँ भक्तजनको बाक्लो घुइँचो लागेको छ ।
वर्षभरि बन्द रहने यो मन्दिर परम्पराअनुसार वर्षको एक दिन मात्र सर्वसाधारणको दर्शनका लागि खुला गरिने भएकाले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालुहरू दर्शनका लागि पुगेका छन् ।


हनुमानढोका दरबार हेरचाह तथा संरक्षण कार्यालयकाअनुसार महानवमीका दिन तलेजु भवानीको विशेष पूजाआराधना गरिने र सर्वसाधारणलाई पूजा तथा दर्शनको अवसर दिइने परम्परा छ । बिहान ४ बजेदेखि नै मन्दिरको मूलढोका खोलिएपछि दर्शनार्थीहरू लामवद्ध भएर प्रतीक्षा गरिरहेका छन् ।


लाइन न्युरोड, मखन, र वसन्तपुर दरबार स्क्वायरसम्म पुगेको छ । मन्दिर व्यवस्थापन समिति र स्थानीय प्रशासनले भक्तजनको अत्यधिक चापलाई ध्यानमा राख्दै सुरक्षा प्रवन्ध चुस्त बनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सयौँको संख्यामा स्काउट तथा स्थानीय क्लबका स्वयंसेवकहरू लाइन व्यवस्थापनमा खटिएका छन् ।
ज्येष्ठ नागरिक, अशक्त तथा महिला दर्शनार्थीका लागि छुट्टै लामको व्यवस्था मिलाइएको छ ताकि उनीहरूले सहज र सुरक्षित ढंगले पूजाआजा गर्न सकून् । ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिने यो मन्दिर चौधौँ शताब्दीमा मल्लकालीन राजा हरिसिंहदेवले प्रतिष्ठापित गरेको र पछि महेन्द्र मल्लले हालको भव्य स्वरूप दिएको इतिहास छ ।

नेवार समुदायमा कुलदेवीको रूपमा पुजिने तलेजु भवानीको दर्शन गर्नाले वर्षभरि सुख, शान्ति, आरोग्य र पारिवारिक समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालदेखि नै राजपरिवारको इष्टदेवीका रूपमा तलेजु भवानीलाई पुज्ने चलन रहिआएको थियो ।
हनुमानढोका दरबार क्षेत्र विकास समितिकाअनुसार आज साँझसम्म कम्तीमा एक लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ । पूजा सामग्री, फूल–प्रसाद र धुपबत्तीको व्यवस्थापनका लागि मन्दिर परिसरवरपर विशेष सफाइ तथा सुरक्षा निगरानी बढाइएको छ ।

भीडभाडका कारण वसन्तपुर आसपासको सवारी आवागमन प्रभावित भएकाले ट्राफिक प्रहरीले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । तलेजु भवानी मन्दिर महानवमीको दिन एक दिन मात्र खुल्ने गर्छ ।
पहिलादेखि नै त्यस्तै चल्दै आएको, सुन्दै आएको हो । अरू बेला पूरै बन्द हुन्छ । महानवमीको दिन खोलेर मन्दिरमा दर्शन गर्न पाइन्छ । देवीको दर्शन गर्न, कुमारी वा जीवित देवीको पनि त्यो दिन यहाँ बास हुन्छ रे भन्ने धार्मिक विश्वास छ ।
उनै देवीको पूजाआजा गरिएको हो । हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, काठमाडौंको मल्लकालीन इतिहास र सांस्कृतिक परम्पराको महत्त्वपूर्ण धरोहर पनि हो ।

तलेजु भवानी काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक इतिहाससँग गहिरो रूपमा जोडिएकी देवी हुन् । विशेषगरी मल्लकालीन राजाहरूले तलेजुलाई आफ्नो आराध्यदेवीका रूपमा पुज्ने गरेको इतिहास पाइन्छ ।
त्यसबेला धर्म र शासनबीच घनिष्ठ सम्बन्ध थियो । राजकीय शक्ति, राज्यको कल्याण र विजयलाई देवीको आशीर्वादसँग जोडेर हेरिन्थ्यो । त्यसैले तलेजु मन्दिरलाई एउटा पूजास्थलका रूपमा मात्र बुझ्दा यसको ऐतिहासिक महत्त्वको पूर्ण चित्र देखिँदैन ।
यो मल्लकालीन शासकीय परम्परा, धार्मिक विश्वास र उपत्यकाको सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा पनि हो । नेपाल पर्यटन बोर्डको विवरणअनुसार राजा महेन्द्र मल्लले तलेजु मन्दिर सन् १५४९ मा निर्माण गराएका थिए ।

तर हनुमानढोका दरबार संग्रहालय र केही ऐतिहासिक अध्ययनमा यसको निर्माण वर्ष सन् १५६४ उल्लेख गरिएको पाइन्छ । मल्लकालीन वास्तुकला र धार्मिक आस्थाको प्रतिनिधित्व गर्ने यो मन्दिर आज पनि काठमाडौंको ऐतिहासिक पहिचानसँग जोडिएको छ ।
यसको बाहिरी बनावटले प्राचीन वैभव झल्काउँछ । तर यसको महत्त्व इँटा, काठ र कलात्मक छानामा मात्र सीमित छैन । यससँग जोडिएको पूजा विधि, धार्मिक मान्यता र पुस्तौँदेखि चल्दै आएको परम्पराले पनि यसको विशिष्टता निर्धारण गरेको छ ।

तलेजु मन्दिरबारे सबैभन्दा बढी चासो जगाउने विषय नै यसको खुल्ने परम्परा हो । वर्षभरि सर्वसाधारणका लागि बन्द रहने मन्दिर महानवमीका दिन खुला गरिन्छ । यही विशेषताले यसलाई अन्य धेरै मन्दिरभन्दा फरक बनाएको छ ।
महानवमी बडादशैंको महत्त्वपूर्ण दिन हो । यस दिन देवी दुर्गाको विशेष पूजा–आराधना गरिन्छ । तलेजु भवानीसँग पनि महानवमीको विशेष धार्मिक सम्बन्ध छ । वर्षभरि मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाउने सर्वसाधारणका लागि यस दिन देवीको प्रत्यक्ष दर्शन गर्ने अवसर प्राप्त हुन्छ ।
स्थानीयले सुनाउने धार्मिक विश्वासले यस परम्पराको सामाजिक र सांस्कृतिक पक्ष बुझ्न मद्दत गर्छ । तर जनविश्वास र ऐतिहासिक प्रमाणलाई छुट्टाछुट्टै केलाउनु पनि उत्तिकै आवश्यक छ । यहाँ एउटा महत्त्वपूर्ण पक्ष के छ भने, मन्दिर सर्वसाधारणका लागि बन्द रहनु र त्यहाँ पूजा नहुनु फरक कुरा हुन् ।
मन्दिरमा परम्पराअनुसार नित्यपूजा हुने गर्छ । सार्वजनिक दर्शन सीमित भए पनि धार्मिक गतिविधि आफ्नै विधि र परम्पराअनुसार सञ्चालन भइरहन्छन् ।



