जब प्रहरीले नै एक युवकलाई डोरीले बाँधेर १०७ पटक लाठी वर्षायो

Share this
729shares

२१ भदौ , काठमाण्डौ ।

Advertisement

प्रहरी समाजको रक्षक हो, कानून कार्यान्वयन गर्ने दायित्व प्रहरीकै काँधमा हुन्छ । यसैले त गम्भिर प्रकृतिका घटनाका आरोपीहरुलाई पनि प्रहरीले सुरक्षा पहरा दिँदै कानूनी प्रक्रिया अनुशार न्यायको कठघरमा उभ्याउँछ । जहाँ न्यायमूर्तिहरुले अपराधको अन्तिम फैसला दिन्छन् ।

सोही फैसला प्रहरीले कार्यान्वन गर्छ । प्रहरीले कहिल्यै, कानुन आफ्नो हातमा लिँदैन । सबैको मानवअधिकारको प्रहरीले रक्षा गर्छ । किनभने प्रहरीको शक्ति कानुनबाटै प्राप्त हुन्छ । प्रहरीका यस्ता धेरै विशेषहरु छन् । अपराध नियन्त्रणसँगै कानूनको शासन, निष्पक्षता र मानव मर्यादाको रक्षा गर्नु नै जिम्मेवार प्रहरीको पहिचान हो।

Advertisement

यसैले त संसार भरका मानिसहरुले प्रहरीमाथि नै भरोसा गर्दछन् । तर आज हामी एउटा यस्तो घटनाको भिडियोसम्बन्धी खबर लिएर उपस्थित भएका छौँ, जसले प्रहरीको भूमिका, अधिकार र जिम्मेवारीबारे धेरैलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ।

भारतको गुजरातको भावनगरमा अपराधस्थलमा घटनाको पुनर्निर्माण (रिक्रिएसन) गर्ने क्रममा प्रहरीले आरोपीलाई निर्ममतापूर्वक कुटपिट गरेको छ। भारतीय संचारमाध्यामहरुका अनुशार प्रहरीले आरोपी फैसललाई करिब १० मिनेटमा १०७ पटक लाठीले कुटेको बताइएको छ।

Advertisement

कुटपिटका केही भिडियोहरू पनि सामाजिक संजालमा सार्वजनिक भएका छन्। भिडियोमा केही प्रहरीले आरोपीलाई डोरीले बाँधेर प्रहरीको गाडीकै पछाडि लाठीले कुटिरहेको देखिन्छ। आरोपीलाई बस स्ट्यान्डभित्र एउटा पोलमा बाँधेर कुटिएको दृश्य पनि भिडियोमा देख्न सकिन्छ।

भिडियोमा फैसल भन्ने आरोपी पीडाले कराइरहेको देखिन्छ, तर पनि प्रहरीकर्मीहरूले उनलाई कुटिरहेको देखिन्छ। आरोपीका दुवै हात डोरीले बाँधिएका थिए। कुटपिटका क्रममा आरोपी भुइँमा लडेपछि पनि उनलाई कुटिएको देखिन्छ। प्रहरीको यस्तो कारबाहीलाई लिएर अहिले प्रश्नहरू उठिरहेका छन्।

कतिपक्षले प्रहरीको कदमको बचाउ गरेका छन् । भने कतिपयले प्रहरीले भरोसा गुमाएको टिप्पणी गरेका छन् । फैसल नामका एक व्यक्तिमाथि सेप्टेम्बर ३ मा भावनगरको एसटी बस स्ट्यान्डमा आफ्नी लिभ–इन पार्टनर युवतीको हत्या गरेको आरोप छ। प्रहरीले फैसललाई पक्राउ गरेपछि शनिबार घटनाको पुनर्निर्माणका लागि अपराधस्थलमा लगेको थियो।

यस क्रममा नीलाम्बुग प्रहरी थानाका प्रहरीकर्मीहरूले उनलाई डोरीले बाँधेर लाठीले कुटेको आरोप छ। प्रहरीले फैसललाई सार्वजनिक रूपमा समेत घुमाएको बताइएको छ। भावनगरको कुम्हारवाडामा बस्ने काजलबेन विगत आठ वर्षदेखि २० वर्षीय फैसल उर्फ खट्की रफिकभाइ लखानीसँग लिभ–इन सम्बन्धमा रहेको बताइएको छ।

फैसल बस स्ट्यान्डनजिकै फुटपाथमा बस्ने गर्थे। सेप्टेम्बर ३ को दिउँसो काजलबेन बस स्ट्यान्डनजिकै आफ्ना परिचित रविसँग कुरा गरिरहेकी थिइन्। त्यही बेला फैसल त्यहाँ पुगे र सम्बन्धको विषयलाई लिएर उनीहरूसँग विवाद गर्न थाले। रिसाएका फैसलले रवि र काजललाई मुक्का हानेका थिए, जसका कारण उनीहरू टायलमाथि लडे।

त्यसपछि उनले काजलबेनको कपाल समातेर उनको टाउको, घाँटी र अनुहार पटक–पटक टायलमा ठोक्काएको आरोप छ। काजल बेहोस भएपछि फैसलले उनलाई एम्बुलेन्समार्फत सर टी. अस्पताल लगेका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

गुजरातका पूर्व कार्यवाहक डीजीपी डा. के.एल.एन. रावले आफ्नो कार्यकालमा कडा लिखित निर्देशन जारी गरेका थिए। कुनै प्रहरीकर्मीले आरोपीलाई सार्वजनिक रूपमा घुमाएमा वा आरोपीसँग अपमानजनक व्यवहार गरेमा उनीहरूमाथि कारबाही हुन सक्ने उक्त निर्देशनमा उल्लेख गरिएको थियो।

फैसलमाथि गम्भीर अपराधको आरोप भए पनि कानुनले अनुसन्धान र सोधपुछका क्रममा आरोपीसँग कस्तो व्यवहार गर्ने भन्ने प्रक्रिया निर्धारण गरेको हुन्छ। प्रहरी हिरासतमा आरोपीलाई यसरी कथित रूपमा कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेका छन्।

अपराधको अनुसन्धान र आरोपीसँग सोधपुछ आवश्यक भए पनि त्यसका लागि कानुनले तोकेको प्रक्रिया पालना गर्नु अनिवार्य हुन्छ। त्यसैले सार्वजनिक रूपमा आरोपीलाई कथित रूपमा कुटपिट गरिएको घटनालाई लिएर जवाफदेहिता र निष्पक्ष छानबिनको माग समेत उठेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top