जेनजी सहिद दिवस कार्यक्रमले बबण्डरःअमेरिका र बेलायतले दिए श्रद्धाञ्जली

२४ भदौ ८३, बुधबार
Share this
795shares

२४ भदौ , काठमाण्डौ ।

Advertisement

आज भदौ २४ गते एक वर्षअघि भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा तत्कालीन राज्यपक्षबाट भएको दमनको आक्रोशमा आजकै दिन देशका धरोहर ध्वस्त बनेका थिए । आजकै दिन तत्कालीन राज्य सत्ताले नै जेनजीहरुसँग घुँडा टेक्नु परेको थियो । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले मंगलबार जेनजी सहिद दिवस मनाएको छ।

तर जेनजीहरुको स्मृतिमा उनीहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा नै जेनजीहरुको अपमान भएको भन्दै सत्तारुढ दलभित्रैबाट आलोचना भएको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन सांसदहरूले आफ्नै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।

Advertisement

भदौ १० को भोटेकोशी बाढीको पीडा र राहत कार्यमा देखिएको सुस्तताबिच सरकारको आलोचना भइरहँदा सत्तापक्षका सांसदहरूले नै सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि र आलोचना गरेका हुन् । सरकारका मन्त्रीहरू मंगलबार विभिन्न औपचारिक कार्यक्रममा व्यस्त रहँदा रास्वपाका महामन्त्री विपिन आचार्य, सचेतक क्रान्तिशिखा धिताल र सांसद अमरेश सिंहले सरकारको कडा आलोचना गरेका छन् ।

रास्वपा महामन्त्री विपिन आचार्यले फेसबुकमार्फत सरकारको कार्यशैलीप्रति सांकेतिक तर कडा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’ उनको यो स्टाटसले सत्ता गठबन्धन र सरकारबिचको बढ्दो दूरीलाई प्रस्ट पारेको बुझ्न सकिन्छ ।

Advertisement

त्यस्तै पार्टी सचेतक क्रान्तिशिखा धितालले मंगलबार नयाँ बानेश्वरमा आयोजित जेनजी आन्दोलन स्मृति कार्यक्रमको ढाँचाप्रति गम्भीर प्रश्न उठाएकी छन् । पुरानो संसद् भवन अगाडि भएको दीप प्रज्वलन कार्यक्रममा विवादास्पद धार्मिक पात्रहरू श्रीनिवास आचार्य (दिनेश पण्डित) र विष्णु प्रपन्नाचार्य (विजय भण्डारी) लाई मन्त्रीसरह आसन ग्रहण गराइएको भन्दै उनले आपत्ति जनाइन् ।

गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी कार्यक्रममा ती पात्रहरूको उपस्थितिले सहिद र घाइतेको अपमान गरेको धितालको तर्क छ । उनले आन्दोलनको नेतृत्व गर्नेहरूले नै यस्तो गलत शैलीमाथि हस्तक्षेप गर्न नसक्नु दुःखद भएको टिप्पणी गरेकी छन् ।

यसैगरी रास्वपा सांसद अमरेश सिंहले झनै आक्रामक रूपमा सरकारको आलोचना गरेका छन् । विवादास्पद धर्मगुरुहरूलाई मञ्चको अगाडि र मन्त्रीहरूलाई पछाडि राखिएको तस्बिरप्रति टिप्पणी गर्दै उनले लेखेका छन्, ’विवादास्पद धर्मगुरुहरूलाई अगाडि राखेर सरकारले के सन्देश दिन खोजेको हो ?

संविधान र समावेशिताको धज्जी उडाउने र देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकारलाई छुट छैन ।’ आफ्नै निर्णयमा टिक्न नसक्ने र विवादित काममा मात्रै अल्झिने सरकारको प्रवृत्तिले जेनजी आन्दोलनको भावनामाथि चोट पु¥याएको सिंहको आरोप छ ।

मञ्चमा देखिएका थिए विजय भण्डारी र श्रीनिवास आचार्य । तर उनीहरुको जेनजी आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध देखिँदैन । बरु दुवै जना विगतमा विभिन्न विवाद तथा कानुनी घटनामा जोडिएका व्यक्ति हुन् । बालयोगेश्वर विजय कृष्णमूर्तिका नामले चिनिने भण्डारी वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी मुद्दा तथा पशुपतिमा आयोजित कोटिहोमका क्रममा आर्थिक पारदर्शितासम्बन्धी विवादमा तानिएका थिए ।

यसैगरी, श्रीनिवास आचार्य पनि विगतमा विभिन्न आपराधिक तथा विवादास्पद घटनामा जोडिएका व्यक्ति हुन्। २०७५ सालमा आफूमाथि गोली प्रहार भएको घटनामा प्रहरी अनुसन्धानले उक्त घटना आफैँले योजना बनाएर गराएको निष्कर्ष निकालेको थियो ।

आचार्य यसअघि गौहत्याविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए भने २०८० सालमा दुर्गा प्रसाईँको नेतृत्वमा भएको प्रदर्शनका क्रममा पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेको विवरण छ । यस्तै केही जेनजी अभियन्ताहरूले पनि सरकारको कामप्रति असन्तुष्टि पोखे ।

मुख्यगरी रक्षा बम, तनुजा पाण्डेलगायतले पनि सरकारको कार्यशैलीको विरोध गरे । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरमा आयोजित स्मृति कार्यक्रमलाई लिएर दुई अभियन्ताले सरकारको कडा आलोचना गरेका हुन् । अभियन्ताद्वयले सामाजिक सञ्जालमार्फत सरकारले सहिदको अपमान गरेको र आन्दोलनको मर्ममाथि प्रहार गरेको आरोप लगाए ।

अभियन्ता बमले कार्यक्रमको ढाँचाप्रति कडा आक्रोश व्यक्त गर्दै सरकारले ‘नैतिक भ्रष्टाचार’ गरेको दाबी गरेकी छन् । ’सहिदहरूको तस्बिरलाई पैतालाभन्दा तल, मञ्चको मुनि राखेर मन्त्रीहरू सहिदभन्दा माथि उभिए,’ उनले लेखेकी छन्, ’यो कस्तो अद्भुत न्याय हो ?’ बमले गृहमन्त्रीको विरोध गर्नेलाई थुनेर आपराधिक पृष्ठभूमि भएका विवादास्पद धार्मिक पात्रहरूलाई मञ्चमा स्थान दिइएको भन्दै प्रश्न उठाएकी छन् ।

आजको दिन पारदर्शिता र जवाफदेहिताका लागि आवाज उठ्नुपर्नेमा सरकारले प्रायोजित नारा र कर्कश आवाजहरूलाई प्रश्रय दिएको उनको ठम्याइ छ । त्यस्तै, अर्की अभियन्ता तनुजा पाण्डेले स्मृति कार्यक्रममा उपस्थित मन्त्रीहरूले सहिद परिवारको पीडा सम्बोधन गर्नुको साटो केवल आत्मप्रशंसा गरेको र विरोधीलाई धम्क्याएको आरोप लगाएकी छन् ।

उनले भनिन्, ’आफ्ना पीडा सुनाउन खोज्दा उल्टै घाइतेहरूमाथि प्रहरी लगाएर डर–धम्की दिने कार्य निन्दनीय छ।’ कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरे। सो क्रममा अधिकांश आफन्तहरू भावुक बने । धेरैका आँखाबाट आँशु बगे । केहीबेर नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरको दृश्य भावविह्वल बन्न पुग्यो ।

यसैबीच कार्यक्रम जारी रहेकै बेला सरकारको विरोध गर्दा जेनजी घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कार्यक्रममा विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ‘अस्वीकृति पत्र’ भएको बताए । भदौ २३ र २४ गतेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै सभापति लामिछानेले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको उल्लेख गरेका हुन् ।

आन्दोलनका क्रममा जीवन गुमाउने अमर सहिदहरू तथा कर्तव्य पालनका क्रममा ज्यान गुमाउने प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्।’

राज्यले आन्दोलनका घाइतेहरूको पूर्ण उपचार, दीर्घकालीन पुनस्र्थापना र सहिद परिवारको उचित हेरचाहको दायित्व पूरा गर्ने विश्वाससमेत उनले दिलाएका छन् । राजनीतिमा हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको लामिछानेले बताएका छन्।

नागरिक समाज र आम जनसमुदायलाई रचनात्मक खबरदारी जारी राख्न अपिल गर्दै उनले भने, ‘हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् । तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ।’ नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध हुन आह्वान गर्दै उनले आन्दोलनले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा नागरिक अगुवा तथा अधिकारकर्मीहरूले घटनासम्बन्धी छानबिन प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । २४ जना नागरिक अगुवाहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही, प्रतिवेदन सार्वजनिक र १० बुँदे सम्झौता कार्यान्वयनको माग गरेका हुन् ।

सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आन्दोलन गरेको थियो। राज्यको दमनका कारण भाद्र २३ गते १९ जना र दुई दिनको घटनामा कुल ७६ जना नेपाली नागरिकको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका क्रममा ८५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको र पुनर्निर्माणका लागि ३६ अर्ब लाग्ने सरकारी अनुमान रहेको कुरा विज्ञप्तिमा जनाइएको छ । यता नेपाल जेनजी फ्रन्टले पनि एक वर्षअघि आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता, डिजिटल अधिकारसहितका ‘एजेन्डा’बारे समीक्षा गर्नुपर्ने समय भएको बताएको छ ।

मंगलबार बहसपत्र सार्वजनिक गर्दै फ्रन्टले यस्तो जनाएको हो । जेनजी आन्दोलनका क्रममा भएको १० बुँदे सम्झौताको कार्यान्वयनमाथि पनि फ्रन्टले प्रश्न उठाएको छ । साथै, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका आन्दोलनकारीको अवस्थाबारे पनि जवाफ दिनुपर्ने भनिएको छ ।

जेनजी आन्दोलनमार्फत सत्तामा पुगे पनि आन्दोलनकारीमाथिका मुद्दा फिर्ता र रिहाइको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै फ्रन्टले असन्तुष्टि व्यक्त गरेको छ । सत्तामा पुगेपछि नयाँ राजनीतिक शक्तिहरूले पनि पुरानै शैली दोहो¥याएको आरोप बहसपत्रमा लगाइएको छ ।

बहसपत्रमा जेनजी आन्दोलनका घटनमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक हुन नसकेको, दोषीमाथि कारबाही, मुद्दा फिर्ता तथा रिहाइको विषयलाई पनि प्रमुखताका साथ उठान गरिएको छ । जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार, रोजगारी, शिक्षा, संस्थागत सुधार, छानबिन र सुरक्षा क्षेत्र सुधारमा पनि फ्रन्टले असन्तुष्टि जनाएको छ ।

गत वर्षको भदौ २७ मा अन्तरिम सरकार गठनपछि प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन इमानदार प्रयासहरू भएको पनि जनाइएको छ । यतिबेला भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई सहयोगका लागि सरकारलाई ढाडस दिनुपर्ने समय रहेको बहसपत्रमा स्मरण गराइएको छ ।

उद्धार र राहत पर्खिरहेका नागरिकलाई मलमपट्टी लगाउन सहयोग गर्नु सबैभन्दा महत्त्वपूर्ण हुने सुझाव फ्रन्टको छ । “तर, विपद्मा राज्यलाई साथ दिँदैमा अन्य सबै विषयमा आँखा चिम्लिनुपर्ने अवधारणा लोकतन्त्रमा स्वस्थ हुँदैन,“ बहसपत्रमा भनिएको छ । फ्रन्टले भनेको छ, “विद्रोहको एक वर्ष पूरा हुँदै गर्दा कतै हामीले प्रश्न गर्न त बिर्सेका छैनौँ ?“

आन्दोलनकारीसँग सम्झौता गरेर उनीहरूमाथिका मुद्दा फिर्ता र रिहाइको प्रतिबद्धता गरे पनि त्यो पूरा नभएको फ्रन्टको भनाइ छ । तर, त्यही आन्दोलनबाट राजनीतिक परिवर्तनको दाबी गर्दै आएका नेताहरू सत्तामा रहेको बताउँदै बहसपत्रमा भनिएको छ, “जेनजी जेलमा, नेताहरू सत्ताको रेलमा ? सम्झौता आन्दोलनकारीलाई जेलबाट निकाल्न गरिएको थियो कि नेताहरूलाई सत्तामा पु¥याउन ? आन्दोलनको अपनत्व लिनु भनेको आन्दोलनको फल मात्र खानु हो कि आन्दोलनको जिम्मेवारी लिनु पनि हो ? आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक–फरक मानिसहरू छन् ?“

यता ‘जेनजी सहिद दिवस’का अवसरमा नेपालस्थित अमेरिकी र बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसका अवसरमा अमेरिकी दूतावासले सन्देश जारी गर्दै नेपाली युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको छ ।

दूतावासले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति समेत सहानुभूति व्यक्त गरेको छ । कठिन परिस्थितिमा नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दूतावासले साझा शोकको यस घडीमा अमेरिका नेपाली जनताको अटल मित्र र साझेदारका रूपमा साथमा रहेको जनाएको छ ।

सन्देशमा भनिएको छ, ‘यो स्मृति दिवस हालैका विनाशकारी बाढीपश्चात् विश्वभरका विभिन्न समुदाय नेपालसँगै शोकमा रहेको समयमा आएको छ । साझा शोकको यस घडीमा अमेरिका नेपालका जनताको अटल मित्र तथा साझेदारका रूपमा अडिग छ ।’

यस्तै, काठमाडौंस्थित बेलायती दूतावासले पनि जेनजी सहिद दिवसका अवसरमा श्रद्धाञ्जली सन्देश जारी गरेको छ । सन् २०२५ सेप्टेम्बरमा भएको युवा आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली युवाको सम्झनामा बेलायतले गहिरो दुःख व्यक्त गरेको हो । दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवार तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

सन्देशमा भनिएको छ, ‘सन् २०२५ सेप्टेम्बरका घटनाहरूका क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा आयोजित ‘जेनजी सहिद दिवस’का अवसरमा हामी उहाँहरूका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’ स्मरण र आत्मसमीक्षाको यस घडीमा बेलायत सधैँ नेपाली जनताको साथमा रहने प्रतिबद्धता समेत दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top