सात मिनेटमा २२ किलोमिटर दौडिएको त्यो बाढी

२८ भदौ ८३, आइतबार
Share this
781shares

काठमाडौं । २०८३ भदौ १० गते बिहान रासुवा हुँदै भोटेकोशी नदीमा आएको असाधारण बाढी सामान्य मनसुनजन्य बाढी थिएन । माथिल्लो हिमाली क्षेत्रमा एक्कासि भएको बरफ–चट्टानको ठूलो पहिरो, त्यसबाट सिर्जित नदी अवरोध र पानी तथा मलबा अर्थात ढुंगा, माटो, काठाको लेदोको आकस्मिक विस्थापनले भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म बाढीको लहर फैलिएको सरकारी अध्ययनले देखाएको छ । उक्त बाढीमा परि सरकारी तथ्यांक अनुसार हालसम्म ४ हजारभन्दा बढि मानिस हराइरहेका छन् भने १३ सयको मृत्यू भएको पुष्टि भएको छ ।
जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत् जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको एक अध्ययन रिपोर्टले यो घटनालाई अत्यन्त तीव्र गतिमा सुरु भएको असामान्य जलविज्ञानसम्बन्धी घटना भनेको छ । प्रतिवेदनअनुसार बाढीको स्रोत नेपाल–चीन सीमाभन्दा करिब २२ किलोमिटर माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा थियो । त्यहाँबाट आएको बाढी रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती, धादिङको गल्छी, बेनिघाट, मलेखु, मुग्लिन हुँदै चितवनको देवघाटसम्म पुगेको थियो ।
यो घटनाको सबैभन्दा चकित पार्ने पक्ष बाढीको गति थियो । स्रोत क्षेत्रबाट रसुवागढी सीमा क्षेत्रमा करिब २२ किलोमिटर दूरी बाढीको लहरले लगभग सात मिनेटमै पार गरेको अध्ययनमा उल्लेख छ । यसअनुसार त्यस खण्डमा बाढीको औसत गति करिब १८८ किलोमिटर प्रतिघण्टा अनुमान गरिएको छ । हिमाली क्षेत्रमा साँघुरो खोँच, तीव्र भिरालोपन र नदीको सीमित बहाव क्षेत्रका कारण बाढीको लहर असाधारण गतिमा तलतिर सरेको अध्ययनको निष्कर्ष छ ।

Advertisement

भूकम्पजस्तो देखिएको संकेत, तर कारण हिमपहिरो
घटना सुरु हुँदा बिहान ८ बजेर ३७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्पीय संकेत रेकर्ड भएको थियो । सुरुमा उक्त संकेतलाई भूकम्पका रूपमा व्याख्या गरिएको भए पनि थप भूकम्पीय तथा भूगर्भीय विश्लेषणपछि त्यो संकेत ठूलो हिम–चट्टानको पहिरो वा हिमपहिरोसँग सम्बन्धित भएको अध्ययनले देखाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (ग्क्न्क्) ले सुरुमा ४.४ म्याग्निच्युडको घटना रिपोर्ट गरेको थियो । पछि लामो अवधिका भूकम्पीय तरंगहरूको विश्लेषण गर्दा ५.२ म्याग्निच्युडको संकेत हिमनदी खस्ने र त्यसबाट उत्पन्न मलबा अर्थात् ढुँगा, माटो काठसहितको लेदो आदी बहावसँग सम्बन्धित रहेको निष्कर्ष निकालिएको प्रतिवेदनमा उल्लेख छ । घटनाको करिब तीन घण्टापछि अर्को ४.२ म्याग्निच्युडको भूकम्पीय संकेतसमेत देखिएको थियो, त्यसलाई पनि पहिरोसँग सम्बन्धित हुन सक्ने घटना मानिएको छ ।
अर्थात् नदीमा आएको विनाशकारी बाढीको सुरुवात पारम्परिक अर्थमा आएको भूकम्प वा ठूलो वर्षाबाट भएको पुष्टि भएको छैन । बरु हिमाली क्षेत्रमा रहेको अस्थिर बरफ र चट्टानको विशाल पिण्ड एक्कासि खस्दा त्यसले तलको क्षेत्रमा रहेको पानी, बरफ, चट्टान र मलबालाई विस्थापित गरेको र त्यसपछि नदीमा ठूलो बाढीको लहर सिर्जना भएको अध्ययनले औंल्याएको छ ।

Advertisement

 

Advertisement

५२०० मिटर उचाइको हिमनदी खस्यो
उपलब्ध भू–उपग्रह तस्बिरहरूको अध्ययनले रासुवाको लाङटाङ–लिरुङ हिमालको उत्तरी भागमा करिब ५,२०० मिटर उचाइमा रहेको झुण्डिएको हिमनदी खसेको देखाएको छ । उक्त हिमनदीसँगै ठूलो मात्रामा चट्टान पनि तल खसेर करिब ३,८०० मिटर उचाइमा रहेको मलबाले ढाकिएको हिमनदी क्षेत्रमा पुगेको थियो ।
यस क्रममा बरफ, चट्टान र मलबासँग ठूलो मात्रामा पानी मिसिएर बहाव सिर्जना भएको र त्यो चोछेन खोलामा प्रवेश गर्दै ल्हेन्दे नदीमार्फत नेपालतर्फको भोटेकोशीमा आएको प्रतिवेदनमा उल्लेख छ । उपग्रह तस्बिरको विश्लेषणअनुसार करिब दुई वर्गकिलोमिटर क्षेत्रफल बराबरको हिमनदी तथा चट्टानी पिण्ड छुट्टिएको अनुमान गरिएको छ ।
स्रोत क्षेत्र आफैं पनि पहिरोको उच्च जोखिममा रहेको भूभागमा पर्छ । रसुवा जिल्लाको पहिरो संवेदनशीलता नक्साले उक्त क्षेत्रलाई उच्चदेखि अति उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ । तीव्र भिरालोपन, उच्च हिमाली भू–आकृति, चट्टानमा रहेको चिरा तथा भौगर्भिक रूपमा सक्रिय हिमालयका कारण यस्ता भूभागमा ठूलो मात्रामा बरफ वा चट्टान खस्ने जोखिम रहने अध्ययनले देखाएको छ ।

भदौ १० को बाढी वर्षाको कारण होइन
घटनाको अर्को महत्वपूर्ण पक्ष हो—बाढी आउनुअघि त्यहाँ असाधारण वर्षा भएको थिएन । उपग्रहमा आधारित वर्षा अनुमान र क्याङजिन क्षेत्रमा रहेको वर्षामापन केन्द्रको तथ्यांकले घटना भएको दिनको तत्काल अघिल्लो समयमा ठूलो वर्षा नभएको देखाएको छ । २५ देखि २६ अगस्टसम्मको २४ घण्टामा क्याङजिन स्टेशनमा २७ मिलिमिटर वषो भएको थियो । घटना भएको दिन १२.६ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । तर बाढी वा हिमपहिरो सुरु हुनुअघिको छ घण्टामा जम्मा १.५ मिलिमिटर मात्र वर्षा भएको थियो ।
त्यस अवधिमा १० मिनेटको अधिकतम वर्षा तीव्रता ०.१४ मिलिमिटर मात्र थियो । यो परिमाणले यति ठूलो भू–पिण्डलाई तत्काल खसाउने वा यति ठूलो बाढी उत्पन्न गर्ने अवस्था देखाउँदैन । अध्ययनले त्यसैले भदौ १० बाढीलाई वर्षाजन्य बाढीका रूपमा लिन नसकिने निष्कर्ष निकालेको छ ।
यद्यपि, लामो समयको मनसुनी वर्षाले पहाडको भूभागमा चिस्यान बढाएको हुनसक्ने र सतह पग्लिने, पानी छिर्ने वा चट्टान–बरफको पिण्डमा स्नेहन उत्पन्न गर्ने जस्ता प्रक्रियाले अस्थिर भूभागलाई कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने सम्भावना प्रतिवेदनले पूर्ण रूपमा अस्वीकार गरेको छैन । तर त्यसका लागि थप भूगर्भीय, हिमनदीसम्बन्धी र मौसमसम्बन्धी अध्ययन आवश्यक रहेको उल्लेख छ ।

चेतावनीका लागि समय अत्यन्तै कम
यो बाढीले नेपालमा आकस्मिक हिमाली बाढीको पूर्वसूचना प्रणाली कति कठिन अवस्थामा पर्न सक्छ भन्ने देखाएको छ । सामान्य वर्षाजन्य बाढीमा वर्षाको तथ्यांकका आधारमा केही घण्टा अगाडि जोखिम अनुमान गर्न सकिन्छ। तर यस घटनामा नदीमा बाढीको लहर सिर्जना भएपछि त्यो अत्यन्त तीव्र गतिमा तलतिर आएको थियो ।
बिहान ८ बजेर ५० मिनेटमा स्याफ्रुबेँसीको जलमापन केन्द्रको डेटा प्रसारण बन्द भयो । त्यतिबेला अन्तिम रेकर्ड गरिएको पानीको सतह १ं६२ मिटर थियो । बिहान ९ बजे भोटेकोशीमा चीनतर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना जिल्ला प्रशासन र बेत्रावती स्टेशनका कर्मचारीबाट प्राप्त भयो । त्यसको केही समयपछि बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले सूचना प्राप्त गरी चेतावनी प्रक्रिया सुरु गरेको थियो । बिहान ९ बजेर १५ मिनेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका जोखिमयुक्त क्षेत्रलाई एसएमएसमार्फत सतर्क गराइएको थियो । सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।
बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेलमार्फत बिहान ९ बजेर ५ मिनेटदेखि ९ बजेर १४ मिनेटसम्म करिब ६ लाख ७८ हजार २९५ वटा एसएमएस पठाएको थियो । जिल्ला प्रशासन, प्रमुख जिल्ला अधिकारी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत पनि सूचना प्रसारण गरिएको थियो ।

बेत्रावतीदेखि मलेखुसम्म बाढीको तीव्र प्रभाव
बिहान ९ बजेर २० मिनेटमा बेत्रावती स्टेशनको डेटा प्रसारण बन्द भयो । त्यसबेला पानीको सतह ३.५५ मिटर पुगेको थियो । त्यसपछि बाढीको लहर धादिङको गल्छीतर्फ बढ्यो । बिहान १० बजेर २८ मिनेटमा गल्छी क्षेत्रमा बाढीको लहर पुगेको रिपोर्टमा उल्लेख छ । मुग्लिन हुँदै नारायणगढ जाने सडक खण्ड र पृथ्वी राजमार्ग आसपासका क्षेत्रलाई समेत सतर्क गराइएको थियो ।
बिहान ११ बजेर २६ मिनेटमा फुर्के अर्थात् मलेखु क्षेत्रमा पानीको सतह चेतावनी तहभन्दा माथि पुगिसकेको थियो । ११ बजेर ४३ मिनेटमा पानीको सतह खतराको तह नाघ्यो । त्यसपछि बाढीले मलेखुको जलमापन केन्द्र र पुलसमेत बगाएको प्रतिवेदनमा उल्लेख छ । ११ बजेर ५० मिनेटमा बाढीको लहर मलेखु बजार क्षेत्रमा पुगेको थियो । दिउँसो १ बजे बाढीको लहर मुग्लिन पार गरिसकेको थियो । त्यसपछि देवघाटसम्मका क्षेत्रलाई सतर्क गराइयो ।

देवघाटमा ५ हजार ८५० घनमिटर प्रतिसेकेन्डसम्म बहाव
देवघाटमा बाढीको प्रभाव दिउँसोपछि स्पष्ट देखियो । दिउँसो १ बजेर २० मिनेटमा पानीको सतह ४.७६ मिटर पुगेको थियो । त्यसपछि पानी निरन्तर बढ्दै गयो । दिउँसो करिब ३ बजेर २० मिनेटमा देवघाट क्षेत्रमा बाढीको लहर पुग्यो । साँझ ४ बजे पानीको सतह अधिकतम ६.५७ मिटर पुगेपछि विस्तारै घट्न थालेको थियो । जलमापन तथ्यांक र रेटिङ कर्भका आधारमा देवघाटमा बाढीको उच्चतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड अनुमान गरिएको छ ।
अध्ययनअनुसार दिउँसो २ः१० देखि साँभः ६ः०० बजेसम्म देवघाटबाट करिब ५७.४० मिलियन घनमिटर पानी बगेको थियो । सामान्य बहावभन्दा अतिरिक्त पानीको मात्रा करिब १९.६ मिलियन घनमिटर अर्थात् झन्डै दुई करोड घनमिटर अनुमान गरिएको छ । यही अतिरिक्त पानीलाई घटनाबाट उत्पन्न बाढीको महत्वपूर्ण परिमाण मानिएको छ।

नदीसँगै पूर्वसूचना प्रणाली पनि बग्यो
बाढीको तीव्रता यति ठूलो थियो कि त्यसलाई मापन गर्ने संरचनामध्ये धेरै आफैं बाढीको चपेटामा परे । रसुवागढीको भोटेकोशी जलमापन केन्द्रमा बिहान ८ बजेर ४० मिनेटमा डेटा बन्द भयो । अन्तिम पानीको सतह ३.८ मिटर थियो । त्यसपछि स्टेशन नै बग्यो । स्याफ्रुबेँसी स्टेशनको डेटा ८ बजेर ५० मिनेटमा बन्द भयो र अन्तिम पानीको सतह १.६२ मिटर रहेको अध्ययनको निस्कर्ष छ ।
बेत्रावती स्टेशनको डेटा ९ बजेर २० मिनेटमा बन्द भएको थयो । त्यहाँ पानीको सतह ३.५५ मिटर पुगेको थियो । फुर्के–मलेखु स्टेशनमा ११ बजेर ४३ मिनेटमा डेटा बन्द हुँदा पानीको सतह खतराको तह नाघिसकेको थियो । उक्त स्टेशन र पुल दुवै बाढीले बगायो । यसले प्राकृतिक विपद्को समयमा पूर्वसूचना प्रणालीका उपकरण स्वयं कति जोखिममा हुन्छन् भन्ने गम्भीर प्रश्न उठाएको छ । बाढीको सूचना दिने संरचना नै बाढीले बगाएपछि त्यसपछिको वास्तविक समय सूचना प्रवाह थप कठिन बन्न सक्छ ।

अझै बाँकी थियो अर्को जोखिम
मुख्य बाढी घटेपछि पनि जोखिम समाप्त भएको थिएन । घटनापछि माथिल्लो ल्हेन्दे खोलामा दुईवटा प्राकृतिक अवरोध ताल बनेका थिए । ती तालका प्राकृतिक बाँध कमजोर भएमा पुनः पानीको ठूलो लहर तलतिर आउन सक्ने जोखिम देखिएको थियो । पहिलो ताल ल्हेन्दे र लिरुङ खोलाको संगम नजिक बनेको थियो । यसको सतह क्षेत्रफल २८ अगस्टमा करिब १ लाख ६० हजार वर्गमिटर मापन गरिएको थियो । प्राकृतिक रूपमा पानी बग्न थालेपछि यसको जोखिम क्रमशः घट्दै गएको अध्ययनमा उल्लेख छ ।
दोस्रो ताल हिमनदी भत्किएको क्षेत्रको तलतिर बनेको थियो । यसको सतह क्षेत्रफल करिब १ लाख ८० हजार वर्गमिटर थियो । यो ताल भदौ १० मा ओभरफ्लो हुँदा भोटेकोशी–त्रिशूलीको तल्लो क्षेत्रमा पानीको सतह उल्लेख्य रूपमा बढेको थियो ।
यस घटनाले हिमाली क्षेत्रमा एउटा विपद् सकिएपछि अर्को विपद्को सम्भावना कसरी बाँकी रहन सक्छ भन्ने देखाएको छ । हिमपहिरोले नदी थुन्ने, अस्थायी ताल बन्ने र त्यसपछि ताल फुट्दा अर्को बाढी आउने जोखिम हिमाली नदी प्रणालीमा विशेष रूपमा महत्वपूर्ण देखिएको छ ।

अब सीसीटीभीबाट नदीको प्रत्यक्ष निगरानी
घटनापछि नेपालमा नदी निगरानीको नयाँ अभ्याससमेत सुरु गरिएको छ । टिमुरेमा नेपाल–चीन सीमा नजिक भोटेकोशी नदीको अवस्था प्रत्यक्ष हेर्न सकिने गरी सीसीटीभी क्यामेरा जडान गरिएको छ । प्रतिवेदनअनुसार ठूलो बाढी आएको सातौं दिनमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको नेतृत्वमा टिमुरेमा क्यामेरा स्थापना गरिएको हो । नदीको सतहभन्दा करिब ७० मिटर माथि राखिएको क्यामेराबाट नदी र वरपरको अवस्था प्रत्यक्ष हेर्न सकिन्छ । यसको लाइभ फिड २४ घण्टा सञ्चालन हुने बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवासँग जोडिएको छ ।
सीसीटीभीले पानीको सतहको संख्या मात्र होइन, नदीमा अचानक आएको बहाव, ठूला ढुंगा तथा काठ बगिरहेको अवस्था, नदी थुनिन थालेको संकेत वा नदीको स्वरूपमा आएको परिवर्तन प्रत्यक्ष देखाउन सक्छ । त्यसैले यो प्रणाली विशेष गरी हिमताल फुट्ने बाढी, हिमपहिरो, पहिरो र नदी थुनिने जस्ता आकस्मिक घटनामा उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनसँग जोडिएको सम्भावित जोखिम
सरकारी प्रतिवेदनले घटनाको अन्तिम कारणका रूपमा जलवायु परिवर्तनलाई स्थापित गरिसकेको छैन । तर हिमपहिरो वा पहिरोले नदी थुन्ने र त्यसपछि बाँध फुटेर बाढी आउने प्रक्रियामा जलवायु परिवर्तनले भूमिका खेल्न सक्ने सम्भावनालाई अध्ययनको विषय बनाउनुपर्ने उल्लेख गरेको छ ।
हिमनदी पग्लिने, पर्माफ्रोस्ट अर्थात् स्थायी रूपमा जमेको माटो वा चट्टान पग्लिने र पहाडी ढलान कमजोर हुँदै जाने प्रक्रियाले भविष्यमा यस्ता घटनाको जोखिम बढाउन सक्ने सम्भावना प्रतिवेदनले औंल्याएको छ । त्यसैले अन्य हिमताल र हिमनदी प्रभावित क्षेत्रमा समेत जोखिमको विस्तृत अध्ययन आवश्यक देखिएको छ ।

अबको चुनौतीः छिटो सूचना, भरपर्दो पूर्वसूचना
भोटेकोशी–त्रिशूली बाढीले नेपाललाई एउटा स्पष्ट सन्देश दिएको छ—सबै बाढी वर्षाबाट आउँदैनन् र सबै बाढीको पूर्वसूचना लामो समय अगाडि दिन सम्भव हुँदैन । यस घटनामा बाढीको लहर अत्यन्त तीव्र गतिमा अघि बढ्यो । माथिल्लो क्षेत्रमा सूचना प्राप्त भएको केही समयमै नदीको बहाव तलतिर फैलिएको थियो। त्यसैले भविष्यमा हिमाली नदीका लागि वर्षामापन मात्रमा आधारित पूर्वानुमान पर्याप्त नहुन सक्छ ।
प्रतिवेदनले स्वचालित जलमापन केन्द्रको आधुनिकीकरण, बलियो टेलिमेट्री प्रणाली, वास्तविक समय निगरानी, सीसीटीभी, उपग्रह तथा राडार सूचना, मौसम तथा जलविज्ञानसम्बन्धी तथ्यांक र बाढी पूर्वानुमान मोडेललाई एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
भोटेकोशीको घटनाले देखाएको सबैभन्दा ठूलो पाठ यही हो—बाढी आउँदा त्यसलाई रोक्न नसकिए पनि ‘बाढी आउँदैछ भन्ने सूचना केही मिनेट अगाडि मात्र भए पनि सही व्यक्तिसम्म सही समयमा र्पुयाउन सके जीवन र सम्पत्तिको क्षति घटाउन सकिन्छ ।’
अब चुनौती भनेको त्यस्तो सूचना प्रणालीलाई अझ छिटो, भरपर्दो र जोखिममा नपर्ने गरी विकास गर्नु हो । टिमुरेमा सुरु गरिएको सीसीटीभी निगरानी त्यस दिशाको प्रारम्भिक कदम हो। भविष्यमा यस्ता प्रणाली उच्च जोखिमयुक्त हिमाली नदी, हिमताल, सीमा क्षेत्र, पुल र महत्वपूर्ण पूर्वाधारसम्म विस्तार गर्न सके आकस्मिक बाढीको जोखिम व्यवस्थापनमा नयाँ आधार बन्न सक्ने देखिन्छ ।
भोटेकोशीमा आएको बाढी एउटा नदीमा आएको असाधारण बहाव मात्र थिएन । यो हिमाली भूगोलमा लुकेर बसेका नयाँ किसिमका जोखिमको चेतावनी पनि हो । करिब २२ किलोमिटर दूरी सात मिनेटमा पार गर्ने बाढीको लहर र देवघाटमा करिब दुई करोड घनमिटर अतिरिक्त पानी र्पुयाउने घटनाले नेपालका हिमाली नदीहरूका लागि अबको पूर्वसूचना प्रणाली परम्परागत ढाँचाभन्दा धेरै अगाडि बढाउनुपर्ने आवश्यकता देखाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top