२८ भदौ , काठमाण्डौ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । शनिबार सार्वजनिक भएको जर्मन प्रसारक डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिनसँग भेटेर वार्ता गर्न तयार रहेको बताएका हुन् ।
दुवै नेता जी–२० शिखर सम्मेलनमा सहभागी हुने अवस्था आए पुटिनसँग भेट्ने हो कि होइन भन्ने प्रश्नमा जेलेन्स्कीले भने, “हो, अवश्य ।” “हामी आउनुपर्छ । हामी भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णय गर्नुपर्छ । यो शब्दको कुरा होइन । मैले उनलाई के भन्नेछु वा उनले मलाई के भन्न चाहन्छन्, त्यसको कुनै अर्थ छैन,” उनले भने ।

जेलेन्स्कीले वार्ताको मुख्य उद्देश्य परिणाम निकाल्नु रहेको बताए । तर क्रेमलिनले पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी हुने वा नहुने विषयमा अहिलेसम्म निर्णय नभएको जनाएको छ । रुसी समाचार संस्था तासका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मायामी जाने वा नजाने विषयमा अहिलेसम्म टुंगो नलागेको बताए ।
पेस्कोभले जेलेन्स्कीले पुटिनसँग भेट्न चाहे मस्को आउनुपर्ने रुसी अडान दोहोर्याए । उनले पुटिनले यसअघि नै जेलेन्स्की मस्को आएमा भेट्न सकिने बताइसकेको उल्लेख गरे । संयुक्त राज्य अमेरिकाले रुस र युक्रेनबीच लामो समयदेखि रोकिएको प्रत्यक्ष वार्ता पुनः सुरु गराउन प्रयास गरिरहेको छ ।
अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले हालै मस्को र किभको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनले पनि यसै साता युद्धका विषयमा टेलिफोन संवाद गरेका थिए । जेलेन्स्कीले अमेरिकी वार्ताकारहरूको मस्को र किभ भ्रमणलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे।
उनले संवाद सुरु हुनु नै महत्वपूर्ण भएको बताए । जेलेन्स्कीले सेप्टेम्बरको अन्त्यतिर ट्रम्पसँग भेट्ने योजना पनि सार्वजनिक गरे। वासिङ्टनले रुस र युक्रेनबीच नयाँ प्रत्यक्ष वार्ताका लागि दुवै पक्षमाथि दबाब बढाउँदै आएको छ । सम्भावित वार्ताअघि युक्रेनको अवस्थाबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले अहिले युक्रेन गत वर्षको तुलनामा युद्धमैदानमा बलियो अवस्थामा रहेको बताए ।
“हामीलाई लाग्छ कि हामीसँग अहिले वार्ताका लागि राम्रो स्थिति छ,” उनले भने । किभले यसै महिनाभित्र रुससँग वार्ता हुन सक्ने बताउँदै आएको छ। तर क्रेमलिनले वार्ताको स्थान र मितिबारे छलफल गर्न अझै चाँडो भएको जनाएको छ।
रुस र युक्रेनबीच यसअघि भएका विभिन्न चरणका वार्ता निष्कर्षमा पुग्न सकेका छैनन्।
दुवै पक्षबीच विश्वासको संकट कायम छ भने आफ्नो अडान परिवर्तन गर्ने संकेत पनि देखिएको छैन । यसैबीच रुस र युक्रेनले पछिल्ला महिनामा एकअर्काविरुद्ध लामो दूरीका हवाई आक्रमण बढाएका छन्। पछिल्ला आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ ।
शुक्रबार राति भएका रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दक्षिणी जापोरिज्झियामा दुई जना र मध्य युक्रेनको क्रिभी रिहमा रहेको अर्सेलरमित्तल कारखानामा दुई जनाको मृत्यु भएको बताइएको छ ।
दक्षिणी बन्दरगाह सहर ओडेसामा भएको रुसी मिसाइल तथा ड्रोन आक्रमणबाट आवासीय भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा ३५ जना घाइते भएको क्षेत्रीय गभर्नरले बताएका छन्। जेलेन्स्कीले युक्रेनका सहयोगी राष्ट्रसँग थप हवाई रक्षा प्रणाली र मिसाइल उपलब्ध गराउन पनि आग्रह गरे।
विशेषगरी अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर मिसाइल तत्काल आवश्यक रहेको उनले बताए । अमेरिकासँग पर्याप्त मिसाइल उत्पादन क्षमता नभएका कारण आपूर्ति चुनौतीपूर्ण बनेको उनको भनाइ छ। “उनीहरूसँग बेच्ने र सहयोग गर्ने राजनीतिक इच्छाशक्ति छ, तर उत्पादन त्यति धेरै छैन,” जेलेन्स्कीले भने ।
उनले युरोपेली सहयोगी राष्ट्रबाट पनि थप सैन्य सहयोग आवश्यक रहेको बताए । यता अमेरिकाले यस वर्ष प्रमुख अर्थतन्त्रहरूको समूह ( जी–२०)को अध्यक्षता गरेको छ, जसमा १९ देशहरू, युरोपेली सङ्घ र अफ्रिकी सङ्घ समावेश छन् । डिसेम्बर १४–१५ मा नेताहरूको शिखर सम्मेलनपछि अमेरिकाले नेतृत्व हस्तान्तरण गर्नेछ ।
यसपहिले नै जी–२० बैठकमा सहभागी भइसकेका रुसका अर्थमन्त्रीका लागि युक्रेनका केही युरोपेली सहयोगीहरूका कारण असहजता पैदा गरेको बताइएको छ । अर्को साता ऊर्जा मन्त्रीहरूको भेलामा रुसी प्रतिनिधिमण्डल सहभागी हुने तय छ । यदि दुवै नेतालाई निमन्त्रणा दिइयो भने डिसेम्बरको शिखर सम्मेलनमा पुटिनसँग भेट्न तयार हुनुहुन्छ कि भन्ने प्रश्नमा जेलेन्स्कीले जर्मन प्रसारक डोयचे भेलेसँग भेट्न र वार्ताका लागि तयार रहेको बताएका हुन् ।
यता रुसको तास न्यूज एजेन्सीले क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै भनेको छ, ’हामीलाई अझै थाहा छैन । हामी मायामी जानेछौँ वा छैनौँ।’ पेस्कोभले यसपहिले नेता पुटिनको भनाइ दोहा¥याए र भने, ’जेलेन्स्कीले कुनै पनि वार्ताका लागि सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरेर युद्ध सुरु गरेको देश रुस आउनुपर्छ ।
’यदि उहाँ साँच्चै पुटिनसँग भेट्न चाहनुहुन्छ भने, पुटिनले पहिले नै भनिसक्नुभएको छ कि उहाँ मस्को आउन सक्नुहुन्छ।’ गत सप्ताहन्तमा अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले मस्को भ्रमण गरेका थिए । पुटिन तथा ट्रम्पले पनि यस साता युद्धबारे कुराकानी गरेका थिए ।
वार्तालाई क्रेमलिनले ‘अत्यन्त स्पष्ट’ र रचनात्मक एक घण्टा लामो टेलिफोन संवाद भनेको थियो । क्यानडामा शुक्रबार भएको डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले विटकोफ र कुश्नरको भ्रमण ‘राम्रो सङ्केत’ भएको बताए । उनीहरूले मस्कोसँगै किएभको पनि भ्रमण गरेको स्मरण गर्दै नेता जेलेन्स्कीले संवाद महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
’यो हाम्रा जनताप्रति सम्मान हो,’ उनले भने । जेलेन्स्कीले सेप्टेम्बरको अन्त्यतिर ट्रम्पसँग भेट्ने योजना पनि घोषणा गरेका छन् । वासिङ्टनले मस्को र किएभबिच नयाँ प्रत्यक्ष वार्ताका लागि दबाब दिइरहेको छ । सम्भावित वार्ताअघि युक्रेनको अडानबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, ’युक्रेन अहिले युद्धमैदानमा गत वर्षभन्दा धेरै बलियो छ । त्यसैले हामीलाई लाग्छ कि हामीसँग अहिले वार्ताका लागि राम्रो स्थिति छ।’
वार्ता यस महिना नै हुन सक्ने किभले बताएको छ तर क्रेमलिनले सोमबार ‘स्थान वा मितिबारे छलफल गर्न अझै चाँडो’ हुने बताएको थियो । अघिल्ला धेरै वार्ताका चरणहरू असफल भएका छन् । दुवै पक्षबिच विश्वास कम छ र मस्को वा किएभले आफ्ना अडान परिवर्तन गरेको कुनै सङ्केत छैन ।




