आज हरितालिका तीजको दर खाने दिन

२८ भदौ ८३, आइतबार
Share this
786shares

२८ भदौ , काठमाण्डौ ।

Advertisement

यसवर्षको तीज पर्व आजदेखि शुरु भएको छ । तीजको आज पहिलो दिन अर्थात दर खाने दिन हो । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।

विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै बेलुका अरु चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

Advertisement

पोषणविद्हरुले भने धेरै चिल्लो पीरो, गुलियो र मसलेदार परिकार दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन सुझाव दिएका छन् । दर खाएसँगै आजदेखि चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदै भएको छ । दर दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने पनि शास्त्रीय विधान छ ।

आजको दरपछि भोलि हरितालिका तीज पर्व र पर्सि ऋषिपञ्चमी परेको छ । महिलाहरूले वर्षभरिका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तीजलाई लिइन्छ । जन्मघर छाडेर कर्मघरमा बस्दा पाएका दुःख र वेदना नारीले तीजका भाकामा सार्वजनिक गर्छन् ।

Advertisement

पछिल्ला वर्षहरूमा भने तीजका नाममा तडकभडक र उच्छृङ्खलता बढेको भन्दै आलोचना पनि हुन थालेको छ । महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतितिर लगेको समाजशास्त्रीहरु बताउँछन् ।

जबकी भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नका लागि अघिल्लो दिन बेलुकी दर खाने शास्त्रीय नियम तोकिएको हो । दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पतिका रूपमा पाएको पौराणिक मान्यता छ । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरेर राखेका थिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको कथा पुराणहरूमा उल्लेख छ ।

पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको हो ।  हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिला तथा दर्शनार्थीको भिड लाग्ने गर्छ । तीजका अवसरमा विशेषगरी विवाहित वा घरबाट टाढा रहेका छोरी, चेलीबेटीहरुले माइतीघर, माइतगाउँ आएर पुराना साथीसंगी एवं इष्टमित्रसँग भेटघाट गरी रमाइलो समेत गर्ने गरेका छन् ।

विगतमा यही भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्ने गरिन्थ्यो भने अहिलेको समयमा इन्टरनेट र सामाजिक संजालको प्रयोगले भौतिक भेटघाट नभएपनि भर्चुवली बोलचाल, देखादेख, सुखदुख साटासाट गर्ने गरिन्छ । तर पनि तीजको छुट्टै रौनक छ ।

नाचगान तथा सांस्कृतिक कार्यक्रमसहितले माहोल थप रमाइलो बनाउने गरेको छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडादसैँ र तिहार नेपालीको घरआँगनमा आउने गर्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top