२८ भदौ , काठमाण्डौ ।
इन्डोनेसियाली अधिकारीहरूका अनुसार खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी मानिस सवार यात्रुवाहक जहाजसँग सम्पर्कविच्छेद भएपछि समुद्रबाट १०३ जनाको उद्धार गरिएको छ। यसअघि इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीले ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामक जहाज शनिबार पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तान प्रान्तस्थित बान्जारमासिनतर्फ प्रस्थान गरेको जनाएको थियो ।
त्यसपछि जहाजसँग सम्पर्कविच्छेद भएको थियो। एजेन्सीले भनेको थियो, “यो विज्ञप्ति जारी गर्दासम्म जहाजसँग सम्पर्क हुन सकेको छैन र यसको अवस्थिति अज्ञात छ।” पछि एजेन्सीले १०३ जनाको उद्धार गरिएको, १४० जना अझै बेपत्ता रहेको र एक जनाको मृत्यु भएको जानकारी दिएको छ। घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन।

खोज तथा उद्धारका लागि उद्धार जहाज र जनशक्ति घटनास्थलतर्फ परिचालन गरिएको छ। उद्धार अभियानमा समुद्री अधिकारी, नौसेना र जल प्रहरीसमेत संलग्न छन्। बान्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार जहाजमा सञ्चारसम्बन्धी समस्या आएको सूचना प्राप्त भएको थियो।
प्रारम्भिक जानकारीअनुसार जहाजको अन्तिम ज्ञात अवस्थिति एउटा घाटबाट करिब ९२ माइल अर्थात् १४८ किलोमिटर टाढा रहेको थियो। जहाज सञ्चालक कम्पनी पीटी भिर्गो योएल रिहीले पनि जहाजसँग सम्पर्कविच्छेद भएको जानकारी दिएको छ।
कम्पनीका अनुसार जहाज शनिबार स्थानीय समयअनुसार बिहान १० बजेर १३ मिनेटमा सुराबायाबाट प्रस्थान गरेको थियो। खोज तथा उद्धार कार्यालयका अनुसार आइतबार बिहान करिब २ बजे जहाजसँग सम्पर्कविच्छेद भएको थियो र त्यसको करिब दुई घण्टापछि घटनाबारे सूचना प्राप्त भएको थियो।
उद्धार टोलीलाई बान्जारमासिनस्थित बसिरिह खोज तथा उद्धार घाटमा परिचालन गरिएको थियो। साथै, एउटा उद्धार जहाजलाई जहाजको अनुमानित अन्तिम अवस्थिति तर्फ पठाइएको थियो। खोज तथा उद्धार अभियानमा हेलिकोप्टरसमेत प्रयोग गरिएको थियो।
खोज तथा उद्धार कार्यालयका प्रमुख इ पुतु सुदायनाले जहाजमा ठूलो संख्यामा चालक दलका सदस्य र यात्रु रहेकाले अधिकारीहरूले उपलब्ध सबै जनशक्ति तथा स्रोतसाधन परिचालन गरिरहेको बताएका छन्। उनका अनुसार खोज तथा उद्धारका लागि समुद्री अधिकारीहरू र अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
साथै, मौसमको अवस्थालाई पनि नजिकबाट निगरानी गरिएको छ। यो घटना सुराबायाको ठीक अगाडि रहेको मदुरा द्वीपको समुद्री क्षेत्रमा एउटा फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको घटनाको एक महिनापछि भएको हो। करिब १७ हजार द्वीप मिलेर बनेको इन्डोनेसिया एक द्वीपबाट अर्को द्वीपमा यात्रा गर्न फेरी सेवामा ठूलो रूपमा निर्भर छ।
हवाई यात्राभन्दा समुद्री मार्ग सस्तो र सहज रूपमा उपलब्ध हुने भएकाले फेरी यहाँको प्रमुख यातायात माध्यम हो। तर, सुरक्षा मापदण्डहरू सधैं कडाइका साथ कार्यान्वयन नहुँदा इन्डोनेसियामा समुद्री दुर्घटनाको दर तुलनात्मक रूपमा उच्च रहेको छ। इन्डोनेसियामा यसअघि पनि जहाज डुब्ने धेरै ठूला दुर्घटनाहरू भएका छन् ।
सन् १९८१ मा टाम्पोमास २ नामक यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा ४३० जनाको मृत्यु भएको थियो । सन् २००६ मा खराब मौसमका कारण जाभा सागरमा सेनोपाटी नुसान्तारा नामक यात्रुवाहक जहाज डुब्दा दुर्घटनामा ४०० भन्दा बढी मानिसहरू बेपत्ता भएका थिए ।
सन् २००७ मा लेभिना १ जहाजमा आगलागी भई डुब्दा ५० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २०१८ मा दक्षिण सुलावेसीको तट नजिक लेस्तारी माजु नामक जहाज डुब्दा ३६ जनाको ज्यान गएको थियो ।




