काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन्। पार्टी सचिवालयको आइतबार बसेको पूर्ण बैठकले अर्याललाई महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। अर्याललाई पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीमा औपचारिक रूपमा प्रवेश गराएका हुन्। उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन्।
कार्यक्रममा अध्यक्ष घिसिङले नवप्रवेशी युवाको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे। युवाको अनुभव, क्षमता र दक्षताका आधारमा नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको उनले बताए। ‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन।’
देशका विभिन्न क्षेत्रमा व्याप्त समस्या र ‘अँध्यारो’ हटाएर विकास र समृद्धिको नेतृत्व गर्ने दाबी गर्दै घिसिङले विद्युत् खपत बढाउने नीतिको साटो बिजुलीमा भ्याट तथा कर लगाउने, विद्युतीय सवारीसाधनमा कर बढाउने र ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था सिर्जना गर्ने नीतिले देश विकास हुन नसक्ने बताए। उज्यालो नेपाल पार्टी कुनै निश्चित वादभन्दा जनतालाई प्रत्यक्ष सेवा र परिणाम दिने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो। नवनियुक्त महासचिव अर्यालले विभिन्न क्षेत्रका विज्ञसँगै अनुभवी र खारिएका युवाहरू पार्टी नेतृत्वमा जोडिएकाले उज्यालो नेपाल देश विकासका लागि उपयुक्त राजनीतिक विकल्प बन्न सक्ने दाबी गरे।


को हुन् दिवाकर अर्याल ?
धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिएका अर्याल लामो समयदेखि युवा नेतृत्व विकास तथा सामाजिक अभियानमा सक्रिय छन्। उनले औपचारिक दलगत राजनीतिमा प्रवेश गर्नुअघि युवा सहभागिता, नीति निर्माण र सार्वजनिक बहसका क्षेत्रमा काम गर्दै आएका थिए। प्लस–टु अध्ययनकै क्रममा युवालाई संगठित गर्ने उद्देश्यले ‘युथ पार्लियामेन्ट’को अवधारणा अघि सारेका अर्यालले २०६८ को अन्त्यतिर साथीहरूसँग मिलेर युथ पार्लियामेन्ट नेपाल दर्ता गरेका थिए। त्यसपछि युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउने उद्देश्यले उनले ‘मिनी संसद्’को अवधारणा अघि बढाए।
पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन गरिएको थियो। उक्त युवा संविधानसभाले विभिन्न विषयमा छलफल गरी संविधानको नमुना तयार गरेको थियो। सो नमुना संविधान तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत हस्तान्तरण गरिएको थियो।नेपालमा युवा अभियानलाई संस्थागत गर्ने प्रयासपछि अर्यालले त्यसलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरे। उनको नेतृत्वमा ग्लोबल युथ पार्लियामेन्ट स्थापना भयो। २०२४ मा प्रकाशित विवरणअनुसार त्यसबेला ग्लोबल युथ पार्लियामेन्टमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका थिए।
संस्थाका विभिन्न कार्यक्रममार्फत ८० भन्दा बढी देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमणसमेत गरिसकेको बताइएको छ। ग्लोबल युथ पार्लियामेन्टले युवा नेतृत्व विकाससँगै कला–संस्कृतिको आदानप्रदान र पर्यटन प्रवर्द्धनलाई समेत आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ। नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इटाली, जर्मनी, अस्ट्रेलिया, केन्या, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, ताइवान र इजिप्टलगायत देशमा संस्थाका कार्यक्रम भएका छन्।
अर्यालको युवा क्षेत्रमा योगदानलाई नेपाल सरकारले समेत सम्मान गरेको छ। उनलाई समाजसेवा रत्न–२०७९ बाट विभूषित गरिएको थियो। त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले २०८० मा युवा सशक्तीकरण तथा नेतृत्व विकास क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो।
पछिल्लो समय पनि अर्याल युवा राजनीतिक चेतना र नेतृत्व विकाससम्बन्धी गतिविधिमा सक्रिय थिए। २०८२ साउनमा देशका १६५ निर्वाचन क्षेत्रबाट छनोट भएका राष्ट्रिय युवा सांसदलाई शपथ गराउने कार्यक्रममा उनले ग्लोबल युथ पार्लियामेन्टका अध्यक्षका रूपमा शपथ गराएका थिए। युवा सांसद छनोटका लागि सात हजारभन्दा बढी आवेदन परेको थियो।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले युवा अभियानसँगै प्रविधि र सामाजिक उद्यमका क्षेत्रमा समेत काम गरेका छन्। उनले आईटी कम्पनी सञ्चालन गर्दै रोजगारी सिर्जनामा समेत योगदान गरेको उनको विगतको प्रोफाइलमा उल्लेख छ।




