प्लास्टिकबाट अब निस्किनेछ पेट्रोल र डिजेल, परीक्षण सफल

२९ भदौ ८३, सोमबार
Share this
737shares

२९ भदौ , काठमाण्डौ ।

Advertisement

विश्वभर निरन्तर बढिरहेको प्लास्टिकजन्य फोहोर पर्यावरणका लागि गम्भीर चुनौती बन्दै गएको छ । दैनिक जीवनमा प्रयोग हुने धेरै वस्तु प्लास्टिकबाट बनेका हुन्छन्। ती वस्तु फोहोरमा परिणत भएपछि पुनः प्रयोग गर्न निकै कठिन हुन्छ । यसबाट विश्वका सबैजसो राष्ट्र पीडित छन । तर अब अमेरिकी वैज्ञानिकहरूले यसको समाधानतर्फ महत्वपूर्ण सफलता हासिल गरेका छन्।

अमेरिकाको टेनेसीस्थित ओक रिज नेसनल ल्याबोरेटरी (ओआरएनएल) का अनुसन्धानकर्ताहरूले प्लास्टिकलाई तोडेर त्यसबाट पेट्रोल र डिजेलजस्ता इन्धन बनाउन सकिने प्रविधि विकास गरेका छन्। वैज्ञानिकहरूले आफ्नो प्रयोग विश्वमा सबैभन्दा धेरै प्रयोग हुने प्लास्टिकमध्ये एक पोलिइथिलिनमा गरेका थिए।

Advertisement

प्रयोगशालामा पोलिइथिलिनलाई तोड्न तातो पग्लिएको नुनको विशेष मिश्रण प्रयोग गरिएको थियो। करिब २०० डिग्री सेल्सियस तापक्रममा प्लास्टिकलाई प्रशोधन गर्दा करिब ६० प्रतिशत ग्यासोलिन प्राप्त भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार २०० डिग्री सेल्सियस तापक्रम प्लास्टिकलाई इन्धनमा रूपान्तरण गर्ने परम्परागत प्रविधिको तुलनामा निकै कम हो।

यस प्रक्रियामा सामान्यतया आवश्यक पर्ने केही उत्प्रेरक, सोल्भेन्ट तथा अन्य सामग्रीसमेत प्रयोग गर्नुपरेन। यस प्रक्रियाको मुख्य आधार एल्युमिनियम क्लोराइडयुक्त पग्लिएको नुन हो। तरल अवस्थामा पुगेसम्म तताइने यी नुनले प्लास्टिकको लामो आणविक संरचना तोड्न सहयोग गर्छन्।

Advertisement

अध्ययनका सह–लेखक झेनझेन याङका अनुसार अनुसन्धानकर्ताहरूले बजारमा उपलब्ध अकार्बनिक नुनलाई प्रतिक्रिया माध्यमका रूपमा प्रयोग गरी पोलिमरजन्य फोहोरलाई इन्धनमा रूपान्तरण गरेका हुन्। उनका अनुसार उत्प्रेरक इनिसिएटर वा सोल्भेन्टको प्रयोग नगरी, केवल २०० डिग्री सेल्सियसको तुलनात्मक रूपमा कम तापक्रममा प्लास्टिक फोहोरबाट उच्च मूल्यका रसायन उत्पादन गर्ने यो पहिलो प्रयोग हो।

सामान्यतया प्लास्टिकलाई रासायनिक रूपमा तोड्न ४५० देखि ५०० डिग्री सेल्सियससम्मको तापक्रम आवश्यक पर्ने गर्छ। त्यसैले २०० डिग्रीमै प्रक्रिया सफल हुनु महत्वपूर्ण उपलब्धि मानिएको छ।अनुसन्धानकर्ताहरूले पग्लिएको नुनले कसरी काम गर्छ भन्ने विषयमा पनि अध्ययन गरेका थिए। पोलिइथिलिन कार्बन र हाइड्रोजन परमाणुबाट बनेको लामो शृंखलायुक्त पदार्थ हो।

अनुसन्धानका क्रममा पग्लिएको नुनमा रहेका एल्युमिनियमका सक्रिय क्षेत्र अत्यधिक अम्लीय बन्ने र त्यसले रासायनिक प्रतिक्रिया सुरु गराउने पत्ता लागेको थियो। यस प्रतिक्रियाले पोलिइथिलिनको लामो आणविक शृंखलालाई साना हाइड्रोकार्बन अणुमा विभाजन गर्छ। यिनै हाइड्रोकार्बन यौगिकहरू पेट्रोललगायत विभिन्न इन्धनमा पाइन्छन्।

यो प्रविधिले प्लास्टिक फोहोर व्यवस्थापनसँगै फोहोरबाट उपयोगी इन्धन तथा रसायन उत्पादन गर्ने नयाँ सम्भावना देखाएको वैज्ञानिकहरूको भनाइ छ। विश्वमा अहिले पेट्रोल, डिजेल तथा अन्य प्रकारका इन्धन उत्पादनका लागि पेट्रोलियमबाहेक विभिन्न फोहोर तथा जैविक पदार्थ प्रयोग भइरहेका छन्। प्रयोग भइसकेको खाना पकाउने तेल त्यसको एउटा प्रमुख उदाहरण हो।

रेस्टुरेन्ट तथा घरबाट निस्कने वनस्पति तेललाई प्रशोधन गरेर बायोडिजेल उत्पादन गरिन्छ, जुन डिजेलको विकल्प वा डिजेलसँग मिश्रण गरेर प्रयोग गर्न सकिन्छ। त्यस्तै, जनावरको बोसोबाट पनि बायोडिजेल तथा नवीकरणीय डिजेल उत्पादन हुँदै आएको छ। मासु तथा कुखुरा प्रशोधनबाट निस्कने बोसोलाई विभिन्न रासायनिक प्रक्रियाबाट इन्धनमा रूपान्तरण गरिन्छ।

कृषि तथा वनजन्य फोहोर पनि इन्धनको महत्वपूर्ण स्रोत बन्न थालेको छ। धानको भुस, पराल, मकैका डाँठ, काठको टुक्रा तथा अन्य जैविक अवशेषलाई प्रशोधन गरेर बायो–तेल, बायोग्यास तथा अन्य प्रकारका इन्धन बनाउन सकिन्छ। कतिपय प्रविधिले यस्ता पदार्थबाट पेट्रोल र डिजेलजस्तै तरल हाइड्रोकार्बनसमेत उत्पादन गर्न सक्छन्।

पुराना टायरलाई उच्च तापक्रममा अक्सिजनबिना प्रशोधन गर्ने पाइरोलाइसिस प्रविधिबाट तेल, ग्यास र कार्बन ब्ल्याक निकालिन्छ। प्राप्त तेललाई थप प्रशोधन गरेर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्तै, घर तथा बजारबाट निस्कने जैविक फोहोरबाट बायोग्यास उत्पादन गरिन्छ।

यसमा मुख्यतः मिथेन हुन्छ, जसलाई प्रशोधन गरेर खाना पकाउने ग्यास, सवारीसाधनको इन्धन वा अन्य ऊर्जाका रूपमा प्रयोग गर्न सकिन्छ। उखु र मकैबाट पनि इथानोल उत्पादन गरिन्छ। चिनी वा स्टार्चलाई किण्वन गरेर बनाइएको इथानोललाई पेट्रोलमा मिसाएर सवारीसाधनमा प्रयोग गरिन्छ।

त्यसैले प्लास्टिकबाट पेट्रोल वा डिजेलजस्तो इन्धन निकाल्ने प्रविधि सफल भएमा यसको महत्व निकै ठूलो हुन सक्छ। विशेषगरी फोहोर व्यवस्थापन र ऊर्जा उत्पादनलाई एउटै प्रक्रियामा जोड्न सकिने भएकाले प्लास्टिकजन्य फोहोरलाई उपयोगी स्रोतमा बदल्ने सम्भावना देखिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top