काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उहाँ बिहीवार बिहान ७;३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । उनले आजै ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । त्यस्तै भाेलीपल्ट शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
शुक्रवार ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेकाे अर्थमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ । त्यस्तै वाग्ले ७:३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शनिवार विहान ९:३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् भने ११:३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी साेही दिन साँझ ४ बजे नेपाल फिर्किने तालिका रहेकाे छ ।
उनकाे भ्रमण टाेलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूताबास नयाँदिल्लीका उप नियोग प्रमुख डा.सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत रहेका छन् ।




