३ असोज , काठमाण्डौ ।
माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ । योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ । शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलमा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा १८ वटा शव फेला परेको हो । साँझ भेटिएका ५ वटा शव भने टनेल बाहिर निकाल्न बाँकी छ ।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्रको सुरूङमा ती शव फेला परेका हुन् । बाढी आउँदा आयोजनाको सुरुङभित्र कति जना मजदुर प्रवेश गरेका थिए भन्ने अझै यकिन भएको छैन ।
बाढीपछि यो आयोजनामा कार्यरत ४९२ जना सम्पर्कविहीन छन् । यहाँ एक हजार ४३३ जना कार्यरत थिए । कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो । यस्तै त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को टनेल र पावर हाउसमा पनि खोजि कार्य भइरहेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा शेष घले र उनकी पत्नी जमुना गुरुङको ‘एमआईटी ग्रुप फाउन्डेसन’ ले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीका कारण अभिभावक गुमाएका तथा प्रत्यक्ष रूपमा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले फाउन्डेसनले उक्त सहयोग उपलब्ध गराउने भएको हो । यसका लागि एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच समझदारीपत्र (एमओयू) समेत भएको छ।
समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्मको अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ । भोटेकोसी बाढीबाट बालबालिकाको पारिवारिक तथा शैक्षिक जीवनमा परेको असरलाई ध्यानमा राख्दै फाउन्डेसनले दीर्घकालीन रूपमा उनीहरूको शिक्षामा पहुँच कायम राख्ने पहल अघि बढाएको जनाएको छ ।
कक्षा १२ सम्म अध्ययन गर्न पाउने व्यवस्थाले बाढीका कारण अभिभावकविहीन वा आर्थिक रूपमा कमजोर बनेका बालबालिकालाई विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उता भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा वाग्ले सहभागी भएका हुन् ।
सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरूलाई लगानी विस्तारका लागि आह्वान गरेका हुन् । साथै लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरूलाई जानकारी गराएका छन् ।
तीनदिने भ्रमणका लागि बिहीबार भारत पुगेका अर्थमन्त्री वाग्लेले त्यही दिन साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए । भ्रमणको दोस्रो दिन शुक्रबार उनले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आजै नेपाल फर्कने कार्यक्रम छ ।
तर वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्यान्डको पनि भ्रमण गर्ने भएका छन् । हालैको भोटेकोशी बाढीपछिको विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्यायको मुद्दा उठाउन उनले ती मुलुकमा छलफल गर्ने भएका हुन् ।
वाग्ले सेप्टेम्बर २८ र २९ मा कतारको दोहामा हुने एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुँदैछन्। नेपाल एआईआईबीको संस्थापक सदस्य हो र विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ । ’म दोहा जाँदैछु, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका लागि ।
त्यसपछि म अमेरिका–न्युयोर्क र वासिङ्टन डीसी–जानेछु र विश्व बैंक तथा संयुक्त राष्ट्रसंघसँग कुरा गर्नेछु,’ वाग्लेले भारतीय समाचार संस्था एएनआईसँग भनेका छन् । तर अमेरिकाको भ्रमण भने अझै निश्चित भइनसकेको उनले द पोस्टलाई बताएका छन्।
अमेरिकामा वाग्लेले विश्व बैंक र संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग छलफल गर्ने तयारी रहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको वार्षिक बैठक अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा हुँदैछ। वाग्ले उक्त बैठकमा सहभागी हुने तयारीमा छन् ।
’अक्टोबरको मध्यतिर ब्रेटन उड्स संस्थाहरूको बैंककमा वार्षिक बैठक हुँदैछ, जहाँ म हुनेछु,’ उनले भने । बहुपक्षीय मञ्चमा नेपालमा भएको जलवायुजन्य विपद्को प्रभाव र विश्वको तापक्रम बढ्दै जाँदा यस्ता घटना थप बारम्बार र तीव्र हुन सक्ने विषय उठाउने वाग्लेले बताएका छन्।
यस्ता विपद्का असर नेपालमा मात्र नभई भारतलगायत छिमेकी मुलुकमा समेत पर्न सक्ने उनको भनाइ छ । दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर र अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा वाग्लेले विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल गरेका छन् ।
उनले नेपालको पुनर्निर्माणमा भारतबाट सम्भावित सहयोगका लागि आग्रहसमेत गरेका छन्। विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) पूरा भएपछि पुनर्निर्माण प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । यसबीच प्रधानमन्त्री बालेन्द्र शाह पनि संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा छन् ।
उनले नेपालजस्ता गरिब तथा जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको असर कसरी भोगिरहेका छन् भन्ने विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने वाग्लेले बताए । ’विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा हाम्रो योगदान निकै कम छ, तर यसको परिणाम देशका गरिब नागरिकले भोगिरहेका छन्। त्यसैले हामी यही विषयलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्दै सहयोग र ऐक्यबद्धता खोज्नेछौं,’ उनले भने ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार जलवायु परिवर्तन, जलवायु संकट, अनुकूलन, न्यूनीकरण, वैज्ञानिक अनुसन्धान, पूर्वसूचना प्रणाली, पर्वतीय मुलुकबीचको सहकार्य, जलवायु न्याय तथा क्षति र नोक्सानीबापतको क्षतिपूर्ति नेपालको कूटनीतिक प्राथमिकतामा पर्नेछन् ।
वाग्लेका अनुसार प्रारम्भिक मूल्यांकनमा भौतिक क्षति करिब २ अर्ब अमेरिकी डलर र थप आर्थिक नोक्सानी करिब १ अर्ब डलर अनुमान गरिएको थियो। पुनर्निर्माण गर्दा भने लागत ४.५ देखि ५ अर्ब डलरभन्दा बढी पुग्न सक्ने उनले बताएका छन् । ’तर यो प्रतिस्थापन मूल्यका आधारमा हो। हामीले अझ राम्रो र सुरक्षित रूपमा पुनर्निर्माण गर्दा आगामी केही वर्षमा यो ४.५ अर्बदेखि ५ अर्ब डलरभन्दा बढी हुन सक्छ। यसका लागि ठूलो अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोग आवश्यक पर्नेछ,’ उनले भने।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानीका क्रममा भारतीय सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गर्दै वाग्लेले पुनर्निर्माणमा भारतको सहयोगमा पनि भर पर्ने बताए । नेपालको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि भारत रोज्नुको कारण दुई देशबीचको निकट सम्बन्ध र विपद्पछि भारतले गरेको तत्काल सहयोग रहेको वाग्लेको भनाइ छ ।



