जापानी विदेशमन्त्री मोटेगीसँग खनालको भेट, विपद् सहयोगदेखि द्विपक्षीय सम्बन्धसम्म छलफल

६ असोज ८३, मंगलबार
Share this
683shares

काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, विपद् व्यवस्थापन, नेपाल–जापान सम्बन्ध र आगामी सहकार्यका विषयमा छलफल भएको हो।

Advertisement

भेटमा जापानी विदेशमन्त्री मोटेगीले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरे। उनले विपद् प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए।

जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि विदेशमन्त्री मोटेगीले व्यक्त गरे।परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए। उनले विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसहितको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए।

Advertisement

भेटवार्तामा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको विषयमा पनि छलफल भएको थियो।जापानी विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणका क्रममा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top