काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ। ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बैठक जारी छ। बिहीबारको उद्घाटन सत्रमा महासचिव शंकर पोखरेललाई कार्यक्रम सञ्चालन गर्न नदिई अध्यक्ष केपी शर्मा ओली आफैंले बैठक सञ्चालन गरेका थिए। अध्यक्ष ओलीले आजदेखि बैठक हलभित्र मोबाइलबाट तस्बिर तथा भिडियो खिच्न र रेकर्ड गर्न नपाइने भन्दै मोबाइल हल बाहिरै राख्न निर्देशन दिएका थिए। सोहीअनुसार आज केन्द्रीय कमिटीका सदस्य तथा पदाधिकारीलाई बैठक हलभित्र मोबाइल लैजान दिइएको छैन।
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज उठिरहेका बेला अध्यक्ष ओली र महासचिव पोखरेलबीच दूरी बढेको चर्चा हुँदै आएको छ। आफू निकट रहेका नेताहरू नै नेतृत्वविरुद्ध लाग्न थालेको भन्दै ओली असन्तुष्ट रहेको संकेत साेमवारको बैठकमा उनको सम्बोधनबाट देखिएको थियो।ओलीले पार्टी संकटमा रहेका बेला भित्रैबाट पार्टीलाई अप्ठ्यारो पार्ने प्रवृत्ति हाबी भएको बताएका थिए। अप्ठ्यारो अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा पार्टीबाहिर र सञ्चारमाध्यममा गएर अध्यक्ष हटाउने विषय उठाउनु अनुशासनहीनता भएको उनको भनाइ थियो।
एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आजदेखि केन्द्रीय कमिटी सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ। प्रत्येक सदस्यलाई पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्न अधिकतम तीन मिनेटको समय दिइएको छ।अध्यक्ष ओलीले साेमवार बैठकमा प्रस्तुत गरेका नौवटा एजेन्डामध्ये आठवटामाथिको कारबाही आजदेखि सुरु हुने आचार्यले बताए। आज केन्द्रीय कमिटी सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन र स्थायी कमिटी गठनलगायतका एजेन्डा अघि बढाउने तयारी छ।त्यस्तै, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा पार्टीको दृष्टिकोण तय गर्ने एजेन्डा पनि बैठकमा अघि बढाइनेछ।

एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनपछि उनीहरूले बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ। पोलिटब्युरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँड भने भोलि गर्ने तयारी छ। हिजाेको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।



