काठमाडाैं । प्रधानमन्त्री बोलेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क जानेछन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ। टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार,शिष्टाचार महापाल कुमार खरेल,निजी फोटोग्राफर विनय शाक्य,शिष्टाचार अधिकृत महेश यादव,अङ्गरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट,डिएसपी दिपेश बस्याल पनि छन् । परराष्ट्र मन्त्री र सचिव र सहसचिवको टोली भने यसअङि नै न्यूयाेर्क पुगिसकेका छन् ।
प्रधानमन्त्री दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्। सोही दिन शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्ने कार्यक्रम छ। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन्। त्यसलगत्तै प्रधानमन्त्री शाहज्यू उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ।

असोज ८ गते (२४ सेप्टेम्बर) सम्माननीय प्रधानमन्त्रीज्यू र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीज्यू असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा प्रस्थान गर्नेछन्। प्रधानमन्त्रीज्यूलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्नेछन् । प्रधानमन्त्री यही असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने तालिका छ।




