त्रिवि क्रिकेट मैदानमा खेल उत्सव,पहिलो पटक विश्वकप, एनपीएलको तयारी

१६ असोज ८३, शुक्रबार
Share this
691shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने काम तीव्र पारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएललाई लक्षित गर्दै मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणको काम अघि बढाएको हो।

अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ। कात्तिक – देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलमा यसपटक खेललाई थप पारदर्शी र निष्पक्ष बनाउन डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगको तयारीसमेत गरिएको छ।

Advertisement

नयाँ संरचना र प्रविधिको प्रयोगसँगै त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलका खेललाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) मात्र नभई आइसिसी यू–१९ महिला विश्वकपको तयारीमा पनि जुटेको छ ।

आगामी पुसमा आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दैछ । एनपीएलको तेस्रो संस्करण कात्तिकदेखि सुरु हुने तालिका छ।

Advertisement

यी दुई ठूला प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए।

उनले आगामी अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्षित गरी मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको बताए। विशेषगरी एनपीएलका अघिल्ला संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको उनको भनाइ छ।

‘विगतमा जुन–जुन ठाउँमा त्रुटि भएको थियो त्यसलाई यसपटक सच्याउने प्रयास हामी गर्नेछौं। दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ किनकि उहाँहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ’, उपाध्यक्ष सिंहले भने।दर्शकको सुविधाका लागि पार्किङदेखि अन्य व्यवस्थापनका काम व्यवस्थित गर्न लागिपरेको उनले बताए।

‘बाइक स्ट्यान्ड, सवारी पार्किङलाई व्यवस्थित गर्न लागेका छौँ। दर्शकलाई अप्ठ्यारो कहाँ–कहाँ हुन्छ र त्यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा हामीले ध्यान केन्द्रित गरेका छौँ’, उनले भने। एनपीएलका पहिलो र दोस्रो संस्करणमा देखिएका कमजोरीलाई सुधार गर्दै यसपटक मैदानमा कुनै पनि किसिमको त्रुटि नहोस् भन्नेमा क्यानले ध्यान दिएको उपाध्यक्ष सिंहले बताए।

नेपालले पहिलोपटक आयोजना गर्ने यु–१९ महिला विश्वकपका खेल टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल सञ्चालन हुने उपाध्यक्ष सिंहले बताए। प्रतियोगितालाई लक्षित गरी मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), एसियाली क्रिकेट परिषद् (एसिसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको उनले जानकारी दिए।

मूलपानी क्रिकेट मैदान लामो समयदेखि निर्माण तथा स्तरोन्नतिका क्रममा रहे पनि अझै पूर्ण रूपमा तयार हुन नसकेमा उपाध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए। उनले मैदान निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यान जानुपर्ने बताए।

क्रिकेटले नेपाललाई अन्तरराष्ट्रिय रूपमा चिनाउनुका साथै नेपालीमा खुसी दिएको उल्लेख गर्दै उनले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । ‘क्रिकेटले देशलाई चिनाएको छ। क्रिकेटले एउटा खुसी दिएको छ’, उपाध्यक्ष सिंहले भने।

उनले मूलपानी क्रिकेट मैदानको निर्माणलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिए। नेपालमा अन्तरराष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माण भएमा भविष्यमा ठूला अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने उनको भनाइ छ।

‘चाँडोभन्दा चाँडो मैदान निर्माण गरेर अन्तरराष्ट्रिय जगत्मा नेपालमा पनि कम्तीमा दुईवटा ठूला ग्राउन्ड भएको देखाउनुपर्छ’, उनले भने। नेपालमा कम्तीमा दुईवटा ठूला क्षमताका अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माण भएमा विश्वकप, एसिसी प्रिमियर कप, एसिया कप, विश्वकप छनोटलगायतका ठूला प्रतियोगिता आयोजना गर्न सकिने क्यानको विश्वास छ।

त्यस्ता प्रतियोगिता नेपालमा आयोजना हुँदा आर्थिक गतिविधिमा योगदान पुग्ने उपाध्यक्ष सिंहले बताए। ‘भोलिको दिनमा भारत र पाकिस्तान, एसिसी कप, विभिन्न टुर्नामेन्ट नेपालले होस्ट गर्न पाउँछ। त्यसबाट आर्थिक लाभ हुन्छ’, उनले भने।

ठूला प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। मूलपानी मैदानको निर्माणले पूर्णता पाएमा नेपालको क्रिकेट पूर्वाधार थप बलियो हुने क्यानले जनाएको छ।

यता, नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।

सोमपाल कामी, कुशल भुर्तेल भने यस टोलीमा छैनन्। लिग २ यही अक्टोबर ७ देखि ओमानमा हुँदै छ । यो सिरिजमा नेपाल र ओमानसहित क्यानडाबीच प्रतिस्पर्धा हुँनेछ। लिग–२ साइकलको नेपालले आफ्ना ८ सिरिजका ३२ खेल खेलिसकेको छ।

अब ओमानमा चार खेल खेलेसँगै नेपालले लिग–२ का सबै ३६ खेल खेल्नेछ। नेपालले सिरिजमा पहिलो खेल असोज २५ गते क्यानडासँग खेल्नेछ। लिग–२ का आठ टोलीमध्ये नेपाल २४ अंकसहित अंक तालिकाबाट पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ।

लिग–२ मा सबै खेल खेलेको शीर्ष स्थानको स्टकल्यान्डको ३६ खेलबाट ४५ अंक छ। अन्तिम सिरिज खेल्न बाँकी दोस्रो स्थानको अमेरिकाको ३२ खेलबाट ४३ अंक र तेस्रो स्थानको नेदरल्यान्ड्सको समान खेलबाट ३८ अंक छ। तीनै टोलीले शीर्ष चार स्थान पक्का गरेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्।

चौथो स्थानको ओमानको २८ खेलबाट ३१ अंक, पाँचौ स्थानको नामिबियाको ३२ खेलबाट २८ अंक र छैटौं स्थानको क्यानडाको ३२ खेलबाट २५ अंक छ। नेपाल ३२ खेलबाट २४ अंक जोडेर सातौं र अन्तिम स्थानको युएईको २८ खेलबाट १८ अंक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top