०१ मंसिर , काठमाण्डौ । जापानमा मस्तिष्कघात भएपछि विगत ६ महिनादेखि उपचार गराइरहेकी २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो। स्वदेश फर्किएलगत्तै उनको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको छ।
सोमबार नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी विष्णुलाई स्वागत गर्न डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई सिधै सिनामंगलस्थित केएमसी शिक्षण अस्पताल पु¥याएर भर्ना गरिएको हो। अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार प्रक्रिया अघि बढाएको जनाएको छ।स्वदेश फर्किएपछि विष्णुले आफू कहाँ रहेको भन्दै डा. शर्मालाई प्रश्न गरेकी थिइन्। जवाफमा डा. शर्माले उनलाई आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको जानकारी गराएका थिए। आफू नेपाल फर्किएको र स्वदेशमै उपचारको व्यवस्था मिलेको थाहा पाएपछि उनी भावुक बनेकी थिइन्।
डा. शर्माले विष्णु अस्पतालबाट डिस्चार्ज नहुँदासम्म उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराइने उनले बताए। आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने उनको भनाइ छ।

रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। त्यसपछि जापानमै उपचार गराउँदै आएकी उनको उपचार लामो समयसम्म चल्दा आर्थिक भारसमेत बढ्दै गएको थियो। उपचार खर्च जुटाउन कठिन भएपछि परिवारलाई उनलाई स्वदेश फर्काउनसमेत समस्या भइरहेको थियो। यही परिस्थितिमा डा. शर्माको पहलपछि उनलाई नेपाल ल्याउने व्यवस्था मिलाइएको हो।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा संलग्न डा. शर्माले यसअघि पनि आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ। त्यस्तै, विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उनी संलग्न रहँदै आएका छन्।
छ महिनासम्म परदेशमा उपचार गराउन बाध्य भएकी विष्णु अहिले स्वदेश फर्किएर परिवारको साथमा थप उपचार गराइरहेकी छन्। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी उनका लागि स्वदेशमै निःशुल्क उपचारको व्यवस्था भएपछि परिवारमा थप आशा पलाएको छ।



