६ मंसिर , काठमाण्डौ । कतारमा जारी एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ । कुशल भुर्तेलले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आइतबार युएईलाई हराउँदै पहिलो खेलमा भारतसँग भोगेको लज्जाजनक हारको घाउमा मल्हम लगाएको छ । पहिलो इनिङमा ३ विकेट लिएका भुर्तेलले ब्याट्बाट अर्धसतकीय इनिङ खेलेपछि कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाएर पूरा गरेको थियो ।
५६ बल सामना गरेका ओपनिङ ब्याटर भुर्तेलले ६ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान गरेका थिए । चौथो विकेटका लागि भुर्तेलले बसिर अहमदसँग ४३ रनको साझेदारी गरे । ८ रनमै २ विकेट गुमाइसकेको नेपालको इनिङ उकास्न तेस्रो विकेटका लागि भुर्तेलले र मायन यादवसँग ६१ रनको साझेदारी गरेका थिए ।मायनले २८ बलमा ४ चौका र १ छक्कासहित २७ रनको योगदान गरे । बसिरले ३१ बलमा १८ रन बनाएका थिए । भुुर्तेल आउट भएपछि आएका पवन सर्राफले ९ बलमा २ चौकासहित ९ रनको योगदान गरे । युएईका मुहमद मोहसिनले २ विकेट लिँदा उदिस सुरी र अंश टण्डनले १÷१ विकेटमा नाम लेखाए । लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुमै दुई झट्का बेहोर्नुपरेको थियो । दोस्रो ओभरमा ८ रन बनाउँदा नेपालले लगातारका बलमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरको पाँचौं र छैटौं बलमा मुहमाद मोहसिनले नेपालका अर्जुन कुमाल र देव खनाललाई पवेलियनको बाटो देखाएका थिए । ५ रन बनाएका कुमाल र खाता खोल्नै नपाएका देव दुवैलाई मोहसिनले विकेटविकर आफ्ताब आलमबाट स्टम्पिङ गराएका थिए ।त्यसअघि टस जितेर फिल्डिङ राजेका कप्तान सन्दीप लामिछानेले बलिङ आक्रमणको नेतृत्व गर्ने क्रममा १० ओभर बलिङ गर्दै १.१० को इकोनोमीमा २४ रन दिँदै ३ विकेट लिए । ३ ओभर मेडन राखेका सन्दीपले १० ओभरमा कुल ११ रन मात्र दिएका थिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, नन्दन यादव र रसिद खानले थप १–१ विकेट लिएपछि युएईले ३९.५ ओभरमा १२१ रन बनाउँदा सबै विकेट गुमाइसकेको थियो । कुशलले ५ ओभरमा २ मेडन राख्दै १५ रन खर्चेका थिए । युएईका लागि मोहम्मद शाहदादले बनाएको ४० रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । साहदादले कुशल भुर्तेलको बलमा नन्दन यादवबाट समातिनुअघि ७० बल खेल्दै ५ चौकाको मद्दतमा उक्त योगफल तयार गरेका थिए ।
टोलीका लागि हरप्रित सिंहले ३२ रनको योगदान गरे । ४८ बलमा ४ चौका प्रहार गरेका हरप्रितलाई नेपाली कप्तान सन्दीपले अर्जुन कुमालको हातबाट क्याच गराएर पवेलियनको बाटो देखाएका थिए । नेपाली बलरको प्रदर्शन प्रभावशाली रहँदा युएईका लागि शाहदाद र हरप्रितबाहेक दोहोरो अंकमा स्कोर गर्ने एकमात्र खेलाडी नूरुल्लाह अयोबी थिए । नुरुल्लाहले कुशल भुर्तेलको बलमा रसिद खानबाट क्याच हुनुअघि २४ बलमा १ छक्कासहित १२ रन बनाएका थिए । समूह ‘बी’ मा रहेको नेपालले शुक्रबार भारत ‘ए’ सँगको खेलमा ३०६ रनको लज्जाजनक हार भोगेको थियो । भारतसँगको खेलमा पनि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । समूह ‘बी’ मा नेपालसँगै भारत र पाकिस्तानका ‘ए’ टिम छन् भने युएइको सिनियर टिम छ ।

भारतसँग पहिलो खेलमा नेपाल ३०६ रनले पराजित हुँदा ३३३ रनको लक्ष्य पछ्याउने क्रममा ११.३ ओभरमा २६ रन बनाउँदा सबै विकेट गुमाइसकेको थियो । नेपालले अब पाकिस्तानसँग तेस्रो खेल मंगलबार खेल्नेछ । पाकिस्तान र युएईबीचको पहिलो खेलमा पाकिस्तान ६१ रनले विजयी भएको थियो । ५० ओभरको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । आज नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १००औँ खेल खेलेको हो । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले त्यही वर्षको अगस्टमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सँग खेलेको थियो । त्यो खेलमा नेपाल पराजित भएको थियो । यस्तै आजको खेलमा नेपालबाट लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । पहिलो जितसँगै नेपालले समूह ‘बी’ मा दुई अंक जोडेको छ । दुवै खेल गुमाएको यूएई अंकविहीन छ ।अब नेपालले मंगलबार पाकिस्तान ए सँग खेल्नेछ ।



