१९ असोज , काठमाण्डौ ।
आफू हुर्किएको, खेलेको थलो एकै छिनमा बगर बन्यो। भोटेकोसीको बाढीले वर्षौंदेखि सजाएका सपना सबै बगायो ।
सबै गुमाएपछि पनि गायक प्रचण्ड राईसँग एउटा कुरा बाँकी रह्यो । उनको आवाज ।

त्यही आवाजमा आफ्नो पीडा उतारेर उनले ल्याएको म्युजिक भिडियो ‘खोइ कहाँ छ मेरो गाउँ’ सार्वजनिक भएको छ।


प्रकृतिको कहालीलाग्दो विपत्ति, बाढीले निम्त्याएको पीडा, गुमेका आफन्त, उजाडिएका घर–आँगन र हजारौँ मानिसका भावना यो गीतमा समेटिएको छ।
भोटेकोसीको बाढीले धेरै परिवारलाई एकै रातमा घरबारविहीन बनाएको छ।
“बाढीले सबैको घर लग्यो, जमिन लग्यो, अनि सँगसँगै धेरै सपना पनि बगाएर लग्यो । तर मेरो आवाज अझै बाँकी छ । यही मेरो शक्ति हो र चर्किएको छातीको औषधि पनि,“ राईले भनेका छन् ।
गीतमा चर्चित संगीतकार हरि लम्सालले संगीत दिएका छन् भने उमेश लम्सालले शब्द रहेको छ ।

शिवन पोखरेलको निर्देशन रहेको बाढीग्रस्त नुवाकोटको देविघाटमा खिचिएको भिडियोमा गायक राई र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ ।
रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो ।
साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४१३ वटा डिएनए नमुना संकलन गरिएको छ ।
साथै, पहिचान नभएको १ हजार ४३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २२६ जना व्यक्तिहरूलाई राखिएको छ ।



