२३ असोज , काठमाण्डौ ।
अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएको प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा हवाइजहाज, हेलिकोप्टर र ड्रोन समावेश छन् ।
गुप्तचर, निगरानी, हवाई सहयोग तथा उद्धार कार्यमा प्रयोग हुने एमक्यू–९ रिपर ड्रोन क्षतिग्रस्त वा नष्ट भएका कुल विमानमध्ये आधाभन्दा बढी छन् । क्षतिग्रस्त वा नष्ट भएका विमानको सूचीमा पेन्टागनका महँगा र अत्याधुनिक सैन्य प्रविधिसमेत छन् ।

तीमध्ये एफ–३५ए लडाकु विमान र ई–३ सेन्ट्री प्रमुख छन् । चार इन्जिनयुक्त ई–३ सेन्ट्रीमा राडार डोम जडान गरिएको हुन्छ । यसको प्रयोग लक्ष्यको निगरानी तथा हवाई क्षेत्रको व्यवस्थापनमा गरिन्छ ।कंग्रेसनल बजेट अफिस (सीबीओ)को तथ्यांक उदृत गर्दै प्रतिवेदनले रक्षा मन्त्रालयको मर्मत वा नयाँ खरिद योजनाका आधारमा विमान क्षतिको कुल लागत १.९ अर्बदेखि ३.३ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको छ ।
सीएनएनले उद्धृत गरेका स्रोतहरूका अनुसार युद्धको कुल लागत कम्तीमा ४५ अर्ब अमेरिकी डलर पुगिसकेको छ । यसमा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा भएको पूर्वाधार क्षति समावेश छैन । क्षतिग्रस्त केही विमान मर्मतपछि पुनः सेवामा फर्काइएको बताइएको छ ।

जसमा गत सेप्टेम्बरमा जोर्डनस्थित मुवफाक साल्टी एयर बेसमा इरानी आक्रमणबाट सामान्य क्षति पुगेका आठवटा एफ–१५ स्ट्राइक इगल लडाकु विमान मर्मत गरिएको हो । पेन्टागनले विमान क्षतिबारे पूर्ण र पारदर्शी विवरण नदिएको भन्दै सांसदहरूले आवश्यक जानकारी प्राप्त गरिरहेका छन् वा छैन भन्ने प्रश्न उठाएको बताइएको छ ।
क्षतिग्रस्त विमान मर्मत तथा नयाँ विमान खरिद गर्न थप बजेट उपलब्ध गराउने कि नगराउने भन्ने विषयमा छलफल भइरहेको छ । ई–३ सेन्ट्रीजस्ता पुराना र सीमित संख्यामा रहेका अत्याधुनिक विमानको क्षतिले विश्वका अन्य क्षेत्रमा अमेरिकी सैन्य क्षमता र सुरक्षा सन्तुलनमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
एटलान्टिक काउन्सिलको प्रतिवेदनअनुसार यस वर्ष मध्यपूर्वमा मात्रै ४५ वटा एमक्यू–९ रिपर ड्रोन नष्ट भएका छन् । सन् २००४ यता अमेरिकी वायुसेनाले आफ्ना कुल एमक्यू–९ ड्रोनमध्ये करिब ३५ प्रतिशत गुमाइसकेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश र इरानबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । नोभेम्बर ३ तारिखमा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै आक्रमण नहुने पनि उनले बताएका छन् ।
गत फेब्रुअरी २८ तारिखमा अमेरिकाले इजरेलसँग मिलेर ’अपरेशन एपिक फ्यूरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो । त्यसयता उनले इरानविरुद्ध छिट्टै विजय हासिल गर्ने उद्घोष गर्दै आए पनि दुई देशबीचको द्वन्द्व यथास्थितिमा कायम छ ।
केही अमेरिकी सञ्चारमाध्यमहरूले नोभेम्बरको मध्यावधि चुनावअगाडि नै पेन्टागनले इरानमाथि हमला गर्ने सम्भावनाका विवरण दिइरहेका बेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले इरानसँग अमेरिकाले उनकै शब्दमा ’सार्थक वार्ता’ गरिरहेको पनि बताए ।
ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको बताए पनि नाकाबन्दी पूर्ण रूपमा कायमै रहने बताएका छन् । “इस्लामिक गणतन्त्र इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ। म सबैलाई स्पष्ट पार्न चाहन्छु कि इरान आर्थिक, सैन्य र दुवै पक्षमा निकै खराब अवस्थामा छ। यसका बावजुद नाकाबन्दी पूर्ण रूपमा कायमै रहने छ । स्ट्रेट अफ होर्मुजबाट उल्लेख्य रूपमा तेल गइरहेको छ । हिजो राति मात्र २२ मिलियन ब्यारेल तेल पार भयो र एक ब्यारेल पनि इरानबाट आएन। न त इरानमा नै गएको छ,“ सामाजिक सञ्जाल ट्रूथ सोसलमा उनले लेखेका छन् ।
“हामी अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै पनि बेला आक्रमण गर्ने छैनौँ। इरानसँग परमाणु हतियार हुने छैन।“ यसअघि स्ट्रेट अफ होर्मुज पुनः खुलाउने विषयमा इरानले अघि सारेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए ।
त्यसपछि तेहरानले अमेरिकी वार्ताकारहरूबाट आधिकारिक धारणाको प्रतीक्षा गर्ने जनाएको थियो ।
ट्रम्पले प्रस्ताव अस्वीकार गरेको इरानका विदेशमन्त्री अब्बास अरागचीले टेलिग्राममार्फत् बताएका हुन् ।
त्यसपछि ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले इरानको प्रस्ताव “स्वीकार्य नभएको“ भन्दै तेहरानले ठूलो घाटा बेहोरिरहेकोले स्ट्रेट अफ होर्मुज तत्काल खुलाउन चाहेको बताएका थिए ।





