एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दर्ता, नेम्बाङ र राई फरार सूचीमा !

२३ असोज ८३, शुक्रबार
Share this
688shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो ।

मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे छन् । सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) बमोजिम मागदाबी गरेको छ ।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा एन्फाको नेतृत्वबाट विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालिएको थियो। त्यसकै आधारमा सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाएको हो ।

सीआईबीको प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालमा हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको निष्कर्ष निकालिएको छ ।

Advertisement

दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुने गरी गतिविधि गरिएको र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेलाउन निर्देशन दिनुअघि नै एन्फा महासचिव राईले बहराइनमा खेल्ने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बहराइन फुटबल संघबाट खेलको टिकट बिक्री राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको तथा खेलका लागि बहराइनका खेलाडी र पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

सीआईबीले केल्मी ब्रान्डका खेल सामग्री खरिदमा पनि अनियमितता भएको निष्कर्ष निकालेको छ । १० लाख रुपैयाँभन्दा माथिको खरिदमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था पालना नगरेको र खरिद प्रक्रियामा सहभागी तीन कम्पनी एउटै स्वामित्वअन्तर्गत रहेको राखेपको उपसमितिको प्रतिवेदनले औँल्याएको छ ।

पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको र वितरणमा समेत अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, फिफाबाट प्राप्त विश्वकपका ३३० अनलाइन टिकटको वितरण तथा बिक्रीमा पारदर्शिता नदेखिएको र शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद तथा प्रायोजन रकममा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ ।

मुद्दा दायर गरिएका चार जनामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा छन्। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ ।

सीआईबीले एन्फा नेतृत्वका पदाधिकारीले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को अनुमति नलिई सम्झौता गर्ने, विदेश भ्रमणमा टोली लैजाने तथा खरिद प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष निकालेको थियो ।

एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकुले पनि आफ्नो नाममा चार टिकट लिएर आफूले नचिनेका व्यक्तिलाई हस्तान्तरण गरेको स्वीकार गरेकी छन्। फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा आयोजना भएको थियो ।

एन्फाले २०८२ पुस ७ गते जारी गरेको पत्रअनुसार विश्वकप अवलोकनका लागि एन्फामा आबद्ध प्रत्येक सदस्य संघ, संस्था तथा क्लबलाई एक थान टिकट खरिद गर्न उपलब्ध गराउने व्यवस्था गरिएको थियो। इच्छुक संस्थालाई तोकिएका सर्तअनुसार २०८२ पुस ११ गते कार्यालय समयभित्र एन्फा सचिवालयमा सिफारिस पत्र बुझाउन भनिएको थियो ।

फिफाले एन्फालाई उपलब्ध गराएका ३३० वटा अनलाइन टिकट जिल्ला तथा प्रदेश फुटबल संघ, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लब, रेफ्री, प्रशिक्षक तथा राष्ट्रिय खेलाडीलाई खेल प्रवद्र्धनका लागि वितरण गर्नुपर्ने विवरणमा उल्लेख छ ।

टिकटको भुक्तानी फिफाले एन्फालाई दिने अनुदानबाट कट्टा हुने वा एन्फाको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक खाताबाट हुने व्यवस्था थियो । टिकट बिक्रीबाट प्राप्त रकमबारे लेखा अधिकृत सञ्जीव पाण्डेले दिएको जवाफले कारोबारको यकिन विवरणमाथि प्रश्न उठाएको छ।

‘३ करोडभन्दा बढी रकम खातामा जम्मा भएको छ, यकिन रकम र मिति याद भएन,’ उनले बयानमा भनेका छन् । टिकट कुन दररेटमा बिक्री भयो, कुन व्यक्तिले कति टिकट खरिद गरे र बिक्रीबाट प्राप्त रकम कुन मितिमा दाखिला गरियो भन्ने पूर्ण विवरण कोषाध्यक्ष रवीन्द्र जोशी तथा लेखा अधिकृत पाण्डेले प्रस्तुत गर्न नसकेको बयानमा उल्लेख छ।

एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकुले आफ्नो नाममा चारवटा टिकट लिएको र कुमारी बैंकमार्फत एन्फाको खातामा रकम जम्मा गरेको बयान दिएकी छन्। उनले ती टिकट आफूले नचिनेका रवि रञ्जन कुमार र बलराम उपाध्यायलाई हस्तान्तरण गरेको स्वीकार गरेकी छन्।

क्वार्टरफाइनल खेलका दुईवटा टिकट विनोद अधिकारी नामको फेसबुक पेजबाट बिक्रीका लागि सार्वजनिक गरिएको फेला परेको थियो। उक्त पेजमा ‘अफ सेल टू फिफा वल्र्ड कप २०२६ क्वार्टरफाइनल टिकेट्स’ लेखिएको थियो । संस्थागत प्रयोजनका लागि प्राप्त टिकट व्यक्तिगत व्यक्तिमार्फत हस्तान्तरण भएको र टिकटको अन्तिम प्राप्तकर्ता तथा कारोबारको पूर्ण विवरण स्पष्ट नभएको विषयले एन्फाको टिकट व्यवस्थापन र लेखांकन प्रक्रियामाथि प्रश्न उठाएको छ । ‘प्रत्येक टिकटको अन्तिम प्राप्तकर्ता तथा कारोबारको पूर्ण विवरण स्पष्ट रूपमा स्थापित हुन नसक्नुले संस्थागत टिकट व्यवस्थापन तथा लेखांकनमा प्रश्न उठाएको देखिन्छ,’ सीआईबीले प्रतिवेदनमा भनेको छ ।

यता सीआईबीले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै एन्फाका निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेसँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् ।

प्रतिवेदनमा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फरारका रूपमा उल्लेख गरिएको छ । यी दुईसँगै प्रशासन प्रमुख गोकुल थापासमेत फरार रहेका छन् । यी तीनै जना भारतमा रहेको आशंका गरिएको छ ।

अब सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन र उपलब्ध प्रमाणका आधारमा मुद्दा चलाउने विषयमा आवश्यक निर्णय गर्नेछ । यस प्रकरणमा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । सीआईबीको सिफारिसपछि प्रकरणमा थप कानुनी प्रक्रिया अघि बढ्ने देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top