२३ असोज , काठमाण्डौ ।
आज शुक्रबार पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने र विभिन्न प्रदेशमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले हिमाली तथा पहाडी भूभागमा वर्षा भइरहेको छ।
यस्तै, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अब आजको मौसमको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी लिऔँ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा मौसम बदली रहेको छ।

देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि बादल देखिएको छ। अन्य तराईका भूभागमा आंशिक बदलीदेखि हुस्सु लाग्ने अवस्था रहेको विभागले जनाएको छ।विशेषगरी सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले त्यहाँका हिमाली तथा पहाडी भूभागमा वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टाको वर्षा मापनअनुसार दार्चुलाको धरमपानीमा सबैभन्दा बढी ६१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। त्यसैगरी कास्कीको पोखरा मालेपाटनस्थित मौसम मापन केन्द्रमा ४८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

त्यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम विभागको तथ्याङ्कले देखाएको छ। अब कुरा गरौँ, आज दिउँसोको मौसम कस्तो रहन सक्छ भन्ने विषयमा। विभागको पूर्वानुमानअनुसार दिउँसो देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका करिब ३० देखि ५० प्रतिशत स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसको अर्थ यी प्रदेशका सबै स्थानमा एकै किसिमको वर्षा हुन्छ भन्ने होइन।
वर्षाको मात्रा र समय स्थानअनुसार फरक हुन सक्छ। मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
त्यसैले अहिले मौसम सामान्य देखिएका स्थानमा समेत वर्षाको सम्भावनालाई बेवास्ता नगर्नु उपयुक्त हुन्छ। विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिक, सार्वजनिक यातायातका चालक, पैदलयात्री र दैनिक कामका लागि बाहिर निस्कने व्यक्तिहरूले मौसमको अवस्थाबारे जानकारी लिइरहन आवश्यक छ।
वर्षा सुरु भएपछि सडक चिप्लो हुने, दृश्यता कम हुने र यात्रा प्रभावित हुन सक्ने भएकाले सम्भव भएसम्म आवश्यक सावधानी अपनाउन भनिएको छ। अब रातिको मौसम पूर्वानुमानतर्फ जाऔँ। शुक्रबार राति मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
विभागका अनुसार यी क्षेत्रका करिब १० देखि ३० प्रतिशत स्थानमा मध्यम वर्षा हुन सक्छ। त्यसैगरी बागमती र गण्डकीका तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने राति मौसम सफा रहने र बिहानतिर हुस्सु लाग्न सक्ने विभागले जनाएको छ। अब सबैभन्दा महत्त्वपूर्ण विषय, भारी वर्षाको सम्भावना र सतर्कताबारे जानकारी लिऔँ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै पहेँलो रङको चेतावनी जारी गरेको छ। यी क्षेत्रका बासिन्दालाई मौसमको पछिल्लो जानकारी निरन्तर लिइरहन र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।
भारी वर्षाका कारण स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्छ। त्यस्तै, कमजोर भिरालो जमिनमा पहिरो जाने, सडकमा ढुंगा खस्ने र यातायात प्रभावित हुने जोखिम पनि रहन सक्छ। त्यसैले खोलानाला आसपास बसोबास गर्ने तथा पहिरोको जोखिम भएका क्षेत्रमा रहेका नागरिकले विशेष सावधानी अपनाउनु आवश्यक छ।
मौसम पूर्वानुमान महाशाखाले आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने सूचनालाई नियमित रूपमा हेर्न आग्रह गरेको छ। मौसमको अवस्था समयअनुसार परिवर्तन हुन सक्ने भएकाले पुरानो जानकारीका आधारमा मात्रै यात्रा वा अन्य महत्त्वपूर्ण निर्णय लिनु उचित हुँदैन।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र चेतावनीलाई पनि ध्यान दिन पनी आग्रह गरिएको छ।शुक्रबार देशका अधिकांश भूभागमा मौसम बदली रहने र विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहँदा हिमाली तथा पहाडी क्षेत्रमा वर्षा भइरहेको छ।
यस्तै, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच, असोज ८ देखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई सरकारले तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रभावित स्थानीय तह तथा वडालाई संकटग्रस्त क्षेत्रको सूचीमा राखेको हो। यस घोषणाले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम अघि बढाउन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
सरकारको निर्णयअनुसार गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ संकटग्रस्त क्षेत्रमा परेका छन्। मनाङमा चामे गाउँपालिका, नासो गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ लाई पनि उक्त सूचीमा समावेश गरिएको छ।
म्याग्दीका भने अन्नपूर्ण, रघुगंगा, मंगला, धवलागिरि र मालिका गाउँपालिकासहित बेनी नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यसैगरी बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा ताराखोला गाउँपालिका यस सूचीमा समेटिएका छन्।
पर्वतमा जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नम्बर २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका वडा नम्बर ६, महाशिला गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नम्बर २ र ३ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका वडा नम्बर ५ पनि सरकारले तोकेको सूचीमा परेको छ। शुक्रबार रातिदेखि पश्चिमी क्षेत्रबाट मौसम सुधार हुने र शनिबार क्रमशः देशका अन्य भूभागमा पनि मौसम खुल्दै जाने विभागको पूर्वानुमान छ ।
शनिबार रातिसम्म देशभरको मौसममा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।त्यसैले शुक्रबार सम्भावित जोखिमप्रति सचेत रहँदै आवश्यक सावधानी अपनाउन र शनिबारदेखि मौसममा हुने सुधारसँगै सामान्य गतिविधि अघि बढाउन सकिने देखिन्छ ।
मौसमको अवस्था परिवर्तन भइरहने भएकाले विभागबाट जारी हुने नियमित बुलेटिन, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित सूचनालाई आधार मानेर आफ्नो योजना बनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
शनिबारदेखि भने मौसम क्रमशः अनुकूल बन्दै जाने अपेक्षा गरिएको छ । भोलिको मौसम प्रतिकूल हुनसक्ने भएकाले सावधानी अपनाऔँ, मौसमको सूचना लिऔँ र सम्भावित जोखिमबाट सुरक्षित रहौँ । मौसम र बाढी सम्बन्धी अपडेट हामी निरन्तर दिइरहनेछौँ, तबसम्म सुरक्षित र सतर्क रही नेपाल टाईम्स अनलाईन टेलिभिजन हेर्दै गर्नुहोला, नमस्कार !





