एयर इन्डियाको विमानले अपहरणको संकेत गरेपछि आपतकालीन अवतरण

२८ असोज ८३, बुधबार
Share this
736shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

यूएईबाट इजरेलका लागि उडान भरेको विमान अपहरण गरी दुर्घटना गराउने उद्धेश्यसहित चालकमाथि नै आक्रमण गरिएको घटना सेलाउन नपाउदै जर्मनीको फ्रान्कफर्टबाट दिल्लीका लागि उडेको एयर इन्डियाको एउटा विमानबाट समेत आज अपहरणको अलर्टसहितको सन्देश आएको छ।

लगत्तै विमान जयपुर विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। भारतीय संचारमाध्यामहरुका अनुशार विमान अपहरणमा परेको भन्ने सन्देश प्राप्त भएपछि यो आपतकालीन अवतरण गराइएको थियो ।

Advertisement

बिहान ९ः०५ बजे एयर ट्राफिक कन्ट्रोल र अहमदाबादस्थित अधिकारीहरूले एयर इन्डियाको उडान एआइ २०३० सम्बन्धी आपतकालीन सूचना प्राप्त गरेका थिए। त्यसपछि उक्त उडानलाई जयपुरतर्फ मोडियो, जहाँ विमानले सुरक्षित रूपमा आपतकालीन अवतरण ग¥यो।

सो विमान अघिल्लो रात १०ः४५ बजे उडेको थियो। आपतकालीन अवतरणपछि विमानस्थलमा केही समय हलचल मच्चिएको थियो। विमानस्थलको सुरक्षा कार्यविधिअनुसार जयपुर प्रहरीको बम डिस्पोजल टोली, दमकल र अन्य विभिन्न सुरक्षा टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए।

Advertisement

राजस्थान प्रहरीका अतिरिक्त महानिर्देशक लगायतका वरिष्ठ प्रहरी अधिकारीहरू पनि विमानस्थलमा उपस्थित भएका थिए। प्राथमिक जानकारीलाई उद्धृत गर्दै एक स्रोतले जनाए अनुसार, विमान मुम्बई फ्लाइट इन्फर्मेसन रिजनभित्र रहेको बेला पाइलटले ‘स्क्वाक कोड ७५००’ सक्रिय गरेका थिए।

यो कोडले गैरकानुनी हस्तक्षेप वा विमान अपहरणको संकेत गर्दछ। बोइङ ७८७–९ विमानद्वारा सञ्चालित उक्त उडानले जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेपछि सुरक्षा जाँचका लागि यसलाई ‘आइसोलेसन बे’ (सुरक्षित तथा छुट्टै राखिने स्थान) मा सारिएको थियो।

यसअघि पनि फ्लाइ दुबईबाट समेत यस्तै सन्देश प्राप्त भएको थियो । प्रहरीका सहायक आयुक्त (मालवीय नगर) शिव दयालले समाचार संस्था पीटीआईलाई बताए अनुसार बमको धम्की आएपछि फ्र्याङ्कफर्ट–दिल्ली उडानको आपतकालीन अवतरण गरिएको बारे विमानस्थलका अधिकारीहरूले प्रहरीलाई जानकारी गराएका थिए।

त्यसलगत्तै उक्त विमानलाई जयपुरतर्फ मोडिइएको थियो। अलर्ट प्राप्त गरेपछि विमानको सुरक्षित अवतरणका लागि सावधानीका उपाय अपनाइएको थियो। विमानलाई जयपुरस्थित राजस्थान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई सुरक्षा जाँचका लागि छुट्टै आइसोलेसन क्षेत्रमा लगिएको थियो।

रिपोर्टहरूका अनुसार, अहमदाबाद एयर ट्राफिक कन्ट्रोलले बिहान करिब ९ बजे केही सेकेन्डका लागि आपत्कालीन संकेत प्राप्त गरेको थियो। त्यसपछि बिहान ९ः१० बजे विमानलाई जयपुरतर्फ मोड्ने निर्णय गरिएको बताइएको छ।

विमानले बिहान करिब ९ः४५ बजे जयपुर विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो। अवतरणपछि विभिन्न सुरक्षा निकायका अधिकारीहरूले विमानको विस्तृत जाँच सुरु गरेका थिए। हालसम्म कुनै शंकास्पद वस्तु वा गतिविधि पुष्टि भएको छैन।

यद्यपि, अनुसन्धान जारी छ। प्रारम्भिक जानकारीअनुसार, विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालेर विमानस्थलको तोकिएको सुरक्षित क्षेत्रमा लगिएको थियो। घटनामा कसैलाई चोटपटक लागेको वा कुनै क्षति भएको खबर छैन।

घटनापछि केही समय यात्रुहरूमा चिन्ता देखिए पनि सुरक्षा निकाय र विमानस्थल प्रशासनले परिस्थितिलाई नियन्त्रणमा राखेका थिए। हाल अनुसन्धान अधिकारीहरू विमानबाट अपहरणसम्बन्धी अलर्ट किन प्रसारण भयो भन्नेबारे पत्ता लगाउन जुटेका छन्।

यो प्राविधिक त्रुटि थियो, गलत संकेत थियो वा अन्य कुनै कारणले उक्त कोड सक्रिय भयो भन्ने विषयमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । घटना हुँदासम्म एयर इन्डिया र जयपुर विमानस्थल प्रशासनका तर्फबाट विस्तृत आधिकारिक वक्तव्य सार्वजनिक गरिएको थिएन।

अनुसन्धान पूरा भएपछि मात्रै घटनाबारे स्पष्ट विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ। सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड–१०७३ उडानमा गम्भीर घटना भएको थियो।

उडानका क्रममा विमानका सहचालकले क्याप्टेनमाथि आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको आरोप सार्वजनिक भएको छ। घटनापछि सो विमानले पनि एअरइन्डिाको जस्तै आपत्कालीन संकेत प्रसारण गरेको थियो र अन्ततः साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो।

यो घटना केवल प्राविधिक समस्या वा गलत संकेतको आशंकामा सीमित नभई विमानको ककपिटभित्र भएको हिंसात्मक घटनासँग सम्बन्धित थियो।रिपोर्टअनुसार, बोइङ ७३७ विमान दुबईबाट उडेको करिब साढे दुई घण्टापछि उडानमा असामान्य गतिविधि देखिएको थियो।

विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला अचानक तीव्र गतिमा तल झरेको थियो। त्यसपछि उचाइमा फेरबदल भइरहँदा यात्रुहरूमा त्रास फैलिएको थियो। सहचालकले क्याप्टेनमाथि धारिलो हतियार बन्चरोले आक्रमण गरेका थिए।

गम्भीर घाइते भएका भारतीय क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र विमानमा रहेका अन्य चालक दलका सदस्यले हस्तक्षेप गरेका थिए। उनीहरूले आरोपित सहचालकलाई नियन्त्रणमा लिन सहयोग गरे।

विमानमा संयोगवश यात्रा गरिरहेका अतिरिक्त पाइलटहरूले पनि विमानको नियन्त्रण सम्हाल्न सहयोग गरेका थिए। विमानको ट्रान्सपोन्डरबाट क्रमशः ७७००, ७५०० र पुनः ७७०० संकेत प्रसारण भएको उडान ट्र्याकिङ विवरणमा देखिएको थियो।

यी संकेतले विमानमा उत्पन्न संकटको प्रकृति बुझ्न हवाई ट्राफिक नियन्त्रणलाई मद्दत गर्छन्। स्क्वाक ७७०० विमानमा सामान्य आपत्कालीन अवस्था रहेको संकेत गर्छ। स्क्वाक ७५००ले विमान अपहरण वा अन्य गैरकानुनी हस्तक्षेप भएको संकेत गर्छ भने स्क्वाक ७६००ले विमान र हवाई ट्राफिक नियन्त्रणबीच सञ्चार सम्पर्क विच्छेद भएको संकेत गर्छ।

७५०० कोड देखिनु आफैँमा अपहरण भएको अन्तिम प्रमाण भने होइन। तर फ्लाई दुबईको घटनामा ककपिटभित्र भएको आक्रमणसम्बन्धी विवरण सार्वजनिक भएपछि उक्त संकेतको महत्त्व अझ बढेको थियो।

घटनापछि संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले आपराधिक अनुसन्धान अघि बढाएका थिए। साउदी अरबले पनि उड्डयन सुरक्षासम्बन्धी अनुसन्धान सुरु गरेको छ । सहचालकले यस्तो कदम किन चाले, त्यसको उद्देश्य के थियो र विमानको सुरक्षा प्रणालीले कसरी प्रतिक्रिया जनायो भन्ने विषय अहिलेसम्म आधिकारिक रुपमा सार्वजनिक भइसकेको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top