३१ असोज , काठमाण्डौ ।
नवरात्रको सातौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा रहेको आज घरघरमा कालरात्रि देवीको पूजा गरी शक्ति, साहस र समृद्धिको कामना गरिन्छ।

यसै दिन वैदिक विधिअनुसार फूलपाती भित्र्याउने परम्परा पनि छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने शक्तिकी प्रतीक भएकी देवीको स्वरूपलाई कालरात्रि भनिन्छ।
पुराणहरूमा कालरात्रिलाई कृष्ण वर्णकी तथा भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ।
उनलाई दुष्ट शक्तिको विनाश गर्ने र भक्तजनलाई भय तथा सङ्कटबाट रक्षा गर्ने देवीका रूपमा पनि पूजा गरिन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राखेर नवदुर्गाको पूजा आराधना सुरु गरिएको थियो।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो।
सातौँ दिन आज कालरात्रि देवीको पूजा गरिँदै छ भने आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी) , श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ।
देवीको श्रद्धापूर्वक पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य, विद्या र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रको सातौँ दिन फूलपाती भित्र्याउने विशेष परम्परा पनि छ।
वैदिक विधिअनुसार अपराह्नकालमा फूलपाती भित्र्याइन्छ।
दसैँको आगमनसँगै फूलपाती भित्र्याउने दिनलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
देवीको दर्शन, पूजापाठ र धार्मिक अनुष्ठानमा सहभागी हुँदै श्रद्धालुहरूले परिवारको सुख, शान्ति, आरोग्य र कल्याणको कामना गर्छन्।
नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ।
यसरी धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक उत्सवको संगमका रूपमा नेपालीहरूले बडादसैँलाई १५ दिनसम्म मनाउने गर्छन्।



