नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमीकै कर्म दोहो¥याउनुपर्ने

२ कात्तिक २०८३, सोमबार
Share this
661shares

२ कार्तिक , काठमाण्डौ ।

Advertisement

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

Advertisement

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।

महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।

Advertisement

सेतो वृषभमा सवार, सेतो वस्त्र धारण गरेकी, पवित्र स्वरूप भएकी माता महागौरीले हामी सबैलाई शुभता, सुख र कल्याण प्रदान गरून्।

भगवान् महादेवलाई प्रसन्न पार्ने माता महागौरीले भक्तहरूको जीवनमा शान्ति र समृद्धि ल्याऊन्।

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।

शरण्ये त्र्यम्बके गौरी नारायणि नमोऽस्तु ते।।

बडादशैंअन्तर्गत आज नवरात्रको नवौं दिन परम्परागत रुपमा आज महानवमी पर्ने भएपनि तिथिको घटबढले आजपनि दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ ।

हिजो कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

आज नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दसैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहो¥याउनुपर्ने पनि उनले बताए ।

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने गएराति गर्नुपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ ।

देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ । राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार आजराति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए ।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उनले दिए । हनुमानढोका दरबारको दसैँ घरमा हिजो आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ ।

मूल पूजा भने आजगरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। यस दिन मानिसहरूले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्।

सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा गरिएको थियो ।

छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजा आराधना गरियो । सातौँ दिन शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसैदिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो ।

आठौँ दिन हिजो महागौरी देवीको पूजा आराधना गरियो । जुन आज पनि दोहोरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी लगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, कालीमन्दिर लगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् बताउँछन् ।

यसवर्ष कात्तिक ४ गते देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको पंचाङ्ग निर्णायक समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः२६ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top