आज महानवमी, सिद्धि प्राप्त हुने दिन, यसकारण छ विशेष

३ कात्तिक २०८३, मंगलबार
Share this
770shares

३ कार्तिक , काठमाण्डौ ।

Advertisement

आज प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

Advertisement

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

Advertisement

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

आज शारदीय नवरात्रको नवौँ दिन हो। यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ।

यस दिन शास्त्रीय विधि–विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामथ्र्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

’सिद्धि’ भन्नाले आध्यात्मिक शक्ति र ’दात्री’ भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ।

देवी सिद्धिदात्री ती अलौकिक शक्ति हुन्, जसले आफ्ना भक्तहरूलाई सबै प्रकारका सिद्धिहरू प्रदान गर्नुहुन्छ।

माता सिद्धिदात्रीले दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा कमलको फूल र शङ्ख धारण गरेकी छन् ।

नवरात्रको नवौँ दिनमा देवीको पूजा तथा आराधना गर्नाले सम्पूर्ण सिद्धि प्राप्त हुन्छ।

भगवान् शिवले पनि देवी सिद्धिदात्रीकै अनुग्रहबाट सम्पूर्ण सिद्धि र उपलब्धिहरू प्राप्त गर्नुभएको पौराणिक मान्यता छ।

यिनै देवीको कृपाले भगवान् शिवको आधा शरीर देवी (नारी) को भएको थियो।

यसै कारणले गर्दा शिवजी ’अर्धनारीश्वर’ नामले प्रख्यात भएको धर्मशास्त्रमा उल्लेख ।

यस देवीको स्मरण, ध्यान र आराधनाले हामीलाई सांसारिक मोह र भवसागरको जोखिमलाई महसुस गराउँदै मोक्ष (अमृत पद) तर्फ डोहो¥याउँछ।

देवी सिद्धिदात्रीकै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्दछन्।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् बताउँछन् ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा घटस्थापना दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ ।

यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको आज महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठपारायण पनि गर्ने गरिन्छ ।

यसवर्ष कात्तिक ४ गते देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको पंचाङ्ग निर्णायक समितिले जनाएको छ ।

टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः२६ बजेको साइत उत्तम छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यसैबीच विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ ।

मन्दिर बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार, तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ ।

तुलजा भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ ।

कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइनेछ ।

त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top