३ कार्तिक , काठमाण्डौ ।
मध्यपूर्वमा बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकका लागि आपत्तकालीन सुरक्षा सतृकता जारी गरेको छ ।
अमेरिकाले हुथीको पछिल्लो आक्रमणलाई केन्द्रमा राखेर साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक, लेबनान, यमन, इरान र इजरायलमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

अमेरिकी कूटनीतिक नियोगहरूले क्षेत्रीय तनाव बढेमा हवाई मार्ग बन्द हुन सक्ने, उडान रद्द हुन सक्ने तथा यात्रा योजनामा अवरोध आउन सक्ने चेतावनी दिएका छन् । इरान र त्यसका समर्थक समूहबाट अमेरिकी नागरिक, कम्पनी तथा संस्थाहरू निशानामा पर्न सक्ने जोखिमप्रति पनि सचेत गराइएको छ ।
अमेरिकी नियोगहरूले यात्रुहरूलाई उडानको पछिल्लो अवस्था सम्बन्धित विमान कम्पनी र विमानस्थलबाट पुष्टि गर्न आग्रह गरेका छन् । निर्धारित समयअनुसार, उडान सञ्चालन हुने निश्चित नहुने भन्दै यात्रा योजनामा लचकता अपनाउन सुझाव दिइएको छ ।

इराकमा बग्दाद, इर्बिल, बसरा र सुलेमानिया विमानस्थलबाट उडानसम्बन्धी जानकारी लिन भनिएको छ । लेबनानमा भने बेरुतस्थित रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट जानकारी लिन सल्लाह दिइएको छ ।
अन्य प्रभावित देशका अमेरिकी नागरिकलाई पनि स्थानीय सुरक्षा अवस्थाबारे जानकारी राख्न र अमेरिकी विदेश मन्त्रालयको ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ (एसटीईपी) मा दर्ता भएर ताजा सूचना प्राप्त गर्न आग्रह गरिएको छ ।
यमनमा सुरक्षा जोखिमका कारण अमेरिकी सरकारले आफ्ना नागरिकलाई आपत्कालीन सहायता उपलब्ध गराउन नसक्ने चेतावनी दिएको छ । यद्यपि, यी सतर्कताले सबै विमानस्थल बन्द भइसकेको वा सबै उडान रद्द भएको जनाउँदैनन् ।
अमेरिकी चेतावनीमा इरान समर्थित हुथी समूहका आक्रमणबाट साउदी अरेबियाका नागरिक विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारमा पर्न सक्ने जोखिम पनि उल्लेख गरिएको छ । यस्ता आक्रमणले मानवीय क्षति र यात्रामा अवरोध निम्त्याउन सक्ने जनाइएको छ
इरानका लागि अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकलाई त्यहाँ यात्रा नगर्न र इरानमा रहेका नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । साउदी अरबमा रहेको अमेरिकी दूतावासले त्यहाँको सुरक्षा अवस्थालाई ‘जटिल’ भन्दै आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
दूतावासका अनुसार इरानसमर्थित हुथी समूहले साउदी अरबमाथि आक्रमण गर्दै आएका छन्। ती आक्रमणमा नागरिक विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाइएको र सर्वसाधारणको ज्यान जानुका साथै यात्रामा गम्भीर अवरोध सिर्जना भएको दूतावासले जनाएको छ।
दूतावासले इरान र इरानसमर्थित समूहले विदेशमा रहेका अमेरिकी हित तथा अमेरिकासँग सम्बन्धित स्थानलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको छ। यसमा अमेरिकी व्यवसाय तथा अन्य संस्थासमेत पर्न सक्ने उल्लेख गरिएको छ।
यस्तै, कतारस्थित अमेरिकी दूतावासले आइतबार आफ्ना नागरिकलाई आधिकारिक सुरक्षा सूचनाहरू र स्थानीय सञ्चारमाध्यमका समाचार नियमित रूपमा हेर्न आग्रह गरेको छ। दूतावासले प्रदर्शन तथा ठूलो जमघट हुने स्थानबाट टाढा रहन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न पनि सुझाव दिएको छ।
यसैबीच, कतार एयरवेजले साउदी अरबका लागि सञ्चालन हुने उडानमा कटौती गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार रियाद र दमामका लागि जाने तथा त्यहाँबाट फर्कने उडान अक्टोबर २४ सम्म स्थगित गरिनेछ। त्यस्तै, जेद्दाका लागि दैनिक सातवटा उडान हुँदै आएकोमा घटाएर चारवटामा सीमित गरिनेछ।
अमेरिकी कूटनीतिक नियोगहरूले आफ्ना नागरिकलाई प्रदर्शन र ठूलो भीडबाट टाढा रहन, प्रहरीको बाक्लो उपस्थिति भएका क्षेत्रमा नजान, स्थानीय सञ्चारमाध्यमबाट सुरक्षा अवस्थाबारे जानकारी लिन र अधिकारीहरूको निर्देशन पालना गर्न सुझाव दिएका छन् ।
त्यसैगरी, मोबाइल फोन चार्ज राख्न तथा अमेरिकी संस्थान, कार्यालय र अन्य अमेरिकी हितसँग सम्बन्धित स्थानमा अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ । उता यमनको शाब्वा प्रान्तमा रहेको सुरक्षा बलको तालिम शिविरमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार सोमबार भएको आक्रमणमा मृत्यु हुने र घाइते हुने अधिकांश सुरक्षा बलमा भर्ती हुन तालिम लिइरहेका व्यक्ति हुन् । साउदी समर्थित यमनी सशस्त्र बलका प्रवक्ताका अनुसार अताक सहरनजिकै रहेको अल–आलम शिविरमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
उक्त शिविर सुरक्षा बल र प्रहरीमा भर्ती भएकाहरूलाई तालिम दिन प्रयोग हुँदै आएको थियो । शाब्वा प्रान्तको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा शहीद अहमद अल–सुलेमानी तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार भएको उल्लेख छ।
प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमणमा ५३ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको जनाइएको छ । घाइतेहरूको सङ्ख्या धेरै भएपछि स्थानीय अस्पतालहरूमा चाप बढेको छ। शाब्वाका उपगभर्नर फहाद अल–खलिफीले एएफपी समाचार संस्थालाई बताएअनुसार गम्भीर घाइतेहरूलाई छिमेकी हद्रामौत र सरकार रहेको एडेन सहरका अस्पतालमा सारिएको छ ।
यमनको राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशाद अल–अलिमीले घटनालाई ‘आपराधिक आक्रमण’ भन्दै निन्दा गरेका छन् । उनले आक्रमणको कडा प्रतिक्रिया दिने चेतावनीसमेत दिएका छन् । यमनका सूचना मन्त्री मोअम्मर अल–एरियानीले आन्तरिक सुरक्षा बलको तालिम केन्द्र सैन्य लक्ष्य नभएको दाबी गर्दै आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।
यता, हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सरियाले भने अल–आलम शिविरमा रहेका ‘साउदी शत्रु’ सेनालाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । उनका अनुसार उक्त केन्द्र साउदी अधिकारीहरूको सञ्चालनमा थियो।
यस विषयमा साउदी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । यमनमा पछिल्ला महिनाहरूमा गृहयुद्ध थप चर्किएको छ । अक्टोबरको सुरुवातमा सरकार समर्थक सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेका पश्चिमी क्षेत्र पुनः कब्जा गर्ने उद्देश्यले ठूलो सैन्य अभियान सुरु गरेको थियो ।
साउदी नेतृत्वको गठबन्धनको हवाई सहयोगमा सरकारी सेनाले लाल सागरको तटीय क्षेत्रमा केही रणनीतिक भूभाग पुनः नियन्त्रणमा लिएको बताइएको छ । तर ताइज सहर, मारिब र अल–जवफ प्रान्तलगायत क्षेत्रमा भीषण लडाइँ जारी छ ।
हुथी विद्रोहीले पनि साउदी अरेबियाका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिरहेको बताइएको छ । यसैबीच, हुथी सञ्चालित सञ्चारमाध्यमले आइतबार उत्तरी यमनको सादा प्रान्तमा साउदी हवाई आक्रमण हुँदा कम्तीमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको दाबी गरेका छन्।
मृतक तथा घाइतेमध्ये महिला र बालबालिका पनि रहेको जनाइएको छ। यी विवरणको स्वतन्त्र पुष्टि भएको छैन । यमनको स्वास्थ्य मन्त्रालयका अनुसार अगस्ट ६ देखि देशभर जारी द्वन्द्वमा कम्तीमा १ हजार २८२ जनाको मृत्यु भएको सरकारी पक्षले जनाएको छ ।
यता, हुथी सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो सात हप्तामा साउदी आक्रमणमा १४१ जनाको मृत्यु भएको दाबी गरेको छ । सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानाबाट सरकारलाई विस्थापित गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो।
सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले सरकारलाई पुनःस्थापित गर्ने उद्देश्यले सैन्य हस्तक्षेप गरेपछि द्वन्द्व थप तीव्र बनेको थियो । पछिल्लो समय साउदी अरेबिया र हुथी विद्रोहीबीच क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढेसँगै लामो समयदेखि कायम अनौपचारिक युद्धविरामसमेत कमजोर बन्दै गएको बताइएको छ ।
निरन्तरको द्वन्द्वले यमनमा मानवीय सङ्कट थप गम्भीर बनाएको छ ।



