६ कार्तिक , काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा ३० असोज २०८३ को मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि उनीसँग जोडिएको सम्पत्ति शुद्धिकरण र नागरिकताको विषय एकाएक चर्चामा आएको छ ।
उक्त विषयले उनी विवादमा तानिएकी छन् । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको संरक्षण र विकास गर्ने संस्थामा उनको नियुक्तिको विरुद्धमा ठूलो समूह सक्रियनरहेपनि केही व्यक्तिहरु खुलेर विरोधमा उत्रिएका छन् ।

लुम्बिनी बचाउ महाअभियानले श्रृखंलावद्ध विरोधका कार्यक्रमहरु आयोजना गरिरहेको छ । आनीको नियुक्ति बदर गर्न माग गर्दै शुक्रबार पनि लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको छ। तर सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
यद्यपी, केही प्रतिष्ठित व्यक्ति तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले पक्ष–विपक्षमा आफ्नो धारणा राखिरहेका छन् । फिल्म निर्देशक कोशिस लोब्साङ वाइबाले भनेका छन्,‘नियुक्तिपछि उठेका प्रश्न र आलोचनाबीच एउटा कुरा भने बिर्सनु हुँदैन, कुनै पनि व्यक्तिमाथि आरोप लगाउनुअघि उनको जीवन, संघर्ष र समाजमा पुर्याएको योगदानबारे पनि अध्ययन गर्न आवश्यक छ ।

आनी छोइङ डोल्मा केवल एउटा परिचय वा पदमा सीमित व्यक्ति होइनन्। उनी गायनमार्फत विश्वभर चिनिएकी नेपाली बौद्ध भिक्षुणी हुन्। उनले आफ्नो जीवनको ठूलो हिस्सा आध्यात्मिक साधना, सामाजिक सेवा र मानव कल्याणका कामसँग जोड्दै आएकी छन्।
शिक्षा र महिला सशक्तीकरणका क्षेत्रमा समेत उनको योगदान चर्चामा रहेको छ। यसको अर्थ आनी छोइङ डोल्मामाथि उठेका सबै प्रश्न गलत छन् वा उनी आलोचनाभन्दा माथि छन् भन्ने होइन। सार्वजनिक पदमा नियुक्त हुने जोकोही पनि आफ्नो जिम्मेवारी, निर्णय र कार्यसम्पादनका विषयमा प्रश्नको सामना गर्न तयार हुनुपर्छ।
आरोप छन् भने तिनको निष्पक्ष छानबिन हुनुपर्छ र तथ्यका आधारमा निष्कर्ष निकालिनुपर्छ। तर प्रश्न उठाउने नाममा वर्षौँको योगदानलाई पूर्णतः बेवास्ता गर्नु वा पुष्टि नभएका आरोपकै आधारमा कसैको सम्पूर्ण व्यक्तित्वमाथि निर्णय सुनाउनु उचित हुँदैन।
पत्रकार विनोद त्रिपाठीले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको विषयमा उठेका आलोचनामाथि प्रश्न उठाएका छन्। उनले आनीको सामाजिक, सांस्कृतिक र आध्यात्मिक योगदानको चर्चा गर्दै यस्तो नियुक्तिलाई सकारात्मक रूपमा हेर्नुपर्ने धारणा राखेका छन्।
त्रिपाठीका अनुसार आनी छोइङ डोल्मा नेपालकी चर्चित बौद्ध भिक्षुणी, गायिका तथा समाजसेवी हुन्। बौद्ध मन्त्र र आध्यात्मिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनले महत्त्वपूर्ण योगदान पुर्याएकी छन्। ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीतमार्फत प्रेम, करुणा र सकारात्मक सोचको सन्देश फैलाएकी आनीले सङ्गीतसँगै शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका क्षेत्रमा पनि काम गर्दै आएकी छन्।
विशेषगरी पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी नियुक्त हुने विषयसँग तुलना गर्दै उनले धार्मिक संस्थाहरूको नेतृत्व र नियुक्तिमा समान मापदण्ड अपनाइनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि अन्तर्राष्ट्रिय महत्त्वको केन्द्र भएकाले त्यहाँको नेतृत्वले नेपालसँगै विश्वभरका बौद्ध समुदायको विश्वास जित्न सक्नुपर्ने उनको तर्क छ।
त्रिपाठीले आनीमाथि उठाइएका केही आर्थिक तथा अन्य विवादसम्बन्धी दाबीलाई अप्रमाणित हल्लाका रूपमा चित्रण गरेका छन्। कलाकार समेत रहेका युवराज लामाले आनी छोइङ डोल्मा मोक्तानलाई लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्त गरिएकोमा खुसी लागेको बताएका छन् ।
विश्वभरि बौद्ध भिक्षुणी, गायिका तथा समाजसेवीका रूपमा परिचित उहाँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ उनले भनेका छन्, मन्त्रालय र सरकारले आवश्यक सहयोग तथा सहजीकरण गरेमा उहाँले लुम्बिनीको विकास र प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट उल्लेखनीय बजेट जुटाउन सक्नुहुन्छ ।
तर, लुम्बिनी विकास कोषमा लामो समयदेखि रहेका संरचनागत समस्या र भ्रष्टाचारसम्बन्धी चुनौतीका बीच उहाँले कति प्रभावकारी रूपमा काम गर्न सक्नुहुन्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ। जीवनमा अनेकौँ दुःख, कठिनाइ र सङ्घर्ष पार गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल आनी छोइङ डोल्माको जीवनयात्रा प्रेरणादायी छ।
उहाँका सांगीतिक कार्यक्रममार्फत ठूलो आर्थिक सङ्कलन हुने गरेको सन्दर्भमा, उहाँको लोकप्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध र अनुभवलाई लुम्बिनीको विकास, संरक्षण तथा विश्वव्यापी प्रचारप्रसारमा उपयोग गर्न सके महत्त्वपूर्ण योगदान पुग्न सक्छ। अब उहाँलाई आवश्यक सरकारी सहयोग, काम गर्ने अनुकूल वातावरण र जिम्मेवारी निर्वाह गर्ने पर्याप्त अवसर प्रदान गर्नु आवश्यक छ।
आनी याङचेन डोल्माले उक्त नियुक्तिको बचाउ गरेकी छन्। उनले आनी छोइङ डोल्माको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति, अनुभव र सामाजिक सेवाभावलाई देशको हितमा उपयोग गर्नुपर्ने बताएकी छन्। आनी याङचेन डोल्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पहिरन, जातीय पहिचान वा सांस्कृतिक पृष्ठभूमिका आधारमा कसैको राष्ट्रियतामाथि प्रश्न उठाउनु गलत भएको टिप्पणी गरेकी छन्।
‘फूलको आँखामा फूलै संसार’ गीतबाट लोकप्रिय बनेकी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि एमाले नेता सूर्य थापा आलोचनामा उत्रिएका छन्। उनले नियुक्तिलाई लिएर सम्पत्ति शुद्धीकरण, नागरिकता र नेपालको विदेश नीतिसँग जोडिएका प्रश्न उठाएका छन्।
तर, गम्भीर विषय उठाउनु र आरोप लगाउनु फरक कुरा हुन्। प्रमाण र आधिकारिक निष्कर्षबिना सार्वजनिक रूपमा शंका व्यक्त गर्दा व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठ्न सक्छ। लुम्बिनी जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको सम्पदाको नेतृत्वबारे बहस तथ्य, पारदर्शिता र कानुनी आधारमा हुनुपर्छ—राजनीतिक आरोप–प्रत्यारोपमा मात्र सीमित हुनु हुँदैन।
नरेन्द्रराज प्रसाईंले भनेका छन्, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, डा।वानीरा गिरी, अम्बर गुरुङ र गोपाल योञ्जन भारतीय नागरिक थिए । श्री ५ महेन्द्रले यी पाँच जना प्रतिभाशाली प्रवासी नेपालीलाई विविध तरिकाले नेपाल ल्याएका थिए । तर जन्मसिद्ध नेपाली नागरिक आनी छोइङलाई अनेक तरहको छाप लगाएर लखेट्ने कारणचाहिँ के हो ?
यदि आनी दोषी छिन् भने कानुन छैन र रु चित्त नबुझे निसाफ माग्ने ठाउँमा पुगे हुँदैन र ? हचुवामा उफ्रिनुको अर्थ के हुन्छ ? आनी छोइङको राजनीति छ छैन, व्यापार छ छैन या अरू थोक केही छ छैन मलाई थाहा छैन । तर यति हो उनी प्रतिभाशाली स्रष्टा हुन्, उनको स्वरले जनमन छोएको छ र नेपाली भाषालाई अन्तर्राष्ट्रिय विस्तारका लागि उनको पनि आफ्नै प्रकारको भूमिका जोडिएको छ ।
अर्को कुरा, देशभक्त राजाले खोजीखोजी प्रतिभा बटुल्थे अनि हामी चाहिँ पोल्टामा भएको हीरा भूइँमा झार्न चाहन्छौँ । यसको कारण के होला ? उता आनीको भने आफ्नै भनाइ छ । डोल्माले आफ्नो निजी मामलाका बारेमा आइरहेका प्रतिक्रियाहरुबारे आफू विचलित नभएको प्रतिक्रिया दिएकी छन् ।
‘म सत्कर्ममा विश्वास गर्छु । कहिलेकाहिं यस्ता अफ्ठयाराहरु आइपर्छन । भगवान वुद्धलाई पनि उक्त स्थानमा अवसर दिएको खण्डमा आलोचना हुन्थ्यो होला, हाम्रो समाज नै त्यस्तै छ । कतिपय व्यक्तिहरु कतैबाट परिचालित भएर लागिरहेका छन कि जस्तो लाग्छ ।
मेरा विषयमा जेजस्तो टिप्पणीहरु भइरहेको छ, त्यसबारे एक एक गरेर जवाफ दिन सकिदैन, जे छ भोग्दै जाने हो, बुझ्नेले बुझ्नु भएकै छ तर म विचलित भएको छैन । सरकारले गरेको विश्वासप्रति आभारी छु,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धिकरणको विषय सन् २०१८ को अन्त्यतिर नै क्लियर भएको हो । सरकारले पनि मेरोबारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला । मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपरो भनेर निवेदन दिएको होइन, कसैलाई भनेको पनि छैन तर विश्वास गर्नुभएको छ । यो त मेरो सत्कर्मको फल होला नि ।’
सम्पत्ति शुद्धिकरणको विषय आइसकेपछि कर्मचारीतन्त्रबाट आफूले धेरै दुःख पाएको उनले सुनाइन । ‘ब्यूरोक्रेसीबाट त्यसबेला धेरै दुःख पाएँ । घुसखोरी र कमीसनको खेल धेरै नै चल्ने गरेको थियो त्यसबेला, त्यसको शिकार भएँ । सोझो बाटोबाट अर्थात बैंकबाटै आएको पैसाको विषयलाई लिएर हैरानी दिइयो ।
गलत बाटोबाट आएको भए अपराधिकरण गर्नमिल्थ्यो होला तर लिगल च्यानलबाट पैसा आउँदा अनावश्यक हैरानी दिने काम भएको थियो । त्यो विषय त्यसैबेला टुंगिसकेको हो,’ उनले अगाडि भनिन्, ‘त्यसबेला हङकङको बैंकबाट नेपालको बैंकमै आएको पैसा हो । कुनै गलत बाटोबाट आएकै होइन ।
हङकङ खराब सूचिमा सुचिकृत भएको देश पनि होइन । नेपाल सरकारको पनि आफ्नो प्रक्रिया र कानुनी बाटो समातेर नै काम गर्नुभएको होला, मैले गलत गरेको भए कहाँ छाड्थ्यो होला त, नियम पुर्याएकै थिएँ तर दुःख दिने नियतले कमीसन माग्ने काम भएको थियो । मैंले नियमसंगत ढंगबाट पार लगाएँ ।’
नागरिकताको विषयमा पनि उनले स्पष्ट पारिन् । आफू नेपालमा जन्मिएको ५५ बर्षपछि यस्तो विषय उठाउनु जायज नभएको उनको तर्क छ । ‘अरे म यो देशमा जन्मेको ५५ वर्ष भयो । यो विषय पनि उठाउने कुरा हो र ? सोध्नेहरुले पनि के सोधिरहेका छन्, अचम्ममा परेको छु । मनमा जे आयो सोधेर हुन्छ र ?
मिडियाले पनि सम्बन्धित निकायमा गएर खोजतलास गरेर लेख्नुपर्यो नि । यस्ता कुराहरुको पछि लाग्यो भने मान्छे बौंलाउँछ । अनि नचाहिने पाप कर्ममा बेसी डराइन्छ । म भाग्यमानी मान्छे हुँ, गुरुको आशिर्वाद छ, सत्कर्ममा लागिरहेको छु ।’ कोषको उपाध्यक्ष पद आफ्नो ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै उक्त जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाइन् ।
‘म यतिबेला धेरै डराएको छु किनभने त्यो जिम्मेवारी मलाई आइपरेको छ । पूरा गर्नुपर्ने वाध्यता छ, त्यो सक्दिन कि भनेर डराएको छु, अरु केहीको डर छैन । जिम्मेवारी कसरी पूरा गर्ने भनेर सोचिरहेको छु । तर यतिकुरा स्पष्ट पार्न चाहन्छु–बुद्धको सेवा गर्ने ठूलो अवसर पाएको छु, टाउकोले टेकेर पूरा गर्छु । जस्तासुकै बिघ्न आओस् बेमतलबका साथ म मेरो आफ्नो धर्म निर्वाह गर्छु,’ उनले स्पष्ट पारिन् ।
आफू डाँडामा बसेर आनन्दको जीवन जिउने सोचिरहेकाबेला सरकारले एउटा पवित्र संस्थालाई अझै राम्रो गर्नुपर्यो भनेर आफूलाई अवसर दिएको उल्लेख गर्दै सरकारप्रति सम्मान रहेको प्रतिक्रिया दिइन्। विगतमा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नका लागि ठूलो पैसाको चलखेल हुने गरेको आफूले सुन्दै आएको बताएकी उनले पैसाका नाममा संस्थालाई बदनाम गर्न नहुने पनि बताइन् ।
विश्वमा लुम्बिनी एउटै मात्र रहेकाले उक्त ठाउँलाई पवित्र उद्देश्य र राम्रो योजनाका साथ धेरै काम गर्न सकिने पनि उनले औंल्याइन् । आफू कोषको जिम्मेवारी सम्हालेपछि गलत काम नगर्ने र विगतमा गलत नियतका साथ भएका कामहरु सार्वजनिक गर्ने भन्दै उनले अगाडि भनिन्,‘जिन्दगीमा मैंले पैसा अरुलाई दिनेबाहेक लिने गरेको छैन् । राम्रो काम हुनलाग्दा केही व्यक्तिहरु सक्रिय भएका छन्, ति सिमितको संख्यामा छन् । मलाई केही फरक पर्दैन ।’



