क्यानले हिजो आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता ५ मंसिरसम्म सञ्चालन हुनेछ । एनपीएलको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ । यस संस्करणको एनपीएलमा पहिलोपटक डीआरएस प्रणाली लागू गरिने क्यानले जनाएको छ ।
लुम्बिनी गत सिजनको उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित रहेको सुदुरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा उत्रने छ ।
लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्दै आएका छन् । उनी नेपाली राष्ट्रिय टोलीको पूर्वकप्तान हुन् । रोहितकै स्थानमा यसै वर्ष सुदूरपश्चिमको नेतृत्व गरिरहेका दीपेन्द्रसिंह ऐरी नेपालको ट्वान्टी–२० कप्तान बनेका थिए । दीपेन्द्र पहिलो सिजन र रोहित दोस्रो सिजन एनपीएलको उत्कृष्ट नेपाली खेलाडी बन्दै कार पुरस्कार पाएका थिए ।
लुम्बिनीमा गत सिजनकै अधिकांश खेलाडीले निरन्तरता पाएका छन् र टोलीमा नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख थपिएका छन् । यसले लुम्बिनीलाई अझ मजबुत बनाएको छ । किशोर महतोलाई अक्सनबाट लिएका कारण लुम्बिनीसँग तीव्र बलिङमा पनि विकल्प मजबुत बनेको छ । गत सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विदेशी खेलाडीमा श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डी’आरसी शर्ट, नामिबियाका रुबेन ट्रम्पलमन माथि नै लुम्बिनीले विश्वास देखाएको छ । त्यसमा बंगलादेशका सामिम हुसैन, अमेरिकाका साड्ली भान स्काल्कविक थपिएका छन् । सुदुरपश्चिमले अक्सनबाट देव्रेहाते स्पिनर अनिल खरेललाई लिएको छ । टोलीमा इंग्ल्यान्डका सैफ जैब फर्किएका छन् । पहिलो सिजनमा उत्कृष्ट खेलाडी बनेका जैबले गत सिजन चितवन राइनोजबाट खेले पनि अहिले पुनः सुदूरपश्चिम फर्किएका हुन् । टोलीबाट यसपटक वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदफोर्ड, अलराउन्डर फाबियन एलेन, न्युजिल्यान्डका स्कट कुग्लेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेन खेलिरहेका छन् । कुग्लेइन लगातार तेस्रो वर्ष सुदुरपश्चिमबाट खेल्न लागेका हुन् ।

दुई सिजनमा लुम्बिनी लायन्सको प्रदर्शनलाई हेर्ने हो भने आकाश–जमिनको फरक छ । पहिलो सिजनमा कमजोर प्रदर्शनदेखि दोस्रो सिजनमा च्याम्पियनसम्मको यात्रा प्रेरणादायी छ । लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यका साथ तेस्रो सिजनको तयारीमा छ । टोलीले भारतका टिनु योहानानलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । उनैले लुम्बिनीलाई दोस्रो सिजनको च्याम्पियन बनाएका थिए । लुम्बिनीले यस सिजनका निम्ति बंगलादेशका शमीन हुसेन र अमेरिकाका श्याड्ली भान शाल्क्विकलाई नयाँ खेलाडीका रूपमा भित्र्याएको छ । दुवै खेलाडीका लागि एनपीएल नयाँ अनुभव हुनेछ । यसैगरी, लुम्बिनीले तेस्रो सिजनमा पनि नामिबियाका रुबेल ट्रम्पलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोसन डिकवेललाई विदेशी खेलाडीका रूपमा निरन्तरता दिएको छ । अघिल्लो सिजनमा तीनै खेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । टोलीको मुख्य हतियार हुनेछन् कप्तान रोहितकुमार पौडेल । उनले ब्याटिङ र बलिङ दुवैमा योगदान दिइरहेका छन् । रोहितले दुई सिजनमा गरी ५५५ रन बनाउनुका साथै १८ विकेट पनि लिएका छन् । आसिफ शेखको आगमनपछि टोलीको ब्याटिङ अझै मजबुत बनेको छ । अघिल्ला दुई सिजन जनकपुरको मार्की रहेका आसिफले २६७ रन बनाएका छन् । एनपीएलमा आसिफले सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि अक्सनमा सात टोलीले बोली लगाएकोबाट थाहा हुन्छ उनी कुन स्तरका खेलाडी हुन् ।
सर्ट र डिकवेला पनि टोलीका लागि निर्णायक बन्न सक्छन् । अघिल्लो सिजन सर्टले २५६ र डिकवेलाले १३७ रन बनाएका छन् । बलिङमा लुम्बिनी शेर मल्ल र ट्रम्पलम्यानमै बढी निर्भर रहने छ । शेर एनपीएलका दुवै सिजनमा च्याम्पियन बन्ने एक्ला खेलाडी हुन् । उनले पहिलो सिजन जनकपुर र दोस्रो सिजन लुम्बिनीबाट उपाधि जितेका थिए । शेरले दुई सिजनमा गरी २४ विकेट लिएका छन् । गत सिजन १५ विकेट हात पारेका ट्रम्पलम्यान प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए । लुम्बिनीमा अभिषेश गौतम, सन्दीप जोरा, तिलक भण्डारी, किशोर महतोजस्ता युवा खेलाडी पनि छन् । लुम्बिनीले एक्सट्राटेक ओभलमा एनपीएलको तयारी गरेको थियो । फर्चुना हेल्थ केयर प्रालिले १ करोड ८६ लाख रुपैयाँमा लुम्बिनीको स्वामित्व खरिद गरेको हो।
यता नेपाल प्रिमियर लिगमा सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने भएको छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो। एनपीएललाई लिएर सुरक्षा समितिको पूर्वतयारी बैठक आइतबार साँझ बसेको छ। यो बैठकमा फिल्डमा खटिने सबै टोलीका कमान्डरलाई पनि सहभागी गराएर ब्रिफिङ गरिएको छ। यसअघि पनि पटकपटक क्यानका पदाधिकारीसहितको बैठक बसेर सुरक्षा योजना बनाइएको थियो। दुवै प्रहरीले सोही अनुसारको तयारी गरेका छन्। निजी सुरक्षा कम्पनीलाई भित्रको व्यवस्थापनमा मुख्य जिम्मेवारी दिइएको छ। त्यसका लागि करिब तीन सय सुरक्षा गार्ड खटाइनेछ। तर निजी सुरक्षा गार्डसँगै चुस्ताबिना र सादा पोसाकमा नेपाल प्रहरी पनि खटिनेछ। नेपाल प्रहरीले आफ्नो जिम्मेवारीमा पर्ने २४ किसिमका ड्युटीका लागि एक हजार जना प्रहरी परिचालन गर्ने भएको छ।सबै गेटमा चेकजाँचका लागि नेपाल प्रहरी खटिने छ भने रंगशालाभित्र पनि सबै जोनमा प्रहरी परिचालन हुनेछन्। तर भित्र भने यसपटक बर्दी लगाएका र हतियारसहितका प्रहरी खटिने छैनन्। भित्र खटिने प्रहरी सादा पोसाक र अफिसियल सर्ट–प्यान्टमा हुनेछन्। यसअघिका खेलमा भने चुस्तामै प्रहरी खटाइँदै आएको थियो। तर अन्तर्राष्ट्रिय अभ्यास र क्यानसँगको छलफलका आधारमा यसपटक बर्दीमा प्रहरी नखटाउने निर्णय भएको हो। नेपाल प्रहरीले एनपीएलमा २४ किसिमका ड्युटी गर्ने काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए। प्रहरीले रंगशालामा सीसीटीभी र ड्रोनबाट पनि निगरानी गर्नेछ। खेल हुनुपहिले रंगशालामा डग स्निफिङ गरिनेछ। जिल्ला प्रहरी परिसर काठमाडौँले उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रधान कार्यालयको निर्देशन र समन्वयमा टोली परिचालनको योजना बनाएको छ। ललितपुरका होटलमा बस्ने टोलीको सुरक्षाका लागि ललितपुरबाटै टोली परिचालन हुनेछ। होटलबाट रंगशालासम्म पु¥याउँदा एस्कोर्टिङसहित लगिनेछ । हरेक फ्रेन्चाइज टोलीसँग समन्वय गर्न छुट्टाछुट्टै प्रहरी अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ। टीयू क्रिकेट मैदानमा हुने सुरुक्षा कीर्तिपुर वृत्तका डीएसपीको कमान्डमा हुनेछ। तर त्यहाँ जिल्ला प्रहरी परिसर काठमाडौँबाट पनि थप डीएसपीलाई खटाइनेछ।
नेपाल प्रहरीले रंगशाला प्रवेश गर्ने सबै गेटमा सुरक्षा चेकजाँचसँगै नियन्त्रण गर्नेछ। रंगशालामा के लैजान पाइने, के नपाइने भन्ने निर्देशिका बनाइएको छ। उक्त कुरा कार्यान्वयनका लागि पनि प्रहरी खटिनेछ। खेलाडीको सुरक्षादेखि सबै जोनमा प्रहरी खटिनेछ। बाहिरी सुरक्षामा सशस्त्र प्रहरीले ७ वटा टोली परिचालन गर्ने भएको छ।

सशस्त्र प्रहरीका ५ वटा प्लाटुन विभिन्न ठाउँमा रहनेछन्। राधास्वामीमा सशस्त्र प्रहरीको रिजर्भ टोली रहनेछ। सशस्त्र प्रहरीले रंगशालाबाहिर मोबाइल गस्ती पनि गर्नेछ। एनपीएलमा एक पटकमा एसपीको कमान्डमा ३७५ जना सशस्त्र प्रहरी खटिने छन्। प्लाटुनको कमान्ड सशस्त्र प्रहरी निरीक्षकले गर्नेछन्। समन्वयका लागि डीएसपी खटाइनेछ। आवश्यक परे सशस्त्र प्रहरीका काठमाडौँ प्रमुख (एसएसपी) पनि फिल्डमा खटिनेछन्। पाँच वटा प्लाटुन विभिन्न क्षेत्रबाट खटिने र बाँकी टोली रिजर्भ तथा पेट्रोलमा रहनेछन्। गएका दुई वटा सिजनको सुरक्षा अवस्थालाई विश्लेषण गर्दै देखिएका कमी कमजोरीलाई सुधार गरेर सुरक्षा योजना बनेको डीआईजी कार्कीले बताए।
८ वटा टोली सम्मिलित नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। तेस्रो संस्करणको एनपीएललाई आईसीसीले औपचारिक मान्यता दिएपछि विश्वका चर्चित क्रिकेटरहरू एनपीएल खेल्न नेपाल आउने बाटो खुलेको छ। पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज, अमेरिका, दक्षिण अफ्रिका, अस्टे«लिया, इङ्ल्यान्ड, स्कटल्यान्ड लगायत देशबाट एनपीएलका लागि खेलाडीहरू काठमाडौँ आइपुगेका छन्।
विश्वचर्चित क्रिकेटरहरू सहभागी भएसँगै एनपीएललाई लिएर सुरक्षा सतर्कता थप बढाइएको छ।



