११ कार्तिक , काठमाण्डौ ।
भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिन गर्न नुवाकोटको विदुर नगरपालिकाले पाँच दिने सार्वजनिक सूचना जारी गरेको छ।
बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको वडाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले विवरण प्रमाणित गरी जिल्ला समितिमा पेश गर्नुपर्ने छ।

जिल्ला समितिको सिफारिसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विवरण पठाइनेछ। प्राधिकरणले तोकेको प्रक्रिया अनुसार नै नेपाली नागरिकको हकमा बेपत्ता एकिन गरिने भएकाले नगरपालिकाले निवेदन पेश गर्न सूचना प्रकाशन गरेको हो।
कसरी दिने निवेदन ?

एकाघरका परिवारका सदस्यः बेपत्ता व्यक्तिको नाम, थर, ठेगाना र उमेर खुल्ने सरकारी कागजात वा परिचयपत्र, आफ्नो र बेपत्ता व्यक्तिबीचको नाता खुल्ने प्रमाणित कागजात, तथा सोही बाढीमा बेपत्ता भएको भन्ने स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
एकाघर परिवारका सदस्य नभएको अवस्थामाः सम्बन्धित वडा अध्यक्ष, वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा बेपत्ता भएको एकिन गरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।
नगरपालिकाले उल्लिखित प्रक्रिया पूरा गरेपछि मात्र मृत्युदर्ता गरी विपद्सँग सम्बन्धित सुविधा उपलब्ध हुने भएकाले सरोकारवाला सबैलाई सोही बमोजिम वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ।




