१२ कार्तिक,काठमाण्डौ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकले मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने ।
गाउँपालिकाका बासिन्दालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र अस्पतालबीच उपचारमा सहुलियत दिने समझदारी ।

सम्झौताअनुसार गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।


बहिरङ्ग सेवा, आकस्मिक उपचार, शय्या शुल्क, प्रयोगशाला परीक्षण, एक्सरे, भौतिक उपचार, शल्यक्रिया, दन्त उपचार, सीटी स्क्यान र एमआरआईलगायत सेवामा सहुलियत उपलब्ध हुने ।
कार्तिक ११ गते भएको समझदारीपत्रमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनकी सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारद्वारा हस्ताक्षर ।
सम्झौता प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुनेछ भने आपसी सहमतिमा नवीकरण गर्न सकिने ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा रहेको २०० शय्याको अस्पतालले चौबीसै घण्टा आकस्मिक तथा दुर्घटनाजन्य उपचार सेवा दिँदै आएको छ।
यस सम्झौताबाट आर्थिक रूपमा कमजोर नागरिकलाई उपचार खर्चको भार कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा ।



