१३ कार्तिक , काठमाण्डौ ।
भारतमा आएको शक्तिशाली आँधी असर नेपालमा देखिएको छ। गएरातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा लगातार वर्षा भएको छ। यो क्रम आज झन बढ्ने छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आजदेखि भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू भागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम सम्म वर्षा र हिमपातको सम्भावना छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् ।
त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ । पानी पार्ने प्रणालीले शुक्रबार कोशी प्रदेशमा हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि पानी छिट्याएको थियो । तर आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।
यसको असर शनिबारदेखि क्रमशः कमजोर बन्दै जाने पूर्वानुमान छ । यसको प्रभाव रहँदासम्म उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन सबैलाई सरकारले अनुरोध गरेको छ । ‘अर्नब’ चक्रवातका कारण नेपालको हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ ।
विशेष गरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भन्दै थप सजग हुन भनिएको छ । विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबार बसेको बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधारणलाई सु–सूचित गर्न, पूर्वतयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न र किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान नकाट्न पनि सुझाव दिइएको छ ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर हुँदै गएर गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत भएको छ ।
गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण विहीबारदेखि नै नेपालभर बादल लागेको थियो । मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद पोखरेलका अनुसार अहिलेको प्रणालीको प्रभावले कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि छ । वर्षा र हिमपातका कारण अघिल्लो दिनको तुलनामा चिसो बढेको महसुस भएको छ । जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई भनेको छ ।
यातायात व्यवसायीहरुलाई सम्बन्धित जिल्लाको प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र गाडी चलाउने÷नचलाउने निर्णय गर्न भनिएको छ । मौसम पूर्वानुमानको अवस्था हेर्दा आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ।
यस्तै राति देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ।भोलि शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ।
यस्तै राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
आइतबार १५ गते भने देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्कासम्मको वर्षा÷हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ। यसैगरी सोमबार देशभर आंशिक बादल लाग्नेछ।
देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा÷हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ। बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमशः कमजोर हुँदै गएको छ ।
सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ । चक्रवात ‘अर्नब’ले भारतको आन्ध्र प्रदेशमा ठूलो क्षति पु¥याएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले यसको जानकारी दिएका हुन्।
उनका अनुसार चक्रवातका कारण आन्ध्र प्रदेशमा सात जनाको मृत्यु भएको छ भने प्रारम्भिक अनुमानअनुसार ४ हजार ६ सय करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेपछि मुख्यमन्त्री नायडूले चक्रवातबाट भएको क्षतिको प्रारम्भिक अनुमान ४ हजार ६ सय करोड रुपैयाँ रहेको बताए।
विस्तृत मूल्यांकनपछि क्षतिको रकम अझै बढ्न सक्ने उनको भनाइ छ। मुख्यमन्त्री नायडूले चक्रवात ‘अर्नब’बाट भएको क्षतिबारे भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि कुराकानी गरेका छन्। उनले गृहमन्त्रीलाई प्रभावित क्षेत्रको अवस्था र सरकारले उद्धार तथा राहतका लागि चालेका कदमबारे जानकारी गराएका छन्।
साथै, केन्द्र सरकारलाई क्षतिको प्रारम्भिक प्रतिवेदनसमेत बुझाइएको उनले बताए। भारतको मौसम विभागले मनसुन सकिए पनि मौसममा खराबी देखिएपछि नयाँ चेतावनी जारी गरेको छ। विभागका अनुसार आज अर्थात् अक्टोबर ३० मा उत्तर प्रदेश, दिल्ली, बिहार, ओडिशालगायत १६ राज्यमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ।
यस अवधिमा प्रतिघण्टा ७० देखि ८० किलोमिटरको गतिमा तीव्र हावा चल्न सक्ने अनुमान गरिएको छ। मौसम विभागका अनुसार ओडिशा, बिहार, झारखण्ड र आन्ध्र प्रदेशमा हावाहुरीको प्रभाव बढी देखिन सक्छ। पूर्वी भारतका राज्यहरूमा तापक्रम ४ देखि ५ डिग्री सेल्सियससम्म घट्न सक्ने बताइएको छ।
त्यस्तै, पहाडी राज्यका केही स्थानमा पहिरो जाने चेतावनी दिइएको छ। उत्तर भारतका चारभन्दा बढी राज्यमा चट्याङ र मेघगर्जनको जोखिमसमेत रहेको छ। पश्चिम बंगालको तटीय क्षेत्रमा तीव्र हावा चल्ने भएकाले पूर्वी भारतका विभिन्न राज्यमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
तीनभन्दा बढी राज्यमा ठूलो असिनासमेत पर्न सक्ने अनुमान छ। मौसम पूर्वानुमानअनुसार उत्तर भारतमा पश्चिमी विक्षोभको प्रभावले वर्षा र हावाहुरी हुन सक्नेछ। उत्तर प्रदेश, दिल्ली, बिहार, झारखण्ड, राजस्थान, हरियाणा, पञ्जाब, उत्तराखण्ड, हिमाचल प्रदेश, जम्मु–कश्मीर, ओडिशा, पश्चिम बंगाल, छत्तीसगढ, आन्ध्र प्रदेश, कर्नाटक र गुजरातमा यसको प्रभाव पर्ने सम्भावना छ।
तीव्र हावाहुरी र वर्षाले किसानका बालीमा क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। यता ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन परिपत्र गरेको हो। परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ ।
यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो बिहीबार (कात्तिक १२) देखि भोलि शनिबार (कात्तिक १४) सम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकोले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारीका साथ रहन भनिएको जानकारी दिएका छन् ।
प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्नव चक्रवातको प्रभावले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।



