१९ कार्तिक , काठमाण्डौ ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ।
गत कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड पोखराबाट सुरु भई मुस्ताङसम्म पुगेको थियो।


पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको यात्रामा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।
महिला राइडरलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

यसले महिला राइडरबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत बलियो बनाएको कम्पनीको भनाइ छ।
रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवद्र्धन गर्दै आएको छ।

कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीलाई जोड्दै आएको छ।
अल्फा अटोमोटिभले नेपालमा महिला राइडरको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।



