प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवको भेट, अग्निपथमा थपियो २ वर्ष

१९ कात्तिक २०८३, बिहीबार
Share this
698shares

१९ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ। दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आएका विदेश सचिव मिस्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका छन्।

Advertisement

प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन्। भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौं आएका हुन् । उनले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आज प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीले भेट नदिने भनेपछि मिस्रीको नेपाल भ्रमण रोकिएको बताइन्छ । तर यसपटक भेट निश्चित भएपछि र प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिस्री नेपाल आएका हुन् ।

शाहको भ्रमणको मिति भने सार्वजनिक भएको छैन । यद्यपि दुवै देशले भ्रमणको तयारी गरिरहेका छन् । नेपाल भ्रमणका क्रममा उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए।

सरोकारवाला मन्त्रालयसँगको छलफलपछि भ्रमणका ठोस एजेन्डा तय हुने बताइएको छ । मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवबिच विशेषगरी आगामी उच्चस्तरीय भ्रमणको तयारीका विषयमा कुराकानी भएको थियो ।

भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुललगायत पूर्वाधारमार्फत दुई देशबिचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। त्यसैगरी द्विपक्षीय व्यापार प्रवद्र्धन तथा सहजीकरण, विकास सहकार्यलाई प्रभावकारी बनाउने, ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यको दायरा विस्तार गर्ने र दुई देशका नागरिकबिचको जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल र भारतबिचको व्यापक आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। त्यसैगरी ऊर्जामन्त्री श्रेष्ठसँगको भेटमा ऊर्जा तथा जलस्रोतका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने उपायबारे कुराकानी भएको थियो। भेटका क्रममा नेपालमा सञ्चालित विभिन्न परियोजना र तिनको प्रगतिबारे समेत समीक्षा गरिएको बताइएको छ ।

पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा भने पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई ध्यानमा राखेर विदेश सचिव मिस्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा हुन सक्ने छलफलका सम्भावित विषय र एजेन्डाबारे परराष्ट्र सचिव राई तथा विभिन्न मन्त्रीहरूसँग परामर्श गरिएको मन्त्रालयको भनाइ छ । दुई देशका सचिवबिच भ्रमणका मुख्य विषयमा प्रारम्भिक छलफल भए पनि भ्रमणको अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै विगतमा विदेशी पाहुना खासगरी भारतबाट आएकाहरुले काठमाडौंमा रहँदा प्राय सबै दलका शीर्ष नेताहरुलाई भेट्ने चलन थियो । तर यसपटक मिस्रीले न सत्तारुढ दलका न विपक्षी दलका कोही पनि नेताहरुसंग भेटघाटको कार्यक्रम राखेका छैनन् । प्रधानमन्त्रीसहित क्याबिनेटका केही मन्त्रीहरुसंग छुट्टाछुट्टै भेटवार्ता गर्दा मिस्रीले सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसंग पनि भेटको कार्यक्रम राखेनन् ।

जबकी केही महिनाअघि रविलाई नै भारतको सत्तारुढ भाजपाले निम्ता पठाएर दिल्लीमा सत्कार गरेको थियो । जतिबेला रविले प्रधानमन्त्री मोदीसहितका नेताहरुसंग भेटवार्ता गरेका थिए । अहिले भने मिस्रीको भ्रमण सरकारी वा भनौं प्रशासनिक तहसम्ममात्रै सिमित राखिएको हो ।

यसैबीच भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणका लागि काठमाडौंमा आएको अनि प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको तयारी पनि भइरहेको बेला भारत सरकारले अग्निपथ योजनाअन्तर्गत सैनिक सेवाको अवधि दुई वर्ष थप्ने निर्णय गरेको छ ।

यससँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा भर्ती पुनः सुरू हुने सम्भावनाबारे चर्चा सुरू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय मन्त्रिपरिषद बैठकले अग्निपथ योजनाअन्तर्गत चार वर्ष सेवा गरेका सैनिकलाई थप दुई वर्ष सेवाको अवसर दिने निर्णय गरेको हो ।

भारतीय पत्रिका ’द हिन्दू’ की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरले समेत भारतको यो निर्णय नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण समयमा आएको भन्दै रोकिएको गोर्खा भर्ती पुनः सुरू हुने सम्भावनाबारे प्रश्न उठाएकी छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजनामा गरिएको परिवर्तनबारे सामाजिक सञ्जाल ’एक्स’ मा लेखेको पोस्ट उद्धृत गर्दै हैदरले ’भारतीय विदेश सचिव मिश्री काठमाडौंमै रहेको र प्रधानमन्त्री शाहको नयाँदिल्ली भ्रमण हुन केही साता मात्र बाँकी रहेको बेला यस्तो निर्णय आएको’ उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ’भारत सरकारले अग्निवीर योजनाअन्तर्गत सैनिक भर्ती हुनेहरूको सेवा अवधि दुई वर्ष थपेको छ। नेपाल–भारत सम्बन्धका लागि यसको समय महत्त्वपूर्ण छ। भारतीय विदेश सचिव मिश्री काठमाडौंमा छन् र प्रधानमन्त्री शाहको दिल्ली भ्रमण हुन केही साता मात्र बाँकी छ। के दुवै देश सन् २०२२ देखि रोकिएको गोर्खा भर्ती पुनः सुरू गर्न सहमत हुन सक्छन?’

भारतले सन् २०२२ जुनमा अग्निपथ योजना ल्याएपछि नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती रोकिएको थियो । उक्त योजनाले भारतीय सेनामा भर्ती हुने अधिकांश युवालाई चार वर्षपछि सेवाबाट बाहिरिने व्यवस्था गरेको थियो। नेपालले भने चार वर्षमै सैनिक सेवाबाट फर्किने युवाको भविष्य, रोजगारी र सेवा सुविधाबारे प्रश्न उठाउँदै नयाँ योजनाअन्तर्गत गोर्खा भर्ती गर्न सहमति दिएको थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top