आप्रवासी निकालेकोमा ट्रम्पलाई पछुतो– ‘चुनावमा मलाई राजनीतिक नोक्सान भो’

२३ कात्तिक २०८३, सोमबार
Share this
733shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

देशको मध्यावधि निर्वाचनमा आफ्नो दल रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय भोगेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका पछाडि आफूले गरेको गल्तीको रियलाइजेसन गरेका छन् । यसको एउटा कारण आफ्नो सरकार अवैध आप्रवासीविरुद्ध अत्यधिक कडा भएको उनले ठहर्याएका छन् ।

सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा अन्तर्वार्तामा दिँदै ट्रम्पले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीको संख्या घटाएकामा आफू ‘ए प्लस’ अंकको हकदार रहेको दाबी गरे । ‘यद्यपि ठुलो संख्यामा मानिसलाई देशबाट निकाल्ने मेरो नीतिले मलाई राजनीतिक नोक्सान भयो’, उनले भनेका छन् ।

Advertisement

ट्रम्पले मंगलबारको मध्यावधि चुनावमा आप्रवासनको मुद्दा रिपब्लिकन पार्टीका लागि लाभदायक र हानिकारक दुवै बनेको बताए । उनले भने, ‘खराब मानिसहरूलाई देशबाट बाहिर निकालेमामा म धेरै उच्च अंकको हकदार छु।’ यद्यपि अमेरिकाको गृह सुरक्षा विभागले सरकार अवैध आप्रवासीविरुद्धको आफ्नो कडा नीतिबाट पछि नहटेको बताएको छ ।

मध्यावधि चुनावको दिन गरिएको एक सर्वेक्षणअनुसार मतदाताहरूका लागि तेस्रो सबैभन्दा महत्त्वपूर्ण मुद्दा आप्रवासन थियो । यता ट्रम्पले भने यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको दाबी पनि गरेका छन् । उनले निर्वाचनमा भएको ठुलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरे ।

डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पु¥याएको छ । ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भनेका छन्, “गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ‘ठूलो प्रतिगमनतर्फ’ अघि बढाएको छ । “अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौँ,” उनले भने ।

रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने सङ्केत गरेका छन्। उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ ‘चिफ अफ स्टाफ’को रूपमा नियुक्त गरेका थिए ।

डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको बिरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् ।

उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले इरानका मागहरू व्यावहारिक नरहेको टिप्पणी गरे । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी मतदाताले आफ्नो निर्णय गरिसकेको उल्लेख गर्दै अब युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व चर्काउने भन्ने निर्णय वासिङ्टनको हातमा रहेको बताए । अराघचीले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको जनाउँदै सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने सर्त पूरा गर्न अमेरिकालाई आग्रह गरेका थिए ।

प्रस्ताव अस्वीकार गरी युद्ध रोजेमा इरानी सेनाले कडा जवाफ दिने उनको चेतावनी थियो । तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास रोकिएको बताए ।

निर्वाचनको परिणामले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै उनले मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बन्न केही समय लाग्ने बताए । यता डोनाल्ड ट्रम्पले भने अर्को साता चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ र रुसी समकक्षी सी जिनपिङ र भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सी र पुटिनसँगको बैठकमा आणविक निःशस्त्रीकरणसहित विभिन्न विषयमा छलफल हुने बताए । “मलाई लाग्छ, राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग एउटा बैठक हुनेछ । त्यो निकै रोचक हुनेछ । हामी आणविक निःशस्त्रीकरणलगायत धेरै विषयमा कुरा गर्नेछौँ,” उनले भने ।

इरान युद्ध अन्त्य गर्ने प्रयास भइरहेको उल्लेख गर्दै ट्रम्पले त्यस दिशामा आफूहरूले राम्रो काम गरिरहेको दाबी गरे । इरानविरुद्धका कारबाहीमा अमेरिकाले गर्नुपर्ने सबै काम गरिरहेको र इरानलाई पूर्ण रूपमा दबाबमा राखेको उनको भनाइ थियो । ट्रम्पले इरानमा स्थलमार्गबाट हुने आपूर्ति रोक्ने उद्देश्यले सञ्चालन गरिएको अमेरिकी अपरेसन आइरन गेट लागु भइसकेको पनि बताए ।

“यसको अर्थ स्थलमार्गबाट केही पनि भित्र पस्न सक्दैन । नौसैनिक नाकाबन्दीका कारण समुद्री मार्गबाट पनि केही भित्र आउन सक्दैन,” उनले भने । सन् १९८९ मा स्थापना भएको एपेकमा अस्ट्रेलिया, क्यानडा, जापान, चीन, रुस र अमेरिकासहित २१ सदस्य छन् । सदस्य राष्ट्रका नेताहरू प्रत्येक वर्ष शिखर बैठकमा सहभागी हुँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top